Comments Add Comment

नरैनापुरको क्वारेन्टाइन : शौचालय छैन, मध्यरातमा उठेर नुहाउनुपर्छ

१३ वैशाख, नेपालगञ्ज । कोही भारतको महाराष्ट्रबाट आएका छन् तर कोही गुजराज र कोही मुम्बईलगायतका स्थानबाट आएका छन् । सँगै आएकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि पुष्टि भएको छ ।

अहिले क्वारेन्टाइनमा ३५ जना छन् । तर उनीहरुका लागि एउटा पनि शौचालय छैन ।

यो धेरै संक्रमण भेटिएको बाँकेको नरैनापुरको गुल्सनेवारी क्वारेन्टाइनको अवस्था हो । १५ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका रहिम खा भन्छन्, ‘यति धेरै मानिसका लागि एउटा पनि शौचालय छैन । त्यसैले एक दुई जना गर्दै बाहिर शौच गर्न जान्छौं । नल पनि एउटा मात्र छ, त्यसैले पालो गरेर नुहाउनुपर्छ ।’

उनकाअनुसार कोही मध्य राति नै उठेर नुहाउँछन् त कोही विहान पालो आएपछि नुहाउँछन् ।

बसाई पनि अव्यवस्थित छ । समूहमा भद्रगोलसँग बसेका ६ जनामा संक्रमण देखिएकाले आफ्नो रिपोर्ट नेगेटिभ आए पनि घर जान मन नलागेको उनले सुनाए । ‘यही अस्वथामा घर जाँदा हाम्रै परिवार जोखिममा पर्छ, त्यसैले एक पटक फेरि परीक्षण भए हामीलाई घर जना सहज हुने थियो’ उनले भने ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो, नरैनापुर गाउँपालिकाका सबै क्वारेन्टाइन यस्तै छ । गाउँपालिकामा कोरोना संक्रमतको संख्या ११४ पुगिसकेको छ, उनीहरु मध्ये एक २५ वर्षीय पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

गाउँपालिकाको १५ वटा क्वारेन्टाइनमा अझै ५९६ जना छन् । तर बसाई निकै भद्रगोल छ । एउटै कोठामा १५÷१६ जना सम्म कोचाकोच भएर बसेका छन् भने शौचालय र खानेपानीको समेत राम्रो व्यवस्था नभएको पाइएको छ ।

मटैयास्थित नमुना प्रावि मोतीपुरको क्वारेन्टाइनमा ३ जना महिलासहित ९६ जनालाई राखिएको थियो । क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा लगियो भने ९१ जना क्वारेन्टाइनमा छन् ।

तर क्वारेनटाइनमा बस्नेहरुले ३ फिटको दुरी कायम गर्ने, मास्क लगाउने जस्ता नियम पालना गर्दैनन् । मटैया स्वास्थ्य चौकीकी अनमी दिलकुमारी शाही भन्छिन्, ‘एउटै कोठामा १५÷१६ जना बस्छन् । मास्क पनि लगाउँदैनन्, सबै जना घुलमिल गरेकाले एकबाट अर्कोमा संक्रमण सर्ने जोखिम छ ।’

यसअघि त घरमा मानिसहरु आफैं खाना लिएर आउने, क्वारेन्टाइन स्थलमा जाने गर्थे । संक्रमितहरुलाई आइसोलेसनमा लैजान खोज्दा अवरोध गरेपछि गाउँपालिकाको आग्रहमा निषेधित क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गरिएको छ ।

हरेक क्वारेन्टाइनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका २/२ जना खटिएका हुन्छन् भने गल्ती पनि भइरहन्छ । यसले क्वारेन्टाइन स्थलमा आउने क्रम भने रोकिएको छ । भैरवप्रसाद गणका उपसेनानी अजय परियार भन्छन्, ‘ग्रुपिजम गर्ने, विरोध जस्तो गर्ने भएकाले सुरक्षामा ध्यान दिएका छौं ।’

क्वारेन्टाइनमा बसेकाहरुलाई ३ फिटको दुरीमा बस्न, मास्क लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गर्ने गरिएको छ भने स्थानीय मानिसहरु कोरोना भाइरसबारे जनचेतनाको कमी भएकाले त्यसमा पनि ध्यान दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment