
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ र नयाँ चुनाव मिति घोषणा भएको छ।
- काठमाडौंका मेयर बालेन्द्र शाहलाई नयाँ दल गठन गर्ने सम्भावित नेतृत्वकर्ता मानिएको छ, तर उनले पार्टी खोल्ने विषयमा स्पष्टता दिएका छैनन्।
- नयाँ पुस्ता चुनावमा कसरी सहभागी हुन्छन् भन्ने कुराले धेरै अर्थ राख्ने पूर्वराजदूत समेत रहेका राजनीतिशास्त्रका प्रा. डा. लोकराज बराल बताउँछन् ।
२ असोज, काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति कस्तो होला भन्नेमा अन्यौलग्रस्त देखिन्छन् ।
‘६ महिनामा चुनाव गराउने भन्ने छ, तर धेरै जेनजीसँग मतदाता परिचय पत्र नै छैन’, होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, ‘त्यसले हामी चुनावमा पछि पर्लाउँ कि वा कतै पुरानै पार्टी पो फर्किएलान् कि भन्ने चिन्ता छ ।’
मतदाता परिचय पत्र बनाउने काम त व्यवस्थापन होला, तर जेनजी प्रतिनिधि कुन दलबाट सदनसम्म पुग्लान् र आफूले चाहे जस्तो सरकार चलाएर देखाउलान् भन्ने प्रश्न चाहिँ अझ गम्भीर छ ।
‘हामी बलियोसँग उभिन सकेनौं भने फेरि पुरानै पार्टीका मान्छेहरु शक्तिमा आउनेछन्, त्यो डर सबैमा छ,’ जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा बानेश्वरमा भएको दीप प्रज्जवलनमा सहभागी खड्का चिन्ता व्यक्त गर्छन्, ‘चुनावपछि फेरि पुरानै पार्टीका सदस्य आए भने हाम्रो मेहनत सबै खेर जान्छ, त्यो हुन दिनु हुँदैन ।’
पुराना राजनीतिक दलहरुमा अहिलेसम्म उही नेता छन् । नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले छाडेका छैनन्, कांग्रेस सभापति पनि शेरबहादुर देउवा नै छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत देउवाको विकल्प अहिल्यै आफूहरुले नखोज्ने बताएका छन् ।
माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन जनार्दन शर्माले भनेका छन् । यद्यपि, उनी समेत नेतृत्व छाड्ने मनस्थितिमा छैनन्, बरु सार्वजनिक कार्यक्रमहरुमा देखा पर्न थालिसकेका छन् । नयाँ अनुहारको बाहुल्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत अहिले आफ्नै विवादमा छ ।
पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राजीनामा दिएपछि पार्टीभित्र सन्नाटा छ । सभापति रवि लामिछाने जेनजी आन्दोलनका बेला कारागारबाट बाहिरिँदा उल्टै आलोचना खेप्नुपरेको छ ।
खुल्नसक्छ नयाँ दल
यो स्थितिमा पुराना दलले समेत केही जेनजीलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गर्न थालिसकेको स्रोत बताउँछ । तर, उनीहरुको बुझाइमा जसरी पछिल्लो विध्वंसपछि समेत ती दलका नेतृत्व सच्चिएका छैनन्, त्यही अनुरुप पुराना दल र अरु नेताहरुलाई समेत विश्वास गर्ने कुनै आधार छैन ।
‘मलाई कांग्रेस–एमाले–माओवादीमध्ये एउटा पार्टीबाट अब तपाईंहरु आउनु पर्यो, हामी स्थान दिन्छौं भन्दै फोन आइरहेको छ,’ एक जेनजी अगुवाले अनलाइनखबरसँग भने, ‘तर, उनीहरुको स्वार्थ हामीले नबुझ्ने कुरै भएन ।’
त्यसो भए नयाँ पुस्ताको माग पूरा गराउने दल कुन हो त ? जेनजी आन्दोलनको नेतृत्वदायी भूमिका रहेका एक युवा बब्लु गुप्ता भन्छन्, ‘हामीले पहिले जस्तो को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने भन्ने दौड खोजेका होइनौं, स्पष्ट माग भ्रष्टाचार अन्त्य हुनुपर्यो र युवा पुस्ता स्वदेशमै बस्न सक्ने परिस्थिति बनोस् भन्ने हो । यो माग पुराना दलले पूरा गराउँछन् भन्ने लाग्दैन ।’
जेनजीको बाहुल्य रहेको परोपकारी १०० ग्रुपसँग आबद्ध गुप्ताका अनुसार, त्यस्तो परिस्थितिमा कुनै नयाँ दल गठन हुनसक्छ । तर, त्यो कसले नेतृत्व गर्छ, कसरी आउँछ भन्ने विषयमा चाहिँ उनले स्पष्ट खुलाएनन् ।
स्रोतका अनुसार, जेनजीको मागलाई सम्बोधन गर्ने गरी नयाँ दल गठन गर्ने विषयमा विभिन्न समूहले छलफल गरिरहेका छन् । त्यसमा सबैभन्दा बढी चासोका साथ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई हेरिएको छ । खासमा जेनजी युवामाझ सबैभन्दा बढी आकर्षण भएकाले समेत धेरैको नजर बालेनमाथि छ ।
तर, २३ र २४ भदौको जेनजी आन्दोलनपछि उनलाई प्रधानमन्त्री बनिदिन प्रस्ताव गरिँदा मौन रहेका बालेन पार्टी खोल्ने निर्णयमा प्रष्ट खुलेका छैनन् । जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर सुरक्षित स्थानमा पुगिसकेका बेला उनले सामाजिक सञ्जालबाटै संसद् विघटन नगरी वार्तामा नबस्न आह्वान गरेका थिए ।
सेना प्रमुखसँग छलफल गर्न समेत तयार रहन उनैले सुझाएका थिए । बालेनको स्ट्याटस आउनुअघि जेनजीले संसद् विघटनको माग राखेका थिएनन् । तर, जब उनको सन्देश आयो, जनेजीको त्यही नै बटमलाइन बन्न पुग्यो ।
‘बालेन, हाम्रो पुस्ताको नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण हो, त्यसैले उहाँलाई नै सरकारको नेतृत्वमा अगाडि आउनु पर्छ भनेका थियौं,’ एक जेनजी अगुवाले भने, ‘तर, उहाँले स्पष्ट सन्देश दिनुभएन ।’ त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव अघि बढेको थियो ।
हामी नेपालसहितका समूहले बालेनलाई ६ महिनाका लागि मात्र नभइ ५ वर्षकै लागि प्रधानमन्त्री हेर्न चाहेको भन्दै चुनावबाट उनी आउने सन्देश दिन खोजेका थिए । यद्यपि, बालेनको सचिवालय स्रोतका अनुसार, उनी अझैसम्म पार्टी निर्माणको विषयमा स्पष्ट रुपमा खुलिसकेका छैनन् ।
तर, जानकारहरुका अनुसार, अहिलेको परिस्थितिमा बालेनले पार्टी नखोल्दा अर्को कुनै समूहले जेनजीको शक्ति एकीकृत गर्नसक्ने उनी निकटस्थहरु माझ छलफल भएको छ । यसपछि नै कतिपयलाई पार्टी निर्माणको गृहकार्य थाल्न सचिवालयबाट भनिएको स्रोतको भनाइ छ ।
त्यो पार्टीको नेतृत्व बालेन आफैंले गर्ने कि नगर्ने भन्ने चाहिँ टुंगिएको छैन । ‘सायद बालेन दाइले समर्थन गरेर अरु जेनजीलाई पार्टीमा अघि बढाउनु हुन्छ,’ स्रोत भन्छ, ‘छोटो समय भएकाले तत्काल गृहकार्य थालिहाल्नुपर्ने स्थिति छ ।’
अहिले मन्त्रिपरिषद्मा ऊर्जामन्त्री रहेका कुलमान घिसिङले पनि नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएपछि देश दौडाह गरेका थिए । त्यसलाई कतिपय विश्लेषकहरु नयाँ पार्टी निर्माणको गृहकार्य ठान्छन् । ‘यस्तोमा बालेन अघि नबढ्दा अरु पार्टीहरु आउँछन् र पछाडि फर्किएर हेर्ने ठाउँ पनि हुँदैन,’ स्रोत भन्छ, ‘त्यसैले पार्टी चाँडै घोषणा हुनसक्छ ।’
जेनजीलाई एकैठाउँ उभिने चुनौति
जेनजी आन्दोलनमा जसरी पुराना राजनीतिक दलका पार्टी कार्यालय, नेताहरुका घर लगायतमा तोडफोड र आगजनी भए, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती कुटपिटमा परे, त्यसले पुराना दलहरुले विश्वासनीयता गुमाएको देखाउँछ ।

तर, पुराना दलहरुमा जेनजी आन्दोलनले पुस्तान्तरणको बहसलाई व्यापक बनाए पनि नयाँ पुस्ता चुनावमा कसरी सहभागी हुन्छन् भन्ने कुराले धेरै अर्थ राख्ने पूर्वराजदूत समेत रहेका राजनीतिशास्त्रका प्रा. डा. लोकराज बराल बताउँछन् ।
‘आगामी ६ महिनामा अहिलेको सरकारले कस्तो काम गर्छ भन्ने कुराले पनि पुरानो पार्टीको भविष्य निर्धारण हुन्छ, यो सरकार कुनै हालतमा असफल हुनु हुँदैन, त्यस्तो भयो भने पुराना पार्टीले अर्को अवसर पाउँछन्,’ उनी भन्छन्, ‘आन्दोलनमा आएको समूह संगठित फोर्स नभएकाले त्यसको निश्चय पनि केही चुनौतिहरु हुन्छन् ।’
युवा पुस्ताका विश्लेषक नविन तिवारी पनि बरालको भनाइमा सहमत छन् । ‘आन्दोलनमा जेनजीका विभिन्न समूह थिए, त्यसमा धेरै स्वार्थ प्रेरित टोली समेत घुसेका थिए,’ तिवारी भन्छन्, ‘यस्तोमा जेनजीलाई आफ्नो माग सम्बोधन गराउन नयाँ दल खोलेर अघि बढ्नुको विकल्प छैन ।’
जेनजीले राखेको मागमा पुराना दलविरुद्धै छानबिन गर्नुपर्ने स्थिति छ, त्यस्तोमा उनीहरु नै फेरि सत्तामा आउने परिस्थिति बने सुशासनको एजेण्डा कमजोर बन्नसक्छ ।
‘अहिले भएका दलहरुले पनि पुरानो नेतृत्वलाई विदाइ गरेर जेनजीलाई अघि सार्नसक्छन्,’ उनी भन्छन्, ‘तर, जसरी उहाँहरुले २०४६ पछि भएका भ्रष्टाचारको छानबिन, सुशासनको माग राख्नु भएको छ, त्यसका लागि संसद्मा बलियो उपस्थिति नै चाहिन्छ ।’
संविधानसँग जोडिएको मुद्दा झन् जटिल रहेको तिवारी बताउँछन् । ‘संविधान संशोधन गर्न प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित हुनुपर्छ, अहिले राष्ट्रियसभामा पुरानै दलका सदस्यहरु छन्, त्यसैले यो जटिल कुरा हो,’ उनी भन्छन्, ‘त्यसमाथि संविधान संशोधन बहुमतको मात्र कुरा होइन, यो सहमतिको दस्तावेज पनि हो, धेरै विषय ख्याल गर्नुपर्ने हुन्छ ।’
जेनजी आन्दोलनपछि नेपाली सेनासँग भएको छलफलमा समेत सहभागी रक्षा बम चाहिँ आफूहरुलाई पुराना दल आउलान् कि भनेर सोच्ने विकल्प नै नभएको बताउँछिन् । ‘त्यो सोच्ने विकल्प नै हामीलाई छैन, ६ महिनाभित्रै निष्पक्ष चुनाव गराएर नयाँ पुस्ताप्रति सबैलाई भरोसा दिलाउने गरी काम गर्नुछ,’ उनी भन्छिन् ।
प्रतिक्रिया 4