Comments Add Comment

भत्ता दिन जनप्रतिनिधि घरघरमा, ज्येष्ठ नागरिक दंग

२० जेठ, काठमाडौं । देशमा लकडाउन छ । अन्य समयमा पनि बाहिर निस्कन नपाएर घरमै बस्नु परेका ज्येष्ठ नागरिकहरुका लागि यो समय झन पट्यार लाग्दो भएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिन पनि धेरै ज्येष्ठ नागरिकहरु जान सकेका छैनन् । यसको दुई वटा कारण छन् । एउटा– लकडाउन, अर्को हिडडुल गर्न नसक्नु ।

तर पछिल्ले समय जनप्रतिनिधिहरु घरघरमै गएर भत्ता बुझाउन थालेपछि भने ज्येष्ठ नागरिकको मुहारमा खुसी छाउने गरेको छ । सोमबारमात्रै काठमाडौं महानगरपालिकाले वडा नम्बर १८ मा वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई घरघरमै गएर भत्ता वितरण गर्यो ।

वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले घरघरमै पुगेर भत्ता वितरण गरे । इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि विष्णुप्रियाले नेवारी लवजमै औधी खुशी लागेको प्रतिक्रिया दिइन् ।

वडा–१८ कै भुरुङखेलकी ८८ वर्षीया सुधादेवी प्रधानले पनि यसरी जनप्रतिनिधिलाई भत्तासहित आफ्नै निवासमा देख्दा स्थानीय सरकार घर–दैलोमै आएको अनुभव सुनाउछिन् ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन्, भत्ता लिएर जनप्रतिनिधि घरमै आए पछि ज्येष्ठ नागरिकहरु खुसी छन् ।

काठमाडौँ महानगरपालिकाल ३२ वटै वडामा स्थायी वासोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुष बरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर महानगर बिशेष भत्ता उपलब्ध गराउँदै आएको छ । ३२ वटै वडामा स्थायी वासोवास गर्ने यस्ता बरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।

त्यसैगरी महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि यहि बेला बिशेष भत्ता घर–घरमै पुर्याउँदै छ । त्यसका लागि महानगरपालिकाले ३२ वटै वडालाई रकम निकासा गरिसकेको छ ।

बन्दाबन्दीको अवस्थामा बिशेष भत्ताले केही राहत महशुस होस भनी घर–घरमै लगेर वितरणको व्यवस्था गरेको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य बताउछन् ।

दुःखका बेलामा पनि महानगरपालिका हाम्रो साथमा छ भन्ने महशुस होस भन्ने मनसायले यही बेला भत्ता उपलब्ध गराएको उनले बताए ।

उनले विगतमा महानगरपालिकाले विशेषज्ञ चिकित्सकको टोलीसहित ज्येष्ठ नागरिकको घर–घरमै गई निशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लगायतका काम गरेको जानकारी दिए ।

‘३२ वटै वडामा ९ हजार १ सय १७ बरिष्ठ ज्येष्ठ नागरिक रहेको हामीलाई तथ्याङ्क प्राप्त भएको छ,’ उनले भने, ‘ती सबै बरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर जनप्रतिनिधिले भत्ता उपलब्ध गराउनु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment