Comments Add Comment

विदेशबाट सुन बोकेर फर्कँदै हुनुहुन्छ ? बढ्यो भन्सार शुल्क

टेलिभिजन र रक्सी कति ल्याउन पाइन्छ ?

२८ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसका कारण विदेशमा रोकिएका नागरिकको उद्धार थालेको छ । यसको केही समयपछि सम्भवतः नियमित उडान पनि सुरु हुनेछ ।

यस अवस्थामा सुन र त्यसको गहना बोकी साविककै मूल्यमा भन्सार तिर्नेगरी आउँदै हुनुहुन्छ भने विमानस्थलमा तपाईंलाई समस्या पर्न सक्छ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुनमा भन्सार महसुल बढाएको छ ।

यसको असर विमानस्थलमा यात्रुले साथमै बोकेर आउने सुनमा समेत पर्नेछ । अब विमानस्थलमा साविकको तुलनामा सुनको भन्सार बढी तिर्नुपर्ने भएको छ । सरकारले चालु आवको बजेटबाट एक सय ग्रामसम्मको सुन साथमा ल्याउन सक्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ ।

तर त्यस्तो सुन भित्र्याउँदा विमानस्थलमा भन्सार तिर्नुपर्छ । यसरी तिनुपर्ने शुल्क आगामी आर्थिक वर्षको बजेटले बढाएको हो ।

सुनको हकमा के हुन्छ ?

तपाईंले एक सय ग्रामसम्म सुन साथमा ल्याउन पाउनुहुन्छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्छ ।

अर्थात् पहिलो ५० ग्राम सुन ल्याउँदा ४७ हजार ५ सय भन्सार महसुल तिरेर भित्र्याउन पाइने भएको छ । पछिल्लो ५० ग्राम सुनको हकमा भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार महसुल तिरेर ल्याउन पाइने भएको छ ।

सुनको गहनाको हकमा के हुन्छ ?

विदेशबाट फर्किँदा सुनका गहना ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ। यो साविककै व्यवस्था हो । तर त्योभन्दा बढी अधिकतम दुई सय ५० ग्रामसम्म भन्सार तिरेर गहना भित्र्याउन सकिनेछ ।

यात्रुले ल्याएको ५० ग्रामसम्मको गहनालाई विमानस्थल भन्सारले सिधै पास गर्नेछ । ५० ग्रामदेखि माथि एक सय ग्रामसम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । एक सय ग्रामभन्दामाथि थप एक सय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ । तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

भन्सार छुटमा के-के सामान ल्याउन पाइन्छ ?

यात्रुले लुगाफाटा, बिच्छ्यौना, घरगृहस्थीका सामान र पुराना सामानलाई कर नतिरी नेपाल ल्याउन पाउँछन् । औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि समेत कर नतिरी ल्याउन पाइन्छ ।

शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गर्ने सामानमा पनि भन्सार लाग्दैन । यात्रुले आफ्नो साथमा ट्याबलेट वा कम्प्युटर वा ल्यापटप, घडी, क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक-एक थान ल्याउन चाहेमा समेत भन्सार लाग्दैन ।

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एकथान, पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान्य प्रकारका सामान (चिकित्सक, खेलाडी, संगीतकारलगायतले प्रयोग गर्ने सामान) एकएक थान बोकेर आउँदा समेत भन्सार नलाग्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजन र रक्सीमा के हुन्छ ?

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १२ महिना विदेशमा काम गरी फर्कने नेपाली यात्रुले एक पटकका लागि ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट निःशुल्क ल्याउन पाउने भएका छन्।

त्योभन्दामाथिको टेलिभिजन सेट ल्याएमा भने दरबन्दीअनुसार नै भन्सार तिर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ । हरेक यात्रुले आफ्नो साथमा एक लिटरसम्मको मदिराको बोतल ल्याउन सक्ने प्रावधानलाई निरन्तरता दिइएको छ । ७ किलोसम्मको खाद्य परिकारमा पनि भन्सार लाग्दैन ।

भन्सार तिरेर के ल्याउन पाइन्छ ?

यात्रुले सरकारको तोकेको भन्सार महसुल तिरेर आफ्नो साथमा थप सामान ल्याउन पाउने भएका छन् ।

भन्सार तिरेर म्युजिक सिस्टम, रेफ्रिरेटर, वासिङ मेसिन, पंख्या, रेडियो, सिठी प्लेयर र डिभिसी प्लेयर एक/एक थान साथमा ल्याउन पाइने भएको छ ।

लुगाफाटो, जुत्ता, कस्मेटिक सामान बढीमा १५ थानसम्म भन्सार तिरेर ल्याउन सकिने भएको छ ।

घरायसी प्रयोगका सामान (मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरलगायत)सामान दुई/दुई थानसमेत भन्सार तिरेर नेपाल ल्याउन पाइने भएको छ ।

१० किलोसम्मको खाद्य परिकार, व्यवसायिक पेशामा लागेका व्यक्तिका प्रयोगका सामान दुई/दुई थानमा समेत भन्सार तिरेर ल्याउन सकिने भएको छ । अन्य घरासयी प्रयोगका सामान बढीमा दुई/दुई थान सामान समेत कार्यालयले भन्सार लिएर पास गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment