Comments Add Comment

फ्लाइओभरको योजना बजेटमा, अध्ययन प्रतिवेदन दराजमा

२० जेठ, काठमाडौं । विकसित देशहरुका लागि फ्लाइओभर कुनै ठूलो पूर्वाधार हैन । विदेशका फराकिलो सडकमा यत्रतत्र देखिने फ्लाइओभर नेपालीहरुका लागि चाहिँ सपनाजस्तो विषय बनेको छ ।

काठमाडौंका सडकमा जाम घटाउन सरकारले फ्लाइओभरको योजना सुनाउन थालेको धेरै भइसक्यो । तर एक ठाउँमा पनि निर्माण सुरु गर्न सकेको छैन । प्रस्तावित स्थानमा आवश्यक जग्गा अधिग्रहण गर्न  नसकिने भएपछि अध्ययनको प्रतिवेदन नै दराजमा थन्क्याएर राखिएको छ । सडकको आसपास रहेका सरकारी जग्गा नै पूर्वाधार निर्माणका लागि प्रयोग गर्न नसकिएको अवस्थामा अध्ययन हुन लागेका फ्लाइओभर आयोजनाहरु पनि अनिश्चित बनेका छन् ।

लकडाउनले अहिले काठमाडौंका सडक खाली छन् । तर, लकडाउन खुलेकै दिनबाट लामो जाम सुरु हुने निश्चितप्राय छ । सवारी मात्रै हैन, पैदलयात्रुलाई समेत बाटो काट्न सकस पर्छ । यस्तो समस्या हटाउने भन्दै सरकारले बजेट वक्तब्यहरुमा काठमाडौंका उपयुक्त र आवश्यक स्थानमा फ्लाइओभर बनाउने घोषणा गर्दै आएको छ । कोटेश्वर-कलंकी खण्डको तीन स्थानमा फ्लाइओभर निर्माण गर्न र काठमाडौं उपत्यका लगायत अन्य ठूला शहरमा शहरी सडक विस्तार गर्ने योजना यसपल्टको बजेटमा पनि आएको छ । तर, धेरैले सरकारको घोषणालाई पत्याएका छैनन् ।

बजेटमार्फत् घोषणा भएका कैयन योजना कार्यान्वयनमा नजाने भएकाले पनि फ्लाइओभर बन्ने कुरामा अविश्वास गरिएको हो । सरकारले योजनाको अध्ययन सुरु नहुँदै चर्चा चलाउने तर अध्ययनपछि प्रतिवेदनहरु थन्क्याएर राख्ने प्रवृत्ति छ ।

सडक विभाग भन्छ : बन्छ

सडक विभागका अधिकारीहरु यसपटकको घोषणा विगतको जस्तो हचुवामा नगरिएको दावी गर्छन् । फ्लाइओभर बनाउन अध्ययन अघि बढिसकेको र तोकिएको स्थानमा फ्लाइओभर बनाइ छाड्ने उनीहरुको भनाइ छ ।

विस्तारको काम सकिएको कलंकी-कोटेश्वर खण्डको ग्वार्को चोक, सातदोबाटो चोक र एकान्तकुना वा नख्खु चोकमा फ्लाइओभरको डीपीआर तयार गर्न काम अघि बढिसकेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

‘लकडाउन नभएको भए चक्रपथका तीन स्थानको डीपीआर तयार गर्ने काम आधा सकिन्थ्यो,’ उनले भने, ‘तर, लकडाउनका कारण परामर्शदाता छनोटको प्रक्रिया ढिला हुन पुग्यो, अब जेठ २३ गते परामर्शदाता छनोट सकेर सम्झौता गर्छौं ।’ त्यसको ६ महिनापछि डीपीआर तयार भएर प्राप्त हुने शर्माले बताए ।

यसअघि विभिन्न दातृ निकायले काठमाडौंमा फ्लाइओभरको आवश्यकता र सम्भाब्यताबारे मात्रै अध्ययन गरेका भए पनि यो पटक सरकारी स्तरबाटै परियोजना प्रतिवेदन बनाएर काम थाल्न लागिएको हो । डीपीआर तयार भएलगत्तै टेन्डरमा जाने र आगामी वर्षभित्र तीन स्थानमा निर्माणको काम सुरु गर्ने लक्ष्य राखिएको महानिर्देशक शर्माले बताए ।

चीन सरकारको सहयोगमा विस्तारित चक्रपथका चोकहरुमा सवारीको आवागमनमा समस्या भएका कारण ती फ्लाइओभरहरुलाई प्राथमिकता दिइएको विभागको भनाइ छ ।

त्रिपुरेश्वर-माइतीघर खण्डमा नयाँ अध्ययन

काठमाडौंमा फ्लाइओभर निर्माणको चर्चा सुरु भएको एक दशकभन्दा बढी भइसक्यो । मुख्य चोकहरुमा फ्लाइओभर निर्माण गर्न जाइका लगायतका दातृ निकाले अध्ययनमा सरकारलाई सघाएका छन् । तर, सरकारले आवश्यक स्थानमा फ्लाइओभरको निर्माण थाल्न चासो दिएको थिएन ।

कतिपय चोकहरुमा फ्लाइओभरका निम्ति आवश्यक पूर्वाधार बनाउन पर्याप्त खाली स्थानको अभाव छ भने सम्भव रहेका कतिपय चोकहरुलाई सरकारले बेवास्ता गर्दै आएको छ ।

नेपालमा सबैभन्दा बढी चर्चा भएको प्रस्तावित फ्लाइओभर खण्ड हो, त्रिपुरेश्वर-थापाथली-माइतिघर । बजेटमा यो वर्ष काठमाडौंको नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य शुरु गर्ने उल्लेख छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वर-माइतीघर खण्डको अध्ययन गरिसकेको छ । करिब १ किलोमिटरको यो खण्डमा चार लेनको फ्लाइओभर बनाउने सकिने उसको निश्कर्ष छ । प्रस्तावित फ्लाइओभर बनाउन नेपाली सेनाको मुख्यालयको केही जग्गा समेट्नुपर्ने अवस्था थियो । त्यसैका कारण यो योजना तुहिन पुग्यो । सेनाले पनि संवेदनशील स्थानमा अग्लो सार्वजनिक पूर्वाधार निर्माण गर्न नहुने मत राख्दै आएपछि विभागले यो प्रतिवेदन थन्क्याइदिएको छ । यो पूर्वाधार बनाउन थापाथली इन्जिनियरिङ क्याम्पसको जग्गा पनि चाहिनेमा सहमति नपाएपछि जाइकाको दुःख पानीमा मिल्यो ।

अब बानेश्वरको अण्डरपास र माइतिघरको फ्लाइओभर नयाँ ढंगले बनाउन चीन सरकारले अध्ययन गर्ने र त्यसका लागि एमओयू भइसेकको महानिर्देशक शर्माले बताए । अब यो खण्डमा नयाँ खालको विकल्पको खोजी गरिने विभागको दावी छ ।

यो फ्लाइओभर बन्यो भने त्रिपुरेश्वर, थापाथली, माइतीघर र सिंहदरबारको जाम घट्ने र त्यसले समग्र उपत्यकाको ट्राफिक प्रणाली सुध्रने अपेक्षा गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

लकडाउनपछि चीनबाट प्राविधिक आएर यी दुई आयोजनाको अध्ययनको काम सुरु गर्ने विभागले बताएको छ ।

जडिबुटी-कोटेश्वर सडक खण्ड

बजेटमार्फत सरकारले तीनकुने-कोटेश्वर-जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पुरा गरी फ्लाईओभर तथा सुरुङ मार्ग निर्माण प्रारम्भ गर्ने पनि भनेको छ ।

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको जडिबुटी-कोटेश्वर सडक खण्ड नै हो । बिहान-बेलुकीको पिक आवरमा यहाँ यातायात साधनहरु २ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जाइकाबाटै अध्ययन गराएर रिपोर्ट लिईसकेको छ । प्रतिवेदनमा जाम हटाउनका लागि तीन विकल्प सुझाइएका छन् ।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरु हुन् । तीनकुनेपट्टबिाट बालकुमारी जाने रिंगरोडमा फ्लाइओभर बनाउने पहिलो विकल्प हो । यो फ्लाइओभर १.३ किलोमिटर लामो हुने अनुमान छ । यसको निर्माणमा ९ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।

फ्लाइओभर नबनाउने हो भने चोक वारपार गर्ने गरी सुरुङमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ । दुईतर्फी प्रस्ताव गरिएको यो सुरुङमार्ग करिब १.२ किलोमिटर लामो हुनेछ । तर यो सुरुङमार्गको निर्माण गर्न फ्लाइओभरभन्दा महँगो पर्नेछ । यसको अनुमानित लागत करिब २४ अर्ब छ ।

यी दुई फ्लाइओभर वा सुरुङ बनाउँदा रिंगरोडमा गुड्ने सवारी जाममा बस्नुपर्ने छैन भने भक्तपुरतर्फ जाने सवारी पनि निरन्तर आˆनो बाटोमा गुड्न पाउनेछन् ।

तर, कोटेश्वरबाट जडिबुटीसम्म जाने साँघुरो सडकखण्डलाई एयरपोर्टतर्फको केही भाग लिएर सडक बनाउन जाइकाले सुझाएको छ । यसो गर्दा जडीबुटीबाट कोटेश्वरसम्मको ‘बोटलनेक’ खुल्नेछ ।

तेस्रो विकल्प भने तीनकुनेबाट सीधै जडिबटी निस्कने सुरुङमार्ग हो । यो पनि करिब १.२ किलोमिटर लामो हुने अनुमान छ । करिब २४ अर्ब लागतमा दोहोरो सुरुङमार्ग बनाएपछि रिंगरोडलाई अहिलेकै हालतमा छोड्न सकिने जाइकाको अध्ययनले देखाएको छ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुनिबाट सुरुङमार्ग बनाउन नदिने बताउँदै आएको छ । यसले विमानस्थललाई असर पर्ने ठहर उसको छ । प्राधिकरणले जडिबुटीतर्फको सुरुङ बनाउन नदिएपछि रिंगरोडको दिशामा सुरुङ वा फ्लाइओभर बनाउने विकल्प  रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment