Comments Add Comment

युगकवि सिद्धिचरणको सरलता

कवि सिद्धिचरण श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ । यो पदवी सरकारले दिएको राजकीय पदवी होइन । तर उनी सरकारको होइन, पञ्चायतको जगजगीको बेला, राजाको सकृय शासनको बेला सरकारभन्दा माथिल्लो तहमा राखिएको राजसभाको सदस्य थिए । तर उनी सरल थिए, कवितामा पनि व्यवहारमा पनि ।

मैले पहिलोपल्ट उनलाई उनकै निवासमा भेटेको हुँ । माथिल्लो तल्लामा उनी हुक्का ट्वारट्वार गर्दै तमाखु तानिरहेका । उनीसँग त्यस्तो गम्भिर कुराकानी भएन । त्यति ठूला कविलाई भेट गर्न पाउनु र नजिक हुन पाउनु नै गर्वको विषय थियो मेरो लागि । उनले के लेख्नुहुन्छ ? कविता ल्याउनु भाको छ ? कविता ल्याउनु भाछ भने सुनाउनोस् न भनेको चाहीं अझैसम्म हेक्का छ । त्यसपछि पनि म गइरहें । पछि त यौटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पनि निम्त्याइयो, त्यसको सम्झना अविष्मरणीय छ । पोखरामा साहित्यिक कार्यक्रममा सँगै एउटै होटलमा वास बसेको तथा एउटै मञ्चमा बसेर कविता पढेको, हेटौंडामा राजाको सवारी शिविरमा सँगै कविता पढेको लगायत विविध स्मृतिहरु मेरा मानसपटलमा अझै झलमल्ल छन् ।

आफ्नो जीवनको उत्तरकालमा उनी काठमाडौंको कुनै पनि साहित्यिक कार्यक्रमको निर्विकल्प प्रमुख अतिथि हुने गर्थे । सरल स्वभावका यी वरिष्ठ कवि डाकेको ठाउँमा सहर्ष जान्थे । कार्यक्रमभरि पूरै समय बस्थे । प्रमुख अतिथिको आसनबाट भाषण पनि लामै गर्थे । तर भाषण गर्दै जाँदा उनको स्वर क्रमस: भासिंदै जान्थ्यो र नबुझिने हुन थाल्थ्यो । अनि उनको ओठमात्र चलेको देखिन्थ्यो, आवाज पटक्क निस्कन्नथ्यो । तर उनी ओठ चलाइरहन्थे । आयोजकले कहिले काहीं उनलाई भाषण सक्न सङ्केत गर्न पुग्थे, तर उनको मौन भाषण रोकिन्नथ्यो । दर्शक दीर्घामा श्रोतागण गफ गर्न थाल्थे, उनलाई उडाउँथे । तर उनी ती सवबाट वेखबर ओठ चलाईरहन्थे र अन्तमा हात जोडेर माइकबाट मञ्चमा आफ्नो निर्धारित ठाउँमा बस्न पुग्थे । अनि अध्यक्षको भाषण ध्यान पूर्वक सुन्थे । तर मलाई यो चाहीं खुल्दुली भइरह्यो, आखिर यी कवि वोली नसुनिने भए पनि किन ओठ चलाइरहन्छन् ? तर मैले त्यसको उत्तर पनि एकदिन पाएँ र यी कविप्रति मेरो श्रध्दा अझ चुलियो ।

मैले लहडमा मेरो जेठो छोराको नाममा अनुभव प्रकाशनको प्रारम्भ गरेको थिएँ । पहिलो कृति मैले अशेष मल्ल र किशोर पहाडी लिखित संयुक्त कथाहरुको सङ्ग्रह कथाकोण प्रकाशित गरेको थिएँ । आर्थिक हिसावले घाटाको काम भए पनि मेरो उत्साहको लेवल त्यो भन्दा माथि थियो । अनि दोश्रो कृति त्यतिखेर भर्खर रचना लेख्न थालेका नेपालगञ्जका उत्साही युवा नयनराज पाण्डेको पहिलो उपन्यास नाङ्गो मान्छेको डायरी छाप्ने निर्णय गरेको थिएँ । अनि काठमाडौंमा विमोचन गरिने भयो पुस्तकको । कार्यक्रमको अध्यक्षताको लागि दौलतविक्रम विष्टलाई अनुरोध गर्यौं । उनले सहर्ष स्वीकार गरे । नयनका पिता नेपालगञ्जका  शिक्षक रहेछन् अनि कुनै बेला दौलतविक्रम विष्ट नेपालगञ्ज जिल्ला शिक्षा अधिकारी भएर गएका रहेछन् । त्यो कुरा थाहा पाएपछि राम्रो मनका धनी दौलत झन् खुशी भएका थिए ।

अनि प्रमुख अतिथिको लागि त्यतिखेरका सर्वमान्य सिध्दिचरण श्रेष्ठलाई अनुरोध गर्न उनको निवास गयौं । म सधैं गईराख्ने चिरपरिचित घर । हामी गएर उनलाई भन्यौं । उनले सहर्ष भने, ” भैहाल्छ नि । म आउँछु । तर कार्यक्रममा प्रमुख अतिथि भएपछि बोल्नु पर्छ, किताब नहेरी कसरी बोल्नु ?”

नयनजी र मैले मुखामुख गर्यौं । उनले थप भने, ” त्यो किताव ल्याउनु भा छ ? ”

बाइण्डिंग नगरेको तर मुद्रण भएको प्रति मैले नयनलाई  दिएको थिएँ, उनले पट्याएर पाइण्टको पछिल्लो खल्तीमा घुसारेका रहेछन् क्याम्पस जाने स्वाँठ बिद्यार्थीले नोटकापी घुसारेझैं । उनले त्यो  निकाल्दै भने, ” छ हजुर !”

त्यसपछि सिध्दिचरणले भने,” ल त्यसो भए सुनाउनुहोस् ।”

सिध्दिचरण नियमित रुपले तमाखु तान्दै थिए हुक्कावाट । नयन थचक्क भुईंमा पलेटी कसेर बसे र उपन्यास वाचन गरेर सुनाउन थाले । सिध्दिचरणले अत्यन्त ध्यान दिएर सुनिरहे । नयनले झण्डै एक घण्टा चानचुन लगाएर त्यो सानो कायाको उपन्यासको सम्पूर्ण पाठ सुनाए । सिध्दिचरणले पूरै सुने । र म त्यसको जीवन्त साक्षी बनें । सुनिसकेपछि उनले भने, ” राम्रो लेख्नु भएछ । यति भएपछि म बोल्न सक्छु ।”

आजकालका विमोचन समारोहमा कतिपय प्रमुख अतिथिले लाजै नमानी भन्छन्, “यो पुस्तक लेखकले दिनु भएको त थियो, तर पढ्न भ्याएको छैन, तर मेरो बिचारमा……” भन्दै एकघण्टा भाषण ठोकिदिन्छन् । तर सिध्दिचरण कार्यक्रममा आउन कहिल्यै ढिलो गर्दैनथे, कार्यक्रम भरि पूरै वस्थे । पूरै भाषण गर्थे । उनी कार्यक्रममा वोल्नका लागि कसरी तयार भएर आउँथे भन्ने त नयनराज पाण्डेको पुस्तक विमोचन समारोहमा निम्तो गर्न जाँदा पत्तो पाइसकेको थिएँ । नयनको कार्यक्रममा पनि उनले लामै बोले । तर सदाझैं शुरुमा उनको भाषण बुझिने थियो । त्यसपछि उनको आवाज मधुरो हुँदै गयो  र पछि बुझ्न नसकिने भयो । अन्तमा उनका ओठमात्र चलिरहेका थिए । खासमा उनले बोल्नलाई मनमा तयारी गरेका कुरा बोलिसक्ने रहेछन्, तर आवाजले साथ दिंदोरहेनछ, जुन उनलाई थाहा हुँदोरहेनछ । पछिपछिको कार्यक्रममा उनले यस्तै नबुझिने भाषण गरिरहँदा पनि मलाइ झर्को लागेन । मैले साइड टक पनि गरिंन । आदरपूर्वक उनलाई हेरिरहन थालें श्रध्दापूर्वक । उनी ईमान्दारीपूर्वक आफ्नो दायित्व पूरा गरिरहेका छन् भनेर ।

सिध्दिचरणको दुईवटा कविता अत्यन्त चाखपूर्वक मानिसहरु सम्झने गर्छन् । यौटा हो ” मेरो प्यारो ओखलढुङ्गा” । यो कविता भन्नु र सिध्दिचरण भन्नु एकैजस्तो । सिध्दिचरणकै पर्याय बन्यो यो कविता । यो कविता कविताको रुपमा कर्णप्रिय बन्यो, मानिसहरु आफ्नो जन्मथलोलाई सम्झन यो कविता सम्झना गर्छन् भने यो कविताले कतिपयलाई जन्मथलोको सम्झना ताजा बनाइदिने कारण बन्छ । गीतको रुपमा रेडियोमा बज्न थालेपछि  यो कविताको लोकप्रियता र ब्याप्ति ब्यापक भन्दा ब्यापक भयो । अर्को कविता हो कवयित्री गोमालाई लिएर लेखेको ” जाऔं गोमा वादलपारि……” भन्ने कविता । यो कविताको कारण सिध्दिचरण र गोमावीच प्रेम सम्बन्ध थियो भन्ने गाईंगुईं सुनिन्थ्यो । त्यतिबेलाका समकालीन कविहरुले पनि यी दुई वीच प्रेम भएको सङ्केत गरेका छन् । तर त्यो प्रेमको अभद्रता, अश्लिलता, बिबाद भने कसैले गरेको सुनिएन । मैले सिध्दिचरण र गोमा दुवैलाई उनीहरुको जीवनकालमा सम्पर्क गर्ने अवसर पाएको थिएँ । गोमासँग त्यस्तो ज्यादा हिमचिम नभए पनि सिध्दिचरणकहाँ आउजाउ थियो तर मलाई यो प्रश्न सिधै सोध्ने आँट भएन वा मेरो साहित्यिक हैसियत भएन, उमेरगत कारण पनि हुँदो हो । जे भए पनि त्यो सम्भावना अब सदाको लागि समाप्त भयो ।

पोखराको पोखरेली युवा साँस्कृतिक परिवारले २०३६ सालपछि शुरु गरेको टिकटमा मुक्तक कार्यक्रम सम्भवत: सवैभन्दा लामो समय चलेको यस प्रकारको कार्यक्रम हो । त्यसलाई पोखराले संस्कृतिका रुपमा विकास गर्यो । देशका विभिन्न भागवाट स्वनामधन्य र युवापुस्ताका कवि कवयित्रीहरुलाई बसको आतेजाते टिकट, खान बस्नको आतिथ्यसहित निम्त्याउने चलन थियो । कैयौं कवि कवयित्रीहरु पहिलो पटक पुग्दथे भने कतिपय दोहोरिन्थे पनि, विविध कारणले । २०४३ सालको कार्यक्रममा काठमाडौंबाट अग्रज पुस्ताका विजय मल्ल, वासु शशी, सिध्दिचरण श्रेष्ठ थिए अतिथिहरु । युवा पुस्ताका, अविनाश श्रेष्ठ, बिमल निभा, विमल कोइराला, म लगायत थियौं । हामीलाई महेन्द्र पुल छेउको यौटा थकालीको होटलमा राख्ने ब्यबस्था मिलाइएको थियो । खाना खाने र सुत्ने त्यही होटलमा सुविधा थियो । पहिलो दिनको साँझ कोको कुन कुन कोठामा सुत्ने ब्यवस्था मिलाइएको छ त्यसको जानकारी गराउँदै थिए पोयुसाका स्वयमसेवक साथिहरु । यसै वीच सिध्दिचरणले भने, “वावु मलाई चाहीं सेती खोलातिर झ्याल भएको कोठा पारिदिनोस् है । म सेतीको कलकल सुन्दै सुत्न चाहन्छु ।” उनको कुरा सुनेर एकाध ब्यक्ति त हाँसे । तर उनको प्रकृतिप्रेम देखेर म भने भावुक भएँ । यी कविले मेरो प्यारो खोखलढुङ्गा मुटु निचोरेरै लेखेका रहेछन् भन्ने लाग्यो ।

हामी सबै जसोले कोदाको झोल अलिअलि लिईसकेका थियौं र वातावरणमा रौनकता थपिंदै गएको थियो । विजय मल्ल पनि रमाइलो मूडमा देखा परे । उनी सिध्दिचरणलाई काजिदाई भन्थे । उनले सिध्दिचरणलाई जिस्क्याउँदै भने, ” काजिदाई तपाईं यें काजी हो नि ! मैले बौलाहा काजीको सपना तपाईंलाई सोचेर लेख्या हो नि !”

विजय मल्लको कुरा सुनेर सिध्दिचरण श्रेष्ठले मजाले दाँत देखाएर हाँसे आवाज ननिकालीकन । तिनको अनुहारमा त्यतिवेला देखिएको अबोधपना अद्वित्तिय थियो ।

संकट पर्छ मान्छेलाई, ढुङ्गालाई के पर्छ
असिना आई फूलवारीकै फूलहरु पहिले झार्छ । 

२००६ सालमै यस्तो मानिस र प्रकृतिलाई तादात्म्य मिलाइएको ओजपूर्ण कविता रचना गर्ने सिध्दिचरण आफ्ना कवितामा क्रान्ति शब्द प्रयोग गरेवापत राणा शासनद्वारा १८ वर्षे कारावासको सँजाए पाई जेल परेका थिए । उनले नेवारी भाषामा लिखित “वर्षा” शिर्षकको कवितामा ” क्रान्तिविना थन दैमखु स्वच्छ शान्ति” अर्थात् ” क्रान्तिविना यहाँ हुँदैन स्वच्छ शान्ति ” लेखेका थिए । यिनै हरफले उनलाई कारावास पुर्याएको थियो । जेलमा उनीसँगै चित्तधर हृदय, फत्तेबहादुर सिंह, धर्मरत्न यमि जस्ता साहित्यकार का साथै कलाकार चन्द्रमानसिं मास्के पनि थिए । उनी जेलमै छँदा उनका पिता विष्णुचरण श्रेष्ठको देहाबसान भयो, तर क्रूर राणाहरुले काज किरियाका लागि समेत उनलाई जेलवाहिर जान दिएनन् । यो उनको जीवनकै अत्यन्त दु:खदायी क्षण थियो ।

साहित्य लेखनका साथै उनी पत्रकारितासँग पनि जोडिएका थिए । नेपालकै पहिलो दैनिक अखवार “आवाज”, पाक्षिक रुपमा प्रकाशित भैरहेको “गोरखापत्र” तथा नेपाली साहित्यको यौटा कालखण्डको अत्यन्त महत्वपूर्ण साहित्यिक पत्रिका ” शारदा” को समेत सम्पादनमा उनको योगदान रहेको थियो ।

वास्तवमा सिध्दिचरणका पिता विष्णुचरण पनि साहित्यकार थिए । उनको कलम उपन्यास विधामा चलेको थियो । उनका दुई उपन्यास ” सुमती” र ” भीष्मप्रतीज्ञा ” प्रकाशित छन् । तर सिध्दिचरणले लेखनमा पिताको पाइला पछ्याए पनि लेखनको विधामा भने उनको पदचाप पछ्याएनन् । उनी कविता काब्यमै रमाए र पछिल्लो चरणमा उनको कलम संस्मरण विधामा चल्यो । उनका जेल जीवनका चाखलाग्दा संस्मरणहरु रोचक मानिए र तिनका पुस्तकहरु पनि प्रकाशित भए । उनी यसरी मूलत: कविता काव्य र संस्मरणमा जीवन्त बने ।

२०४५ सालमा राजाको मध्यमाञ्चलको क्षेत्रिय भ्रमणको सिलसिलामा हेटौंडामा मुकाम रहेको थियो । सवारी शिविरमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले एक साँझ कवि गोष्ठी गर्ने परम्परा थियो । सो कवि गोष्ठीमा मैले पनि सिध्दिचरण श्रेष्ठसँगै कविता वाचन गर्ने अवसर पाएको थिएँ । उनले कविता वाचन गर्नु अघि सरकार मेरो उमेर यति पुग्यो भनेर हात जोडेका थिए । सिध्दिचरणको त्यो कुरा सुनेपछि राजा वीरेन्द्रले मुसुमुसु हाँस्दै मुण्टो हल्लाएका थिए । गोष्ठी सकिएपछि साँझमा गफ चलेको थियो, “सिध्दिचरणले त्यसो भन्नुको कारण पृथ्वी प्रज्ञा पुरस्कारको लागि विन्ती पत्र हो ।” साँच्चै त्यसपछिको सो पुरस्कार उनैले पाएका थिए । खासमा उनी त्यो पुरस्कारका लागि मजाले योग्य थिए, नेपाली कविता साहित्यमा पुर्याएको योगदानका लागि ।

उनको मृत्युको दिनको घटना आश्चर्यपूर्ण थियो । उनले ” लौ विदा” भनेर बिदाईको अभिवादनस्वरुप हात जोडेका थिए अस्पतालको बेडमा र त्यसै दिन उनको देहावसान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment