Comments Add Comment

लकडाउन : अब के गर्ने ? समाजलाई बन्धक बनाएर कतिन्जेल बाँच्ने ?

कोरोनासँग लड्न विश्व नै लकडाउन भएको ५ महिना वितेकोछ । नेपालमा लकडाउन भएको आज ७३ दिन पूरा हुँदैछ । तर, कोरोनालाई उसको गतिमा रोक्न भने कसैले सकेका छैनन् । धनी देश होस् या गरिब, विकसित होस वा अविकसित, सबै देशले लकडानसँगै कोरोनालाई रोक्न सकेका छैनन् । तर, अर्को आर्थिक महामारी निम्त्याउँदै रहेको प्रष्ट संकेत देखिएको छ ।

बरु केही सीमित देशहरु, जसले समाजिक दुरी नभएर शारीरिक दुरीलाई अपनाएका छन् ती देशहरुमा कोरोनाको नियन्त्रण कम भएको र देशलाई आर्थिक महामारीबाट पनि जोगाउन सफल भएको यो ५ महिनाको अनुभवले स्पष्ट देखाएको छ ।

यसैवीच अबको बहस कोरोनाको सुरक्षाको लकडाउनको विकल्पतिर भइरहेको छ । संसारका विज्ञहरुको प्रश्न छ, के विश्व मानवले लकडाउनकै अवस्थामा जीवित रहन सक्छ ? लकडाउन कहिलेसम्म ?

विश्व स्वस्थ्य संगठनकी महामारी विज्ञ मारिया भान केरकोभले समाजिक दुरी शब्दको प्रयोग नै गलत थियो भन्दै अब शारीरिक दुरी शब्द प्रयोग गर्नेछौं भनेकी छिन् । हुन पनि हामीले समाजिक दुरीभन्दा पनि शारीरिक दुरी कायम गरेर नै कोरानालाई जित्नुपर्नेछ । नत्र रोगबाट बँच्न खोज्दा भोकले मर्ने दिन आउन अवश्य आउने छ ।

के फरक छ त सामाजिक र शारीरिक दुरीवीच ?

शारीरिक दुरीलाई नाप्न सकिन्छ, जसको अर्थ एक अर्को व्यक्तिवीच दुरी कायम गर्नु हो । तर, समाजिक दुरी समाजिक बन्देजसँग जोडिएको हुन्छ, मानिस मानिसवीचको सामाजिक सम्बन्धहरुसँग यो जोडिएको हुन्छ ।

यसर्थ, कोरोनासँगको यो लडाइँ मानिस-मानिसवीचको २ मिटरको शारीरिक दुरी कायम गरेर लड्न सकिन्छ न कि मानिसवीचको सामाजिक सम्बन्धलाई हटाएर । अझ महामारीजस्तो समस्याहरुमा मानिसहरुवीचको सामाजिक सम्बन्धको दुरीलाई झन बढाउनु जरुरी हुन्छ ।

कोरोनाबाट सुरक्षित हुन शारीरिक र मानसिक दुबै कुरामा दुरुस्त हुन आवश्यक हुन्छ। शारीरिक रुपमा दुरुस्त हुन मानिसहरुवीचको शारीरिक दुरी कायम गर्न जति जरुरी छ, त्यति नै उनीहरुको मानसिक दुरुस्ततालाई कायम गर्न, एक-अर्कोवीच नजिक हुन अत्यन्त जरुरी छ ।

कोरोनाको अन्त्य कहिले ?

यो गम्भीर प्रश्न आज हामी सामु उभिएको छ । विश्व स्वस्थ्य संगठनले मे १३ मा गरेको प्रत्रकारहरुसँगको कुराकानीमा स्पष्ट भनेको छ, कोरोना कहिल्यै नहराउन पनि सक्छ ।

डा. सिमोन क्लार्के, शुस्म जीव विज्ञानका प्राध्यापकले भनेका छन, कुनै पनि लक्षणविना मानिसहरुमा बस्ने यो भाइरस निरन्तर रहने कुरालाई नकार्न सकिँदैन ।
नोटिङघम ट्रेन्ट विश्वविद्यालयका समाजिक शास्त्रका प्रध्यापक रोबर्ट डिङवालले पनि स्पष्ट भनेका छन्, यस भाइरसको अन्तको अनुमान गर्न असम्भव जस्तै छ ।

स्पष्ट छ कि कोरोनाको अन्त्यको अहिले कल्पना गर्न सकिँदैन । जबसम्म यसको विरुद्धको खोप आविस्कार हुँदैन, हामीले कोरोनाको कहरलाई सहनुपर्ने हुन्छ ।

खोप कहिले आविस्कार होला ?

विश्वका झण्डै ८० कम्पनी तथा संस्थाहरु हाल कोरोना विरुद्धको खोपको आविस्कारमा लागि लागि परेका छन् । त्यसमा झण्डै ५ वटा कम्पनीहरुले मानिसमा खोपको परीक्षण पनि गरिसकेका छन् ।

तर, सबै कम्पनीहरुले चाँडोमा १८ महिनाभन्दा पहिला खोप आउन नसकिने प्रस्ट भनेका छन् । तर, आजसम्मको अवस्थालाई हेर्दा चीनका वैज्ञानिकहरुले २०२१ को जनवरीसम्म खोप विकास हुने भनेका छन् तैपनि यसको कुनै पनि ग्यारेन्टी भने गरेका छैनन् ।

अर्को समस्या भनेको यो भाइरसले आफ्नो जेनेटिक रुप परिवर्तन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् । यदि, यसो हुने हो भने खोप पत्ता लागे पनि अर्कोरुपमा यसले आक्रमण नगर्ला भन्न सक्ने अवस्था छैन ।

फेरि खोपको क्लिनिकल परीक्षण ३ चरणमा हुने हुदाँ यो आफैंमा लामो समय हो । खोप विज्ञहरुको भनाइ छ कि अन्तिम अवस्थामा सबै परीक्षणहरु काम नलाग्ने पनि हुन्छ र फेरि शुरुबाट नै यसको परीक्षण गर्नुपर्ने पनि हुन सक्छ ।

समाजलाई बन्धक बनाएर हामी कतिन्जेल बाँच्ने ?

यस परिप्रेक्ष्यमा सहजै अनुमान गर्न सकिन्छ अबको कोरोना सुरक्षाको रणनीति समाजिक दुरी हुनै सक्दैन । समाजलाई बन्धक बनाएर विश्वका मानिसहरु कतिन्जेल बाँच्ने ?

नेपालको मुख्य आर्थिक स्रोत कृषि, बैदेशिक रोजगार र पर्यटन हो । यी तीनै आर्थिक क्षेत्र धारासायी हुने अवस्था छ ।
यस बर्षको बजेटमा कृषिलाई महत्व दिएर बजेट त आएको छ । तर, विगत वर्षहरु जस्तो कार्यान्वयनमा नहुने हाम्रो जुन परम्परा छ, अहिले नै यो वर्षको अवस्था आकलन गर्न सकिँदैन ।

हामीले कृषिलाई केही त्राण दिन सक्यौं भने केही हदसम्म देशको आर्थिक अवस्थालाई थेग्न सकिएला । नत्र, भोकले मृत्युवरण गर्नेहरुको संख्या गन्नुपर्ने दिन आउन सक्ने छ ।

यता वैदेशिक रोजगार र पर्यटन पूर्णत धारासयी हुने निश्चित छ । आर्थिक विकासको तीन खम्बामा देखिएको यो जर्बजस्त प्रभावले बेरोजगारी भयावह हुनेछ ।

अन्य मध्यमस्तरीय व्यवसायहरु लकडाउनका कारण पूर्णतः बन्द रहेका छन् । जसले गर्दा नेपालको आर्थिक गतिविधि पूर्णतः लकडाउनको अवस्थामा छ भने यस प्रकारका व्यवसायहरुको बन्दीले गर्दा लाखौं बेरोजगार थपिएको छ ।

जम्माजम्मी २ महिनाको लकडाउनमा लाखौं मानिसहरु एकछाक खानका लागि भिख माग्नुपर्ने अवस्था देखिएको छ । ५ किलो चामलका लागि जम्मा हुने भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नुपर्ने अवस्था छ । हामीले यो अवस्थालाई कतिन्जेल थेक्न सक्छौं ?

कोरोनाको ५ तथ्य अति महत्वपूर्ण छ

पहिलो, कोरोना अति छिटो फैलिन सक्ने तर अति कमजोर भाइरस हो । यो हामीले जुधिरहेको भाइरसको एक अन्य परिवर्तित रुपमात्रै भएको वैज्ञानिकहरुले भनेका छन् । यसकारण पनि नर्मल ९७ प्रतिशत मानिसहरुले यसलाई सहजै पचाउन सकिन्छ ।

दोश्रो, यसको असर ६० बर्ष भन्दा बढी उमेर समूहका विभिन्न रोगसँग लडिरहेका विरामी र रोगसँग लड्ने अति कमजोर क्षमता भएको व्यक्ति, कुपोषणले ग्रसितलाई बढी असर गर्छ । नेपालकै अवस्था हेर्ने हो भने पनि विनाउपचार सयौं संक्रमीतहरू निको भएका छन् । जे जतिको मृत्यु भएको छ, उपचार नभएको र गम्भीर लापरवाहीका कारण भएको देखिन्छ ।

तेस्रो, यसको मृत्युदर अन्य रोगहरुको तुलनामा अति कम छ, जुन मात्र २/३ प्रतिशत हो । हामीले अन्य रोगहरुको विश्वको मृत्युको आकलन गर्ने हो भने यसबाट हुने मृत्यु सामान्य हो । यो कोरोनाका कारण नेपालमा हालसम्म ९ जनाको मृत्यु भएको छ । जब कि यो लकडाउन अवधिमा आर्थिक कारणले गर्दा झण्डै ४० जनाले ज्यान गुमाएका छन् भने लकडाउनको कठिनाइले ५० भन्दा बढी त सुत्केरी महिलाहरुको मृत्यु भएको छ ।

चौथो, यो भाइरस हावाबाट सर्दैन । भाइरस संक्रमितसँगको संसर्गबाट मुख, नाक र आखाँसम्म भाइरस नपुगेसम्म मानिसको शरीरमा प्रवेश गर्न सक्ने देखिँदैन । हामीले हातको सफाइ र व्यक्तिवीचको दुरीबाट नै सहजै यसको संक्रमण रोक्न सकिन्छ ।

पाचौं, ५६ डिग्रीभन्दा तातो पानी र मानिसको पेटको रसायनले पनि यस भाइरसलाई मार्न सक्छ । सूर्यको तातो किरण केही घण्टासम्म पर्दासमेत यसको नास हुने बैज्ञानिकहरुले भनेका छन् ।

यीमाथिका ५ आधारलाई हेर्ने हो भने आज हामी कोरोना महामारी भन्दा भयको महामारीले ग्रस्त गरेको पाउछौं । यी आधारहरुलाई मध्यनजर राख्दै हामीले कोरोनासँग लड्ने रणनीति बनाउन जरुरी छ ।
हामीलाई लकडाउनको अनुभवले सिकाएको छ, लकडाउन मात्रले संक्रमण रोक्न सक्दैन । यदि रोक्दो हो त आज नेपालमा कोही पनि संक्रमित नहुनुपर्ने थियो । तर, जिरो संक्रमणबाट शुरु भएको लकडाउनको २ महिनामा २५ सय संक्रमित भएका छौं ।

अब के गर्ने ?

शारीरिक दुरी कायम गर्ने : त्यस्ता धेरै देशहरु छन् जसले पूर्ण लकडाउन जस्तो समाजिक दुरी प्रयोग नगरी कोरोनालाई नियन्त्रणमा लिएका छन् । ती मुलुकहरु, जस्तो दक्षिण कोरिया, सिंगापुर, ताइवान, इजरायल, जर्मनी, आइसल्याण्ड, नर्बे, न्यूजिल्याण्ड लगायत देशहरुले आर्थिक तथा समाजिक गतिविधिलाई अगाडि बढाएर कोरोनासँग लडिरहेका छन् ।

हामी पनि कामलाई निरन्तरता दिने तर कामको रणनीती परिवर्तन गर्ने । कार्यालय जानैपर्ने अवस्थामा बाहेक घरबाट नै काम शुरु गर्ने, सबै कार्यालयहरु मुख्यतः नेपाल सरकारले जनतालाई दिने सेवाहरु जति सकिन्छ, अनलाइनबाट उपलब्ध गराउने र अन्तमा जानैपर्ने समयमा कार्यालयमा उपस्थित हुने ब्यवस्था गर्ने ।

सबै काम, सेवाहरु सहजरुपमा शारीरिक दुरी र सुरक्षा विधि अपनाएर निर्वाधरुपमा सञ्चालन गर्न सकिने कुरा विश्वका थुप्रै देशहरुको मोडलले देखाएका छन् । साथै डर र भयको वातावरणलाई पूर्णतः निस्तेज पारेर सहजरुपमा काम गर्ने वातवरण बनाउन जरुरी छ ।

परीक्षण, परीक्षण, परीक्षण

ती देशहरुको अनुभवले देखाउँछ, यसको मुख्य आधार टेस्ट र शारीरिक दुरी नै हो । हामीले देशको अरबौं आर्थिक गतिविधिलाई बन्धक बनाउने भन्दा करडौं खर्च गरेर आमरुपमा कोरोनाको टेस्ट गर्ने र पोजिटिभ देखिएहरुका लागि आइसोलेसनमा राख्ने नीति अवलम्वन गर्नुपर्छ ।

राहतका नाममा भैरहेको ब्रम्हलुट रोक्ने र यो खर्च परीक्षणमा लगाउने । बन्द, व्यवसाय, सेवाहरु सबै खुलेपछि राहत नामको यो लुटको पनि अन्त्य हुनेछ । देशले अनावश्यक ऋण थप्नु पनि पर्ने छैन ।

लकडाउनका नामबाट देशलाई आर्थिकरुपमा टाट पल्टाउने र विश्वबाट ऋणको भार दिनु भोलिको लागि देशका लागि अभिसाप हुने स्पष्ट छ ।

संरक्षित समूहलाई आइसोलेनमा राख्ने :

यो भाइरस ६० नाघेका बृद्धबृद्धा, विभिन्न रोगहरुसँग लडिरहेका दीर्घरोगीहरु, कुपोषणले ग्रसित सबै समूहका व्यक्तिहरु जसको रोगसँग लड्ने क्षमता कमजोर भएकाहरुमा संक्रमण भयो भने उनीहरुको ज्यान उच्च जोखिममा रहने प्रस्ट भएको छ ।

यस अवस्थामा जर्मनीले जस्तै हामीले यी जोखिम समूहलाई पूर्णरुपमा केही समयका लागि आइसोलेसनमा राखेर स्याहारको व्यवस्था मिलाई ती समूहलाई संक्रमण हुनबाट
बचाउनुपर्ने हुन्छ ।

यसका लागि कुनै छुट्टै क्वारेन्टाइन अथवा आइसोलेसनको जरुरी हुँदैन । स्थानीय तहले यस प्रकारको संरक्षित समूहको पहिचान गरी उनीहरुलाई परिवारवीच नै सुरक्षित विधि अपनाएर गर्न सकिन्छ ।

अन्तमा, अबको समय शारीरिक दुरीसहितको आर्थिक, समाजिक गतिविधि गर्ने हो । सामाजिक गतिविधि रोक्ने होइन कि संक्रमणलाई रोक्ने विधि अपनाउनुपर्छ । त्यो भनेको परीक्षण हो । जब परीक्षण हुन्छ, तब थाहा हुन्छ, भाइरस कहाँ छ । क्वारेन्टाइन आइसोलेसनको नाममा परीक्षणविना हजारौं मानिसलाई मनोवैज्ञानिक त्रासमा, न्यूनतम मापदण्ड पूरा नगरेको क्वारेन्टाइनमा राख्नु ती व्यक्तिहरुलाई शारीरिक र मानसिक रुपमा झन ठूलो जोखिममा पार्नु हो । यसरी सामाजिक गतिविधि ठप्प पारेर न त भाइरसको अवस्था थाहा हुन्छ, न संक्रमण नै रोक्न सकिन्छ । यस कारण, अब हामीले आर्थिक सामाजिक गतिविधिलाई जोड्दै र दैनिक जीवनलाई सरलीकृत गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment