Comments Add Comment

चार हारपछि साल्केलाई अंक

२६ जेठ, काठमाडौं । युनियन बर्लिनसँग बराबरी खेल्दै साल्केले जर्मन बुण्डेसलिगामा लगातार हारको श्रृंखलालाई अन्त्य गरेको छ । कोरोना महामारीपछि फेरि शुरु भएको लिगमा लगातार चार खेल हारेको साल्केले आइतबार भएको खेलमा युनियन बर्लिनसँग १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदान युनियनका रोवर्ट एन्डरिचले ११औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । साल्केका लागि जोन्जो केन्नीले २८औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

महामारीले लिग रोकिनुअघिको अन्तिम खेलमा साल्केले होफेनहेइमसँग १-१ को बराबरी खेलेको थियो । दुई साताअघि फेरि शुरु भएको लिगमा साल्के बोरुसिया डर्टमण्ड अग्सवर्ग फर्चुना डुसेलडोर्फ र बेडर ब्रेमेनसँग पराजित भएको थियो ।

बराबरीपछि साल्के ३० खेलबाट ३८ अंक जोड्दै १०औं स्थानमा छ । समान खेलबाट ३२ अंक रहेको युनियन १४औं स्थानमा छ ।

यस्तै आइतवारै भएको खेलमा वल्फ्सवर्गले रेलिगेसन जोनमा रहेको वेर्डर ब्रेमेनलाई उसैको मैदान १-० ले पराजित गरेको छ । वल्फ्सवर्गलाई ३ अंक दिलाउन ८२औं मिनेटमा वाउट वेगहोस्टले गरेको एक मात्र गोल निर्णायक बनेको हो ।

जितपछि वल्फ्सवर्ग ३० खेलबाट ४५ अंकका साथ छैटौं स्थानमा यथावत छ । उता हारपछि ब्रेमेनको रेलिगसनको खतरा बढेको छ । ब्रेमेनको ३० खेलबाट २५ अंक छ र अकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ । २० अंक जोडेको पाडेरवर्न पुछारमा छ । ब्रेमेनभन्दा अघि रहेको फर्चुना डुसेलडोर्फको २८ अंक छ ।

लिगकै अर्को खेलमा अग्सवर्ग र एफसी कोल्नले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अग्सवर्गको घरेलु मैदानमा भएको खेलमा एन्थोनी मोडेस्टेले ८५औं मिनेटमा गोल गर्दै अग्रता दिलाए थिए, तर ८८औं मिनेटमा फिलिप म्याक्सले बराबरी गोल गरेपछि अग्सवर्गको हार टरेको थियो । त्यसअघि २७औं मिनेटमा फ्लोरियन नेडेलनर पेनाल्टीमा गोल गर्न असफल हुँदा अग्सवर्गले अग्रता लिने मौका गुमाएको थियो ।

बराबरीपछि ३५ अंक जोडेको अग्सवर्ग १२औं र ३२ अंकसहित अग्सवर्ग १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment