Comments Add Comment

भारतले नेपालबाट पाम तेल र चियाकाे आयात किन रोक्यो ?

'नयाँ समस्या होइन, समाधान उन्मुख छ'

११ जेठ, काठमाडौं । भारतले नेपालबाट निकासी हुने पाम तेलमा औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि उस्तै प्रकारको प्रतिबन्ध चियामा पनि लगाएको समाचार बाहिरिएको छ । यसले नेपालका चिया किसान र व्यवसायीहरु पीडित भन्ने अवस्था आएको छ भने कोरोनाले प्रभावित अर्थतन्त्रमा झन समस्या थपिने संकेत गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले वैशाख २९ गते एक सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट साफ्टा सुबिधा अन्तरगत निकासी हुने प्रशोधित पाम तेलमा रोक लगाइएको घोषणा गरेको थियो । अब चिया निकासीमा पनि अघोषित प्रतिबन्ध लगाइएको व्यवसायीहरुले बताएका छन् ।

भारतीय बजारमा प्रशोधित पाम तेल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नु परेको तर्क दिएर भारतले प्रतिबन्धको सूचना जारी गरेको थियो । यद्यपि प्रतिबन्ध नेपाललाई मात्रै नभएर बंगलादेशका लागि पनि थियो ।

पाम र चिया दुबै नेपालबाट निर्यात हुने प्रमुख वस्तु हुन् ।पछिल्लो वर्ष नेपालमा आयात केही घटेर निर्यात बढ्दै गर्दाको अवस्थामा भारतले पाम तेल निकासीमा दुई पटक प्रतिवन्ध लगाइसकेको छ । यसैबेला चिया पनि रोकिएपछि बजेट बनाउँदै गरेको सरकारलाई निर्यात बढाउन अर्को चुनौती खडा हुने देखिएको छ ।

पाम तेलको व्यापार

डीजीएएफटीको सूचनाअनुसार गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको हो ।

भारतकै डीजीएएफटीको तथ्यंकअनुसार नेपालबाट भारतीय आर्थिक वर्ष सन् २०१८/१९ मा १ लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०१९/२० मा पैठारी हिस्सा अघिल्लो वर्ष भन्दा ३ सय १४ प्रतिशतले बढेको छ ।

यसअघि भारतले पुस २२ गते नेपालमा हुने प्रशोधित पाम तेलको निर्यात रोक्ने निर्णय गरेको थियो तर एक महिनामै पुनः पैठारी खुल्ला गरेको थियो ।

भारतले  प्रशोधित पाम आयलको आयात रोक्दा एक अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेको मोरङका पामतेल निर्यातकर्ता प्रकाश मुंडाले बताए ।

‘भारतले पछिल्लो पटक निकासी खुल्ला गरेपछि उद्योगहरूले कच्चा पदार्थको आयात बढाएका थियौं, तर एक्कासी पुनः प्रतिबन्ध लाग्यो,’मुंडाले अनलाइनखबरसँग भने ।

उद्योगमा पनि कच्चा पदार्थ भरिएको र आयातको चरणमा पनि कच्चा पदार्थ रहेको उनको भनाइ छ । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको थियो ।

चियामा प्रतिबन्ध

नेपालमा उत्पादित चियाको मूख्य बजार भारत हो । तर यसवर्षको चियाको सिजनमा भारतमा निकासीका लागि अघोषित प्रतबन्ध लगाइएको व्यवसायी उदय चापागाइँले बताए ।

‘भारतीय पक्षले कुनै स्पष्ट कारण दिएको छैन, तर भन्सारबाट चिया पास हुँदैन,’ उनले भने । सरकारी कुनै आधिकारिक निर्देशन र पत्र छन् की भनेर बुझ्दा कुनै जानकारी नपाएको उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार सन् २०१८ र १९ मा नेपालबाट भारतमा तीन अर्ब ४७ करोड १४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख किलो चिया निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ बराबरको ७४ लाख ६६ हजार किलो चिया भारत निर्यात भइसकेको भन्सार विभागले जनाएको छ ।

‘सीमा विवादमा नजोडौं’

नेपाल भारत सीमा विवाद चर्किरहेका बेला पाम र चियाको व्यापारमा अवरोध आएपछि धेरैले यसलाई शंकाका दृष्टिले हेरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँगको यो खालको समस्या पुरानो भएको बताएकाु छ ।

अनलाइनखबरसँग कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगढले सीमा विवाद अघिनै पाम र चियाको व्यापारमा केही असमझदारी देखिएको र हल गर्ने प्रयास निकै अघि बढिसकेको प्रष्ट्याए ।

‘केही मिडियामा सीमाका विवादका विषयसँग पाम तथा चियाको अवरोधलाई जोडिएको पाएँ, यो गलत हो,’ राज्यमन्त्री दुगडले भने ।

समस्या समाधानका लागि सचिव स्तरमा छलफल भइरहेको र नसल्टिए मन्त्री तहमा छलफल हुने उनले बताए ।

पाम र चियाको निकासी अवरोध सीमा विवादसँग नजोडिएको भन्दै समस्या समाधानका लागि छलफल जारी रहेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।

यसका लागि परराष्ट्र मन्त्रालय हुँदै पत्राचार भइसकेको तर, भारतीय पक्षबाट जवाफ भने नआएको  उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment