Comments Add Comment

भारतको चौथो चरणको लकडाउनमा के के खुल्छन् ?

५ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने घोषणा गरेको छ । अहिले गरिएको घोषणा भारतको लागि चौथो चरणको लकडाउन हो । यसका लागि भारतको गृह मन्त्रालयले केही निर्देशन जारी गरेको छ ।

यसपटकको लकडाउनमा भारतको गृह मन्त्रालयले केही नियम आफूले जारी गरेको छ भने बाँकी नियमको अधिकार प्रदेश सरकारलाई सुम्पिएको छ । त्यसैले यो चरणको लकडाउनलाई भारतमा अहिलेसम्मकै सबैभन्दा फरक किसिमको लकडाउन भएको बताइएको छ ।

भारतको गृह मन्त्रालयका अनुसार सबैभन्दा प्रभावित क्षेत्रबाहेक राज्य र केन्द्र शासित प्रदेशको बीचमा बस तथा अन्य सवारीसाधन चलाउने अधिकार दिन सकिन्छ । तर, यसका लागि दुवै पक्ष तयार हुनुपर्ने बताइएको छ । साथै ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोन छुट्याउने जिम्मा पनि प्रदेशलाई तोकिएको छ । सबै राज्य र प्रदेशलाई स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विना कुनै रोकतोक आउनेजाने अनुमति दिन निर्देशन दिइएको छ । सबै किसिमको सामान लिएर गएका गाडीहरु र खाली गाडीलाई एकबाट अर्को राज्यमा जाने अनुमति दिनुपर्ने हुन्छ ।

गृह मन्त्रालयले जारी गरेको निर्देशनमा जुन कुरामा प्रतिबन्ध लगाइएको छैन, त्यो कुरामा सबै राज्यमा कुनै प्रतिबन्ध रहने छैन । यद्यपि प्रदेश सरकारले आफ्नो अधिकारको प्रयोग गर्दै फरक फरक क्षेत्रमा कुनै निश्चित गतिविधिमा रोक लगाउन सक्छन् । सबैभन्दा बढी प्रभावित क्षेत्रमा आवश्यक सेवाको लागि मात्र अनुमति प्रदान गरिनेछ ।

भारतमा हवाई सेवा र रेल सेवा पूर्णरुपमा बन्द गरिएको छ । तर, विशेष रेल सेवाको सञ्चालन भने जारी रहनेछ । दुई राज्यको बीचमा सडक यातायात सञ्चालनमा आउन सक्छ । त्यसका साथै मदिरा, चुरोट र पानको पसल पनि खुल्न सक्छन् । साथै सैलुन खोल्ने अनुमति पनि दिइएको छ । त्यसका साथै मेडिकल क्लिनिक र अस्पतालमा ओपीडी सेवा पनि खुल्न सक्छन् । अटो र ट्याक्सी पनि खुल्ने अनुमति दिइएको छ । सबै जोनमा अटो वा ट्याक्सीमा चालकबाहेक एकजनामात्र यात्रु बस्न पाउनेछन् ।

कारमा यात्रा गर्दा मानिसहरुलाई एक चालक र दुईजना यात्रुको लागि अनुमति दिइएको छ । पैदलमा भने अरेन्ज र ग्रिन जोनमा बढीमा दुईजना र रेड जोनमा एकजनाभन्दा बढी मानिस एकै ठाउँमा बस्न र सँगे हिँड्न पाउँदैनन् । त्यसका साथै स्पोर्टस् कम्प्लेक्स र स्टेडियम पनि खोलिएको छ । तर, त्यहाँ दर्शकलाई भने जाने अनुमति दिइएको छैन । जिल्लाभित्र र जिल्लाबाहिर जाने बस पनि शुरु हुनेछ ।

सहरी उद्योग शुरु हुन सक्छन् भने निर्माणको काम पनि सञ्चालनको अनुमति दिइएको छ । यसका साथै सहरी क्षेत्रमा पसल पनि खुल्न पाउनेछन् ।

अनलाइनबाट अत्यावश्यकबाहेकका सामग्रीको कारोबार पनि गर्न पाइनेछ । घरेलु सेवामा काम गर्ने मानिसहरुले अब आफ्नो काम शुरु गर्न पाउनेछन् । कृषि र बैंक क्षेत्र सञ्चालनको अनुमति यसअघिदेखि नै दिइएको थियो । कुरियर र पोष्टल सेवा पनि यसअघि देखि नै सञ्चालनमा छन् ।

पूर्णरुपमा प्रतिबन्ध लगाइएको क्षेत्रमा होटल, सिनेमा, मल, रेष्टुरेन्ट, जिक र धार्मिक संस्थाहरु रहेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment