Comments Add Comment
कोरोना नियन्त्रणमा सरकारी नीतिको समीक्षा ४ :

‘स्वास्थ्यको नेतृत्वले भोलिको समस्या नदेखे बर्बाद हुन्छ’

कोभिड–१९ को महामारी विश्वस्तरमा भएको महिनौं बितिसकेको छ । अन्य देशमा यो महामारी व्यापक भएको बेलामा हाम्रोमा आउँदैन भनेर बस्नुपर्ने कुनै कारण थिएन । जसरी २००२/०३ तिर चाइना र हङकङमा सार्स भाइरस आयो, अरबमा मर्स भन्ने आयो । त्यो नेपाल छिरेन । अहिले कोभिड–१९ मा पनि त्यस्तै हुन्छ भन्ने धेरैलाई लाग्यो । गल्ती यहीँबाट सुरु भयो ।

तैपनि हामी भाग्यमानी रह्यौ भन्नुपर्छ, किनकि यो भाइरस सुरुमै हामी कहाँ देखिएन । नेपालमा पहिलो संक्रमण वुहानबाट आएका विद्यार्थीमा माघ ९ मा देखिएको थियो । दोस्रो केस त्यसको दुई महिनापछि भेटियो । जब चैत १० मा फ्रान्सबाट आएकी युवतीमा कोरोना भाइरस संक्रमण भेटियो, हामी सतर्क भइहाल्यौं । लकडाउन गरिहाल्यौं । त्यसले हाम्रो दैनिकी र व्यवहार परिवर्तन भयो ।

किनकि यो बेलासम्म हामीले कोभिड–१९ बारे धेरै थाहा पाइसकेका थियौं । अरूको अनुभवबाट सिक्ने मौका पायौं । लकडाउन गर्नुपर्ने रहेछ भन्ने पनि अरूबाटै सिकेका हौं । यो नयाँ भाइरस भएकाले निरन्तर सिकिरहनुपर्ने बेला पनि हो । उच्चस्तरीय नेतृत्व (राजनीतिक, कर्मचारी, सामाजिक) कोभिड–१९ लाई उच्च प्राथमिकतामा राख्नुपर्छ । अरू देशको अवस्था हेरेर हामी कहाँ के भइरहेको छ ? हामीले के गर्नुपर्छ ? भनेर निरन्तर सक्रिय रहनुपर्छ ।

यो पनि पढ्नुहोस व्यवस्थापनमा चुक्यौं, विश्वासमा संकट आयो त्यसरी हेर्दा थोरै केसहरू आएको बेला नै हामीले सम्पूर्ण स्रोत पत्ता लगाएर यो भाइरसलाई उन्मूलन गर्न सकेको भए यस्तो समस्या आउँदै’थ्यो । अरू धेरै देशजस्तै हाम्रो पनि त्यसो गर्ने क्षमता भएन । त्यसो भएपछि अब यो अवधिमा हामीले आउने जटिलताहरू पूर्वानुमान गरेर अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई तयार गर्नुपथ्र्यो । धेरै बिरामी आए उनीहरूलाई कहाँ राख्ने भन्ने तयारी गर्नुपथ्र्यो । कडा लक्षण भएका बिरामीहरू आए कसरी उपचार गर्ने भनेर क्षमता वृद्धि गर्नुपथ्र्यो । केही क्षेत्रमा पूर्वाधार र चिकित्सकीय क्षमता वृद्धि भएको सुन्नमा आएको छ । पूर्वतयारी नपुगेको प्रष्ट देखिन्छ ।

किनकि यो बेला सुत्केरीले अस्पतालमा उपचार नपाएको, हात काटेर गएको मानिसलाई अस्पताल भर्ना लिएन भन्ने सुनिन्छ । सुत्केरीको व्यथा लागेर अपरेसन गर्न ठिक्क पारेको मानिसलाई संक्रमण, संक्रमण फैलिएको जिल्लाको भएकै कारण अपरेसन नगरिएको सुन्नमा आएको छ । यस्ता घटनाले कोभिड–१९ विरुद्ध लड्न हामी पूर्णरुपमा तयार नभएको देखाउँछ ।

यो अवस्थामा सरकारले अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई जे जस्तो स्रोत र दक्षता दिनुपर्ने थियो । त्यो नपुगेको खट्किएको देखिन्छ । यो पूर्वतयारी नपुगेको सूचक हो ।

तर अझै संकट टरेको छैन ।

हामी अहिले पनि संक्रमणको प्रारम्भिक चरणमै छौं । अझै व्यवस्थापनमा तात्विक सुधार नगर्ने हो भने साउनको अन्तिम वा भदौको पहिलो साता संक्रमण उच्चविन्दुमा पुग्न सक्छ । टेस्ट व्यापक भयो भने संक्रमितहरू लाख कट्न सक्छन् ।

हामीकहाँ धेरैजसो मृतकलाई कोरोना संक्रमण भएको मरेपछि पत्ता लागेको छ । यसले पनि हामीले समुदायमा गएर संक्रमित छान्न नसकेको देखाउँछ । किनकि मानिस मरेपछि कोभिड पोजेटिभ देखिनुको अर्थ त जिउँदोमा पत्ता लगाउन सकेको भए त्यसमध्ये केहीलाई हामीले सहयोग गर्न सक्थ्यौं भन्ने हो नि ।

त्यसैले कोभिड–१९ नियन्त्रणका लागि हाम्रो प्रणालीमा जुनस्तरको चुस्तता, जुन स्तरको दुररुस्तता र जुनस्तरको ‘रेडिनेस’ चाहिने हो त्योस्तरको छैन । विभिन्न संकेतहरूले हामी महामारीविरुद्ध लड्न अझै तयार छैनौं भन्ने देखाएको छ ।

यो पनि पढ्नुहोस सरकारलाई लकडाउनको भात लाग्यो, भाइरसमा राजनीति हाबी भयो तर अझै पनि समय छ । किनकि हाम्रो वास्तविक परीक्षा साउन भदौमा हुन्छ भनेर विज्ञहरूले भनेका छन् ।

योजना बनाएर लाग्दा कोभिड–१९ विरुद्ध लड्न सकिन्छ । किनकि हामीले बिफर नियन्त्रण गर्‍यौं, भूकम्प भोग्यौं । एचवान एनवान पनि हामी कहाँ आएकै हो । त्यो बेला भारतमा केहीको ज्यान गयो, तर हामीले सुरुमै नियन्त्रण गर्न सक्यौं ।

तर यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि आउने समस्या आजै देख्नुपर्छ । नभए बर्बाद हुन्छ । भनिन्छ नि, स्याल मार्न बाघ मार्ने खजाना तयार गर्नुपर्छ । किनकि स्याल मार्न जान्छु भनेर बन्दुक बोकेर जंगलमा छिर्दा गौडामा बाघसँग जम्काभेट हुन सक्छ । जम्काभेट भएन भने राम्रै भयो । तर भइहाल्यो भने ‘मसँग स्याल मार्ने हतियार मात्र छ, बाघ मलाई नखा’ भनेर त भएन । महामारी पनि यस्तै हो । भोलिको दिनमा कतिसम्म भयावह अवस्था आउन सक्छ भनेर आकलन गर्नुपर्छ र त्यसअनुसार सम्पूर्ण पूर्वतयारी गरेर बस्नुपर्छ । काठमाडौंमा मात्र तयारी गरेर पुग्दैन, देशभर गर्नुपर्छ । उपचारात्मक सेवादेखि अन्य सबै व्यवस्थापन चुस्त हुनुपर्छ ।

अहिले इन्फेक्सनको स्रोत कहाँ भएको छ ? खोज्नुपर्छ । पछिल्लो तथ्यांकले संक्रमणको स्रोत क्वारेन्टिनलाई देखाइरहेको छ । जस्तो भारतबाट सय जना मानिस आए, उनीहरूमध्ये दुई जना मानिस संक्रमित छन् । तर सबैलाई एकै ठाउँमा राख्दा अरूलाई पनि सर्‍यो । यो एकदम गम्भीर कुरा हो । यसबारे गम्भीर भएर सोच्नुपर्छ ।

सरकारले केही गर्दै नगरेको पनि होइन । गरेको छ, तर ‘अप टू दि मार्क’ छैन । यो बेला व्यवस्थापन ‘अप टू दि मार्क’ हुनुपर्छ । चीनले यतिसम्म गर्‍यो कि कोरोना भाइरसको संक्रमण देखिएको वुहानमा प्रयोग भएको सबै नोट फिर्ता लियो र नयाँ नोट प्रचलनमा ल्यायो । यो सबै संक्रमण नफैलियोस् भनेर गरिएको थियो । फेरि म यो भनिरहेको छैन कि नेपालमा पनि सरकारले प्रचलनमा रहेका सबै नोट फिर्ता लिनुपर्छ र नयाँ पठाउनुपर्छ ।

तर केही गर्नैपर्ने काम छन् । कोरोनाको परीक्षणबारे जनस्तरमा धेरै प्रश्न उठेको छ, जनस्वास्थ्यविज्ञहरूले पनि प्रश्न उठाएका छन् । पीसीआर टेस्टको दायरा बढाऊ भनेर आम नागरिक वा क्वारेन्टिनमा बसेकाहरूले भनिरहनु पर्ने होइन, यो त सरकार आफैँले गर्नुपर्ने काम हो । गर्दै नगरेको पनि होइन । सरकारी तथ्यांकअनुसार अहिले दिनमा ५ हजार बढी स्वाबको टेस्ट हुन थालेको छ ।

तैपनि क्वारेन्टिनमा बसेकाहरूको स्वाब संकलन गरेको ८/१० दिनसम्म रिपोर्ट नआएका खबरहरू आइरहेका छन् । यसले प्रश्न उठेको छ, हामीले टेस्ट गाइडलाइन त फलो गरिरहेका छौं ? गर्नुपर्नेभन्दा नगर्नुपर्ने मान्छेको बढी टेस्ट त भएन ? स्वास्थ्य मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा यति टेस्ट भयो त भन्छ, तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, क्वारेन्टिनमा बसेका क–कसको कति टेस्ट गरियो भन्ने तथ्यांक छैन । साथै, टेस्टको दायरा पुगेको छैन भन्छु म त । अझै वास्तविक लक्षित समूहमा टेस्ट पुगेन कि जस्तो लाग्छ ।

हामी कहाँ आरडीटी पनि गर्ने गरिएको छ । तर यसबारे धेरै प्रश्न उठेको छ । अहिले धेरैले आरडीटी टेस्ट नगर्न सल्लाह दिइरहेका छन् । तर सरकारले लगातार आरडीटी किनिरहेको छ । आरडीटी नगरी नहुने के छ त्यस्तो ? किन पीसीआरभन्दा आरडीटी टेस्ट बढी गरिँँदैछ ? सरकारले यसको जवाफ प्रष्टसँग दिनुपर्छ ।

अर्को, होम आइसोलेसन पनि गर्ने भनिएको छ । यो संसारमा कतै नभएको काम होइन । केही देशले गरेका छन्, तर देश र समाजको परिवेशअनुसार यस्ता नियम बन्छन् । अरूले गरेका छन् भनेर हामीले होम आइसोलेसन गर्न थल्यौं भने समस्या हुन्छ । किनकि, अमेरिका र नेपालमा आकाश र जमिनको फरक छ । नेपालका अधिकांश घरमा दुईवटा ट्वाइलेट भयो भने अचम्म हुन्छ । त्यसैले मलाई के लाग्छ भने नेतृत्व तहले नेपालका जनतालाई हेरेर क्वारेन्टिन, टेस्ट, आइसोलेसनबारे निर्णय गर्‍यो भने समस्या हुन्न ।

हामी नागरिकमा पनि केही समस्या छ । ‘कोरोना अरूलाई पो लाग्छ, मलाई होइन’ भन्ने सोच्छौं । थुप्रै मानिसहरू ‘म त अरूभन्दा फरक हो नि’ भन्ने सोच छ । ‘कोभिड–१९ बुढाबुढी, दीर्घरोगीहरूलाई मात्र लाग्छ’ भनेर बस्ने पनि धेरै छौं । एकातिरमात्र हेर्दा यो ठिकै हो, तर भाइरसको विषयमा अरू ठाउँको उदाहरण हेरेरमात्र धारणा बनाउनु घातक हुन्छ । किनकि, नेपालमा अहिलेसम्म भएका मृत्युको तथ्यांक हेर्दा हामीकहाँ धेरै जवानहरू मरेका छन् ।

अनि ज–जसको मृत्यु भयो, अचानक भएको छ । अधिकाशंमा मृत्युपछि मात्र संक्रमण पत्ता लागेको छ । त्यसैले कोभिड–१९ को महामारीले अन्यत्र जस्तो ट्रेण्ड फलो गरेको छ, नेपालमा पनि त्यस्तै हुन्छ भन्न सकिन्न । त्यसैले पूर्वतयारी बढाउनुपर्छ ।

फेरि पनि भन्छु, सरकारले केही भएन भन्ने होइन ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीलाई नेपालमा कोरोना फैलिन्न भन्ने लाग्यो, गल्ती यहीँ भयो  कोभिड–१९ लाई प्राथमिकतामा राखेरै होला, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी भएको समयमा उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति, कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लगायतको स्थापना गरी जिम्मेवारी प्रदान गरेका थिए । उनीहरूले कोभिड–१९ लाई गम्भीरतापूर्वक लिए कि लिएनन् ? प्राथमिकतामा राखे कि राखेनन् ? योजना बनाए कि बनाएनन् त ? सर्सर्ती हेर्दा लाग्छ, एउटा तहको नेतृत्वले कोभिड–१९ लाई राम्रो तरिकाले प्राथमिकतामा राख्यो । तर ‘मैले जिम्मा लाइदिएको छु, गर्लान नि त साथीहरू’ले भनेर छोडिदियो । जिम्मा पाएका साथीहरू भने क्रियाशील नभएको जस्तो देखियो । किनभने उच्चस्तरीय समिति बनेपछि हुनुपर्ने जति काम भएन ।

हामीले लकडाउन त समयमै गर्‍यौं । तर कहिलेसम्म गर्नुपर्ने हुन सक्छ, यो अवधिमा के–के समस्या आउन सक्छन् भनेर कसैले पनि सोचेका रहेनछन्, अनुमान गरेका रहेन्छन् । रोजगारीका लागि हाम्रा लाखौं नागरिक भारतमा गएका थिए । हामीकहाँभन्दा भारतमा बढी संक्रमणको जोखिम भयो, लकडाउनले अरु समस्या पनि ल्यायो । तर उनीहरू कुनै पनि बेला घर फर्किन सक्छन्, त्यस्तो बेला उनीहरूलाई कहाँ कसरी राख्ने भन्ने योजना नै बनाएनौं । यसमा चुक भएको होइन, बुद्धि नै पुगेन भन्छु । किनकि भारतमा भएका नागरिकहरू फर्किन्छन् भन्ने सोच बनाएको भए केही व्यवस्थापन गर्न सकिन्थ्यो । तर समयमै नसोच्दा धेरै मानिसहरू सीमामा आएर अलपत्र परे ।

कोही रातारात लुकेर घर छिरे । कोही ४२ दिनसम्म क्वारेन्टिनमा बसे । कुन सिद्धान्तले भन्छ यत्रो दिन क्वारेन्टिनमा बस्नुपर्छ भनेर ? यो सबै समन्वयको अभावले भयो । जब ठूलो संख्यामा नागरिकहरू भारतबाट आए, व्यवस्थित रुपमा क्वारेन्टिन गर्न सकेनौं । स्वास्थ्यकर्मीको उपस्थिति छैन, स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड पालना भएको छैन । अनि त्यहीँ बसेकाहरूको आरडीटी गरेर पठाउने ? आफूले बस भनेको ठाउँमा जनता बसेपछि सरकारले चाहिँ टेस्ट गरेर पठाउने आफ्नो धर्म निर्वाह गर्नुपर्दैन ? तर क्वारेन्टिनमा बसेकाहरूले मलाई टेस्ट गर भनेर आन्दोलन गर्र्नुपर्‍यो ।

आम मानिसको आवाज पीसीआरको दायरा बढाउनुपर्छ भन्ने छ । सरकारले पनि बढाउँछौं भनेको छ । तर त्यसअनुसार काम भएको छैन । हो, हाम्रो सार्वजनिक खरिद प्रकिया सहज छैन । तर छिटो मान्छे भएको भए यति धेरै ढिलो पनि हुँदैथ्यो । यस्तो बेलामा निर्णय लिँदा जोखिम पनि मोल्नुपर्ने हुन सक्छ । तर तपाईंले राष्ट्रिय हितमा जोखिम लिनुभयो कि अरू कसैको हितमा हो ? कहिले स्वास्थ्य सामग्री स्वास्थ्यले किनेको छ, कहिले नेपाली सेनालाई जिम्मा दिइएको छ । आधा सामान ल्याएपछि टेण्डर रद्द हुन्छ । यो सबै प्रक्रियाले खरिदमा केही छ भन्ने देखाएको छ । तर के भन्ने फाइल नहेरी भन्न सक्दिनँ ।

सबैभन्दा महत्वपूर्ण, कोभिड–१९ को महामारीलाई लिएर स्वास्थ्य मन्त्रालय र यसको नेतृत्वले जुन खालको ‘अर्जेन्सी फिल’ गर्नुपथ्र्यो, त्यति नभएको देखिन्छ । यो बेला त मन्त्रालयले २४ घण्टा खटेर देशको कुन ठाउँमा के भएको छ भन्ने हेर्नुपर्छ, काहीँ समस्या आए हल गर्नुपर्छ । प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने हो । किनकि महामारी नियन्त्रणको दक्षता र स्रोत साधन पनि स्वास्थ्य मन्त्रालयमा नै छ । यस्तो महामारी नियन्त्रणका काम अरू निकायको समेत सहयोगमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा गर्ने कानुनी व्यवस्था पनि छ ।

तर मन्त्रालयको काम गराई हेर्दा त्यहाँँ ‘वार रुम सिचुएसन’ निर्माण भएको आभाष हुन सकेको छैन । यस्ता कतिपय विषय राजनीतिक नेतृत्वको क्षमताले पनि निर्धारण गर्छ । स्वास्थ्य मन्त्रालयमा अहिले त्यो पनि भएको हो । नेतृत्वमा बस्नेहरूले कोभिड–१९ लाई गम्भीरतापूर्वक नलिएको पनि हो कि ?

(पूर्व स्वास्थ्यसचिव डाक्टर उप्रेतीसँग राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment