Comments Add Comment

कोरोनासँग लड्ने तरिका : ‘भुल्के मोडल’ सही छ !

उदयपुरको भुल्के क्षेत्रको एक तस्वीर ।

११ जेठ, काठमाडौं । एउटा बस्तीमा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित देखिए भने त्यसलाई समुदायमा फैलनबाट कसरी रोक्ने ? कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बाँके, कपिलवस्तु, रुपन्देही, झापालगायतका जिल्लाका स्थानीय तहहरूमा अत्यास बढेको छ ।

जनस्वास्थ्यका जानकारहरू भने उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमण रोक्न अपनाएको रणनीति नेपालको सफल र प्रभावकारी हुने बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘संक्रमित भेटिएपछि आइसोलेसनमा राख्ने र उसको सम्पर्कमा रहेका व्यक्तिहरूलाई ट्रेसिङ गर्ने । भुल्केकै रणनीति हामीले अन्यत्र लागू गरेका छौं । भुल्केको पहिलो केस हो, अब हामी यसो गर्ने भनेर भन्नसक्ने अवस्थामा पुग्दैछौं ।’

भुल्केको केसलाई अनुसन्धानात्मक रुपमा हेरिरहेका जनस्वास्थ्यविद् डा. महेश मास्के पनि यसमा सहमत छन् । डा. मास्के भुल्के मोडललाई देशभर लागू गर्नु उपयुक्त हुने बताउँछन् ।

समुदायमा संक्रमण दरभन्दा निको हुनेको दर कम भयो भने त्यसले महामारीको रुप लिनसक्छ । तर, भुल्केमा संक्रमणको दरभन्दा रिकभरीको दर बढाउन सफल भएकैले रेडजोनलाई ग्रिन जोन बनाउन सफलता मिलेको तर्क गर्छन् ।

भुल्केमा कोरोना संक्रमण नियन्त्रणका लागि के-के गरिएको थियो ? आखिर के हो भुल्के मोडेल ? यसबारे भुल्केको केसलाई नजिकबाट हेरिरहेका डा. मास्केका कुरा सुनौं–

जमाती समूह, जसले गर्दा भारतमा कोराेना फैलिएको भनियो । नेपालमा पनि जमातीहरू आएका छन् र उनीहरूमा कोरोना छ कि भनेर समाचारहरू आउन थाले । मस्जिदहरूमा ट्रेस गर्ने क्रममा भुल्केको नुरी मस्जिदमा टेस्टमा पनि गरियो ।

सुरुमा १६ जना भारतीयको (र्‍यापिड डायग्नोस्टिक टेस्ट) आरडीटी गरिएको रहेछ, सबैको जनाको नेगेटिभ रिपोर्ट आयो । उनीहरूले भने कि अब हामीलाई कोरोना भाइरस नेगेटिभ भएको सर्टिफिकेट चाहियो । सर्टिफिकेट नै दिनुपर्ने हो भने पीसीआर विधिबाट टेस्ट गर्छौं भन्ने कुरा भयो । किनभने, कोरोना संक्रमण भएको सुरुमा ‘विन्डो पिरियड’ हुन्छ । त्यसबेला शरीरमा एन्टिबडी बनिसकेको हुँदैन र त्यो अवस्थामा आरडीटी गर्दा नेगेटिभ रिपोर्ट आउँछ । नभन्दै पीसीआर विधिबाट परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आयो । यसले प्रष्ट भयो कि आरडीटी टेस्ट गरेका बेला संक्रमण अर्ली पिरियडमै थियो । उनीहरूमा एन्टिबडी बनिसकेको थिएन ।

इन्फेक्सन रेट बढी र रिकभरी रेट कम भयो भने केसहरू थपिँदै जान्छन् । तर, कन्ट्याक ट्रेसिङ र आइसोलेसन गरियो भने रिकभरी रेट बढाउन सक्छौं । हामीले समुदायमा संक्रमितलाई बस्न दिएनौं, निकालिहाल्यौं । त्यसकारण छिटो निको भइरहेका छन् ।

यो केसको घोषणा १७ अप्रिल अर्थात् वैशाख ५ मा भयो । त्यसपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्ने र परीक्षण गर्ने काम भयो । अप्रिल २० सम्म ५९ जनाको परीक्षण गरियो । त्यसपछि त्यहाँका सबै मुस्लिम समुदाय (५५ घर)कै स्क्रिनिङ गर्दा २० दिनभित्र संक्रमित २८ पुगे ।

त्यो अवधिमा कसले कसलाई सार्‍यो होला त ? मस्जिदभित्रबाट सरेको हो कि बाहिरबाट आएकाले सारे ? उत्तर प्रदेशबाट आएकाहरूले मस्जिदमा सारे कि ? यो अझै पत्ता लगाउनुपर्नेछ । तर, दुई हप्ताभित्र फेरि अर्को टेस्ट गर्दा ४ जना फेला परे । अर्थात् २८ बाट ४ मा झर्‍यो । त्यसपछि अर्को टेस्ट गर्ने भनिएको थियो, सायद भयो होला । मचाहिँ यो पर्खिरहेको छु कि चारपछि कति आउँछ ।

त्यस्तोमा हामी के गर्छौं भने इन्क्युबेसन पिरियड (भाइरसको उष्मायन अवधि) कति समय भयो होला त । अप्रिल १७ मा पहिलो टेस्ट गरेका बेला त्यसलाई हामीले इन्क्युबेसन पिरियड १४ दिन राख्ने हो भने २० दिनभित्रमा २८ वटा केसहरु पोजेटिभ देखिए । उनीहरूलाई समुदायबाट छुट्याएर अलग्गै विराटनगरमा ल्याएर आइसोलेसनमा राखियो । यसबाट के सिद्ध भयो भने संक्रमितहरूलाई समुदायबाट अलग गरेर आइसोलेसनमा ल्याउनुपर्छ ।

यसका साथै हामीले छिटोभन्दा छिटो टेस्ट गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले टेस्ट टेस्ट टेस्ट भनेको पनि यही हो । जसरी हामी पोखरीमा जाल फालेर माछा निकालेपछि फेरि जाल हान्छौं । त्यसरी नै संक्रमितलाई समुदायबाट निकालेर रित्याउनुपर्छ, ताकि उसबाट अर्का व्यक्तिमा संक्रमण सर्न नपाओस्।

कम्युनिटीबाट निकाल्दा निकाल्दै पनि सरिसकेको हुन्छ । जब उसले इन्क्युबेसन पिरियड पार गर्छ, एक्सपोज हुन्छ । त्यसलाई पत्ता लगाउन टेस्ट गर्नुपर्छ । यसरी टेस्ट गर्दैगर्दै रेडजोनबाट एल्लो हुँदै ग्रिन जोनमा लैजान सकिन्छ ।

साथै, हामीले इन्फेक्सन रेट र रिकभरी रेट हेर्नुपर्छ । इन्फेक्सन रेट बढी र रिकभरी रेट कम भयो भने केसहरू थपिँदै जान्छन् । तर, कन्ट्याक ट्रेसिङ र आइसोलेसन गरियो भने रिकभरी रेट बढाउन सक्छौं । हामीले समुदायमा संक्रमितलाई बस्न दिएनौं, निकालिहाल्यौं । त्यसकारण छिटो निको भइरहेका छन् ।

अन्तिम नजिताको पर्खाइ

उदयपुरका जनस्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार नुरी मस्जिदमा बसेका जमातीहरू चैतको ४/५ गते जमातीहरू आएका थिए । भारतबाट केही विद्यार्थी पनि फर्किएका थिए । तर, चैत २८ सम्म जिल्लामा केही थिएन । तर, जब आरडीटी टेस्ट सुरु भयो, उनीहरूलाई बाहिर निस्कन दिइएन ।

कोरोना संक्रमण पुष्टि भएसछि त्यो क्षेत्र सिल गरियो । कोरोना संक्रमण देखिएको व्यक्तिको परिवारको सबै सदस्य र अरू मुस्लिम परिवारको प्रत्येक घरबाट एक जना, जो बढी बाहिर हिँडडुल गर्छन् । उनीहरूको परीक्षण गरिएको छ।

संक्रमित परिवारको सदस्यहरूलाई केहीलाई घरमा र केहीलाई बाहिर क्वारेन्टाइन गरिएको छ । सुवेदी भन्छन्, ‘आफ्नो खेतबारीमा काम गर्नुहुन्छ तर सामाजिक दुरी कायम गर्नुहुन्छ । क्वारेन्टाइनमा बस्दा पनि बाहिर निस्कनुहुन्छ तर एक्लाएक्लै ।’

निको भएर आएकाहरूलाई पनि क्वारेन्टाइनमै राखिएको छ र सामाजिक दुरी कायम गर्न लगाइएको छ । अहिले क्वारेन्टाइनमा बसेकाहरू (निको भएर आएका र परिवारका सदस्यहरू) को थ्रोट स्वाब संकलन गरेर पठाइएको छ । यो रिपोर्ट नेगेटिभ आयो भने भुल्के मोडल सफल हुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment