Comments Add Comment

कोरोनाकम्प र कृषि

सन् २०२० को शुरुवातमै कोरोना भाइरस (कोभिड-१९) का कारण दिगो विकासको सामाजिक र आर्थिक धरोहरलार्इ अहिले सम्मकै ठुलो धक्का दिएको छ । वातावरणीय धरोहरमा भने नकारात्मकको सट्टा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।यसले विभिन्न क्षेत्र/उपक्षेत्रमा क्रमशः नकारात्मक प्रभाव पार्दै गएको छ ।

विश्व मानवजातिकै जीवन र सम्पूर्ण अर्थ व्यवस्थामा गम्भीर धक्का महशुस भएको छ । जसका कारण सन् २०२० मा ३.३ प्रतिशतले बृद्धि हुने आंकलन गरिएको विश्वको समग्र आर्थिक बृद्धिदर उल्टै ३ प्रतिशत घट्ने आंकलन गरिएको छ । यसर्थमा, कोरोना महामारी २०२० को लागि कोरोना कम्प नै साबित भएको छ ।

कोरोना महामारीका कारण मानिसहरुमा मनोबैज्ञानिक असर समेत देखिन थालेको छ । शिक्षित-अशिक्षित, रोजगार-बेरोजगार, बालबालिका-बृद्ध/बृद्धा सबैमा यसको असर देखा पर्न थालेको छ । देशको चालु आ.व. को आर्थिक बृद्धि ८.५ प्रतिशतले हुने भनिएकोमा जम्मा २.३ प्रतिशतमा रहने आंकलन गरिएको छ ।

विश्व बैंङ्कको प्रक्षेपणका आधारमा भन्ने हो भने यो बृद्धिदर १.५ प्रतिशतमा कायम रहन सक्ने अनुमान छ । कोरोना महामारीका कारण नेपालको अर्थ व्यवस्था र प्रणालीमा खलल पुर्याएको छ । गत आ.व. को तुलनामा विभिन्न क्षेत्रमा भएको समग्र लगानीमा कमि आएको छ, मुद्रास्फिती २ प्रतिशतले बढेको छ, कुल ग्राहस्थ उत्पादनको करिब एक चौथार्इ हिस्सा ओगट्ने विप्रेषणमा समेत गत आ.व. को तुलनामा उल्लेख्य कमी आएको छ जसकारण बाह्य क्षेत्र सन्तुलनमा थप दवाव पर्न सक्ने जोखिम बढेको छ ।

सँगसँगै छिमेकी राष्ट्र भारतमा भएको क्षतिको बाछिटो सोझै नेपालको अर्थतन्त्रमा पर्न सक्ने सम्भावना छदैंछ । अर्थ मन्त्रालयको आंकलन अनुसार कोरोना महामारीका कारण नेपालमा २ खर्बको हाराहारीमा क्षति हुने भनिएको छ ।

कोरोनाले सबै क्षेत्र/उपक्षेत्र प्रताडित छन् र पनि मानिसको आधारभूत आवश्यकतासँग जोडिएको खाद्यान्न उत्पादन गर्ने कृषि क्षेत्र प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपले प्रभावित छ । अन्तराष्ट्रिय श्रम संगठनका अनुसार कृषिमा संलग्न एक चौथार्इ कामदारहरु चरम गरिबीमा रहेका छन् र तिनीहरु सबैभन्दा बढि संकटासन्न अवस्थामा छन् ।

निर्वाहमुखी कृषि प्रणालीलार्इ व्यवसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने दीर्घकालीन सोंचका साथ नेपालको कृषि प्रणाली सञ्चालित छ ।कुल ग्राहस्थ उत्पादनको करिब एक तिहार्इ हिस्सेदार रहेको कृषि क्षेत्र आय, रोजगारी र खाद्य सुरक्षा जस्तो अत्यान्तै महत्वपूर्ण र गम्भीर विषयसँग जोडिएको क्षेत्र भएका कारण अर्थतन्त्रको एउटा खम्बा हो भन्दा अत्युक्ति नहोला । सन् २००८ र २०१८ को कृषिमा आश्रित जनसंख्याको आंकडा अनुसार कुल आश्रित जनसंख्या 73.9 प्रतिशतबाट घटेर ६०.६४ प्रतिशतमा पुगे तापनि उत्पादन र उत्पादकत्वमा आनुपातिक गिरावट आएको छैन् ।

गत आ.व. मा ५.१ प्रतिशतले बृद्धि भएको कृषि क्षेत्र, चालु आ.व. को बृद्धिदर दशक यता कै न्यून हुने प्रक्षेपण गरिएको छ । यसरी बृद्धि न्यून हुनुका केहि प्रष्ट कारणहरु मध्ये सबैभन्दा प्रमुख कारण कोरोना महामारी पछिको लकडाउन हो ।चालु आ.व.को चैत्र यता कृषिको आपूर्ति श्रृंखला अवरुद्ध भएका कारण कृषि, पशुपन्छी तथा मत्स्य उत्पादन सामाग्री, औजार, उपकरण आपूर्तिकर्ताबाट कृषक समक्ष पुग्न नसक्नु र कृषकस्तरमा उत्पादन भएका उपजहरु बजार र आम उपभोक्ता समक्ष पुग्न नसक्नु नै कृषि क्षेत्र प्रभावित हुनुको सबैभन्दा ठुलो कारक बनेको छ । अर्कातिर सामाजिक दुरी कायम गर्दै कृषि कर्म गर्नुपर्ने समस्या पनि रहेको छ ।

साथसाथै, गत आ.व. को तुलनामा चालु आ.व. मा धानको उत्पादनमा १.१ प्रतिशतले आएको गिरावट, धान लगाइएको क्षेत्रफलमा २.२ प्रतिशतले आएको गिरावट त्यस्तै खेती लगाइएको क्षेत्रफलमा  ०.९ प्रतिशतले आएको गिरावट लगायतका कारणले गर्दा चालु आ.व.मा कृषिको बृद्धिदरमा सुस्तता छाएको छ । विशेषगरी लकडाउनको शिलशिलामा उच्च मूल्य जाने तर छिटो सडन हुने कृषि उपजहरु (तरकारी, मासु, दुध, अण्डा) मा धेरै नोक्सान पुगेको छ ।

उत्पादित उपजमा परेको प्रभाव बाहेक महामारीका कारण कृषि क्षेत्रमा थुप्रै प्रभाव परेको छ । देशका केहि स्थानमा कृषिका विभिन्न क्षेत्र/उपक्षेत्र (जस्तै फुल खेती) मा काम गर्ने मौषमी तथा नियमित कामदारहरु कामबाट बञ्चित हुन पुगेका छन् भने केहि स्थानमा सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाका कारण कामदारको अभाव देखिएको छ । उत्पादित उपजको बजार व्यवस्थापन समेत महामारीको चपेटामा परेको छ । लकडाउन र भविष्यमा हुन सक्ने अभाव जस्ता कारण देखाउँदै कालोबजारीले प्रसय पाएको छ । दैनिक उपभोग्य खाद्यवस्तुहरुको मूल्यमा बढोत्तरी भएको छ जसले गर्दा बजार निकै अस्थिर भएको छ । उपरोक्त कारण, प्रभाव तथा समस्याहरु नेपाल जस्तो न्यून आय भएको र खाद्य असुरक्षित देशका लागि घातक हुन सक्छ।

यद्यपी कोरोना कम्पका कारण सबैजसो क्षेत्रहरु अस्तव्यस्त बनेका छन्, आगामी दिनहरु कृषिमा सुनौलो सम्भावनाका रुपमा देख्न सकिन्छ । आ.व. २०७७÷७८ को लागि लक्षित ७ प्रतिशतको आर्थिक बृद्धिदर, मूल्यस्फिती ६ प्रतिशतमा कायम राख्ने र बजेटमा कृषि क्षेत्रलार्इ दिएको प्राथमिकतालार्इ हेर्दा आशावादी हुने ठाँउ देखिन्छ । त्यस्तै, बजेटका उद्देश्य र प्राथमिकतामा कृषिको विद्यमान आपूर्ति व्यवस्था र बजारीकरणलार्इ व्यवस्थित गर्नका लागि पूर्नउत्थान कार्यक्रम तथा केहि कृषि उपजमा थप आत्मनिर्भर हुने कार्यक्रम प्राथमिकता साथ अगाडि ल्याइएका छन् ।

व्यवसाय सञ्चालनको सम्भावना र अनुकुलताको अवस्थालार्इ हेर्ने हो भने, विश्व बैंक समूहले सन्  २०२० का लागि प्रकाशन गरेको डुईङ बिजनेश प्रतिवेदन अनुसार नेपाल व्यवसाय सञ्चालनको सहजता सूचकमा ६३.२ अङ्कसहित विश्वका १९० अर्थतन्त्र मध्ये ९४ औं स्थानमा रहन सफल भएको छ । जुन सन् २०१९ मा रहेको ११० औं स्थानको तुलनामा १९ स्थान अगाडि मात्र होइन, हालसम्मकै उच्च हो । यस्तै आशावादी हुने अर्को कारण हो, श्रमशक्ति । प्रतिवर्ष पाँच लाख भन्दा बढी जनशक्ति रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गर्दछन्, ती मध्ये केहिले मात्र रोजगारीको अवसर प्राप्त गर्दछन् भने बाँकी अवसरको खोजीमा विदेशीने गरेको तथ्याङ्कले देखाउछ ।

हालसम्मको आंकडा अनुसार पचाल लाख भन्दा धेरै श्रमशक्ति विदेशिएको छ सो मध्ये १.५ प्रतिशत मात्र दक्ष जनशक्ति रहेका छन् । देश कोरोना महामारीले आक्रान्त भैरहेको अवस्थामा यसरी विदेशिएकाहरु मध्ये दश लाख भन्दा बढि नेपालीहरु नेपाल फर्किने/नेपालमै बस्ने आंकलन छ । साथसाथै गत आ.व.को तुलनामा चालु आ.व.मा नँया श्रम स्वीकृती लिने कामदारको संख्यामा कमि आएको बताइएको छ ।

वैदेशिक रोजगारी, शहर केन्द्रित बसार्इसरार्इ, महत्वकांक्षी युवा सोंच जस्ता कारणबाट लामो समय देखि बाझों रहि आएको खेतीयोग्य जमिनमा उक्त श्रमशक्तिलार्इ नँया कार्यक्रमका साथ जोड्न सकेमा पक्कै पनि आय, रोजगारी र कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्रको विकास हुने थियो कि ? यद्यपी हामीकहाँ उत्पादनकार्यमा आफ्नो जवान, इमान र श्रम खर्चिनेलाई प्रश्रय दिने र सहयोग गर्ने संस्कार  छैन ।

(ज्ञवाली पोखरामा कार्यरत वागवानी विकास अधिकृत हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment