Comments Add Comment

कोरोनाको अनुसन्धानमा पूर्वीय ज्ञान किन ओझेलमा ?

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भएको साबुन, स्यानिटाइजर र मास्कबारे त अब २ वर्षको बच्चाले पनि थाहा पाइसकेको छ । कोरोना भाइरस र जनस्वास्थ्यका बारेमा अनेकौं लेख पनि लेखिएका छन् ।

अनुसन्धानले देखाएको छ कि कोरोनाबाट प्रभावित भएका मध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखापर्दैन । अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्, जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ । तर, कोरोनाका बारेमा छलफल हुँदा कुनै पनि आम सञ्चारमा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने, कस्तो जीवनशैली अपनाउने भन्ने बारेमा प्रायः कम नै छलफल हुन्छ ।

कुन आधुनिक ओखतीले कोरोनालाई नष्ट गर्न सक्छ वा संक्रमित भएकाहरूको जटिलता कसरी, कति थोरै दिनमा कम हुन सक्छ भनेर अनेक अनुसन्धान भएका छन् । ‘खोप’ पनि छिट्टै आउने आशा बोकेर अनेक खोज हुँदैछन् ।

यसरी आधुनिक ओखतीका बारेमा अनेक अनुसन्धान हुँदै गर्दा हाम्रो पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरु हुनुपर्छ भन्ने आवाज किन ‘सिंहदरबार वैद्यखाना’, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन् ? मजस्ता आधुनिक ओखती पढेका मानिसहरूले त्यसका बारेमा आवाज उठाउँदा खासै त्यसको प्रभाव हुँदैन । वैद्यहरूले आफ्नो ज्ञानका आधारमा ‘हामी कोरोना’ भाइरसबाट संक्रमित भएकाहरूलाई जटिलता नहोस् भनेर औषधि तयार पार्न खोज र अनुसन्धान गर्छौं भनेर अगाडि आउनु पर्ने हो कि ?

हरेक खोज र अनुसन्धान गर्दा पहिलो चोटिमै सफलता हासिल हुन नसक्ला, समय लाग्ला अर्ध वा पूर्ण रूपले असफल नै होइएला रे, तर पनि कोसिस त गर्नुपर्‍यो । ‘सिंहदरबार वैद्यखाना’मा रहेका सयौं वर्ष पुराना किताबहरूमा “मानव शरीरमा रोगसँग लड्नका लागि चाहिने शक्ति दिन के गर्न सकिन्छ ?” भनेर कतै लेखिएको छ कि ?

आधुनिक विज्ञानले भनेर विज्ञापनको जमानामा व्यापारीहरूले रोगसँग लड्नका लागि ‘अनेक क्याप्सुल’ बनाउँछन् । ती क्याप्सुलले फाइदा नगरे पनि करोडौंको विज्ञापन, ठूला कलाकारले गरेपछि सामान्य मानिसहरूले किन्छन् । त्यस्ता क्याप्सुलले फाइदा गर्दैन भन्ने थाहा पाएर पनि “नेपाल चिकित्सक संघ” केही व्यापारीहरूको लहैलहैमा लागेर डाक्टरले ‘न्युट्रोसेटिकल’ लेख्न पाउनुपर्छ भनेर अविवेकशील, नचाहिने ओखतीको प्रचार–प्रसार गर्छन् । स्वास्थ्य मन्त्रालय ‘यो गलत हो’ भनेर जानेर पनि चुप लागेर बसिरहन्छ ।

आयुर्वेदमा चाहिँ रोगसँग लड्ने क्षमता वृद्धि गर्ने अनेक घरेलु उपाय छँदा पनि वैद्यहरू किन नबोलेको हो ? । हाम्रो भूभागतिर आधुनिक औषधि आउनुभन्दा अघि पनि त मान्छेहरू आफ्नै घर वरिपरिका वनस्पति, औषधि, मसाज आदिद्वारा उपचार गर्थे । अहिले कोरोना भाइरसको बेलामा “हात धुने” काम कोरोनाविरुद्ध लड्न महत्त्वपूर्ण हतियार भएको छ, हाम्रा पूर्खाहरूले त हात धुने कामलाई आफ्नो जीवनको एक अंग नै बनाएका थिए । मन्दिर जाँदा, खाना पकाउँदा, खाइसकेपछि, कसैको मलामिबाट पर्केपछि स्नान गर्नु र हात धुनु त एउटा धार्मिक संस्कार नै मानिन्थ्यो ।

अहिले ‘सामाजिक दूरी’ एक ‘वैज्ञानिक हतियार’ भएको छ कोरोनाबाट बच्न । पहिले त मलामी गएका मानिसहरूलाई घर भित्र पस्दा सम्पूर्ण रुपमा नुहाएर, लुगा फेरेर मात्रै घर भित्र बस्ने चलन थियो । अहिले ती नियमहरू “आधुनिक विज्ञानको” हिसाबले धेरै वैज्ञानिक मानिन्छन् । यहाँ त मैले केही उदाहरणहरू मात्र दिएको छु । यस्ता उदाहरण त हाम्रा पूवीर्य जीवनशैलीको अंग नै थिए ?

सायद युरोपमा साबुन नआइसक्दा नै हाम्रा पूर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे । खरानीले भाँडा मस्काउथें । सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे, युरोपमा प्राचीनकालमा “गोरुको बोसोबाट निकालिएको र खरानी मिसाइएको, मानिसहरुले आफ्नो कपाललाई राम्रो देखाउन यसको प्रयोग गर्छन्’ इतिहासमा लेखिएको छ ।

मेरो मामा घर, उत्तर प्रदेशको गाउँमा त ३०/३५ वर्ष अघिसम्म शौचालयबाट आएपछि मुल्तानी माटो, काली माटोले हात धुने चलन थियो । मेरो बुबापट्टिकी हजुरआमाले त साबुनमा बोसो मिसिएको हुन्छ भनेर साबुन प्रयोग नै गर्नुभएन । वहाँसँग नै मैले रिठ्ठाबाट फिँज निकाल्न सिकेको थिएँ, हजुरआमाले खरानीमा लुगा पकाएको देखेको थिएँ ।

पुराना जमानाका सबै कुरा ठीक अवश्य पनि थिएनन् । तर, सबै पुराना कुरा बेठिक पनि थिएनन् । अहिले हामीले अनुसन्धान गरेर जुन वैज्ञानिक छ तिनलाई प्रयोग गरौं, जुन छैन त्यसलाई हटाऔं भन्ने साहस गर्न सक्नु पर्ने हो नि, वैद्यहरूले उदाहरणका लागि हजुरआमाले रुघाखोकी लाग्दा दूधमा बेसार र मरीच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि । अहिले बेसारको रोगसँग लड्ने शक्ति छ भनेर विज्ञानले सिद्ध गरेको छ । अहिले बेसारका क्याप्सुल बेचिन्छ ।

त्यसैगरी, हाम्रो कतिपय बिर्सिएका ज्ञान होलान्, वैद्यहरूको किताबमा, जसले शरीरको रोगसँग लड्ने क्षमता बढाउन सिकाउन सक्छ । तिनको अनुसन्धान गर्नेतर्फ को लाग्ने होलान् ?

कोरोनाको खोप र औषधी आउन अझ धेरै समय लाग्न सक्छ, अनेक संक्रमण त हुन सक्छन् । तर, कोरोना बाहेक अन्य विषाणु र जिवाणुहरूले पनि हामीलाई दुःख देलान् । तिनबाट बच्न पनि रोगसँग लड्ने शक्ति बढाउन पर्‍यो भन्ने हेक्का हुनैपर्छ । विश्व स्वास्थ्य संघले भन्दैछ “हामी कोरोनासँग बाँच्न सिक्नुपर्छ । समाजशास्त्री भन्छन् “लकडाउनले समस्या समाधान गर्दैन ।” लकडाउन खोलेपछि स्वस्थ भएर काम गर्न जरुरी छ, ओखती त चाहिन्छ ।

ओखती अहिले बचावट नै हो भने किन हामी रोगसँग लड्ने क्षमता वृद्धि गर्नेबारे छलफल नथाल्ने ? यहीबीचमा कसैलाई संक्रमणको जटिलता भयो भने त अस्पतालमा आइसीयू र भेन्टिलेटरको व्यवस्था त गर्नैपर्छ । तर, ८० प्रतिशत केही लक्षण देखा नपर्नेहरूको पनि स्वास्थ्य राम्रो रहोस् हाम्रा वैद्यहरूले केही अनुसन्धान गर्न सुरु गर्न थाल्ने होइन त ? आयुर्वेद पढाउनेले पनि त अनुसन्धान गर्न सक्छन् । नरदेवी अस्पातलले पनि गर्न सक्छ । योबारे किन सबै चुप ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment