Comments Add Comment

यी खबरहरूले सर्वसाधारणको दिमाग खराब गर्छ ?

‘लकडाउनको बेला गाडी नचढ्दा पनि सांसदहरूले गाडी भाडाबापतको भत्ता लिए ।’

‘खाडीका मजदुरको पसिनामा मन्त्रीलाई विदेश भ्रमण र दूतावासलाई गाडी ।’

‘खरिपाटी क्वारेन्टिनमा राखिएकाहरूले औषधि खाएकै थिएनन् । तर औषधि खर्च भन्दै सेनाले सरकारबाट ७३ लाख बढी भुक्तानी लिएको छ ।’

‘लकडाउनपछि राजस्व नउठेर खर्च धान्न मुस्किल भयो भनिरहेका बेला प्रधानमन्त्रीले आफ्नो गृहनगरमा भ्युटावर बनाउनका लागि ४० करोड रुपैयाँ विनियोजन ।’

बिहान एक कप तात्तातो चिया पनि पिउन नपाउँदै पत्रपत्रिका पल्टाउन थाल्नुहुन्छ । अनलाइन समाचार हेर्न थाल्नुहुन्छ । फेसबुकमा नजर डुलाउनुहुन्छ । तब तपाईंको आँखामाथि उल्लेखित समाचारमा पर्छ । यी खबरहरू पढिरहँदा तपाईंको मनस्थिति शान्त रहन्छ ? वा मनमा गुनासो, चिन्ता, तनावको भुँमरी मडारिन थाल्छ ?

भनिन्छ, बिहान निद्रा खुलेपछि शरीरमा ताजापन र स्फूर्ति आउनुपर्छ । रातभर मस्त  विश्राम गरेपछि स्वाभाविक रुपमा बिहान शरीरले ताजापन अनुभव गर्छ । यही क्षणमा मनमा उमङ्ग र उत्साहको लहर पनि चल्छ ।

तर जब–जब हामी देश र समाजको स्थितिबारे सरोकार राख्दै सञ्चारमाध्यममा आँखा डुलाउन थाल्छौं, विकृत घटना र विवरणले हाम्रो शान्ति भङ्ग गर्छ । हाम्रो उत्साह र ऊर्जामा शिथिलता ल्याउँछ । सामाजिक विषयहरूमा सरोकार राख्ने मधुसुदन ढकाल यसै भन्छन् । उनी थप्छन्, ‘यस्ता खबरहरूले वैराग्य र वितृष्णा भाव जगाइदिन्छ ।’

यस किसिमका घटनाक्रम वा खबरहरू पढेपछि-सुनेपछि त्यसले हाम्रो मनस्थिति वा मानसिक स्थितिमा कुनै न कुनै किसिमको प्रभाव पर्ने मनोविद्हरू बताउँछन् । यसले हामीमा चिन्ता, तनाव पनि पैदा गर्न सक्छ । मनोविद् करुणा कुँवर भन्छिन्, ‘दिनहुँ एवं निरन्तर यस्तै किसिमका खबरहरू पढिरहँदा मान्छेमा चरम निराशा पैदा हुन्छ । चिन्ता, भय र रिसको स्तर बढाइदिन्छ । यसले मान्छेलाई तनावग्रस्त र दुःखी बनाउँछ ।’

अहिलेकै अवस्थालाई हेरौं । थुप्रै सर्वसाधारणले आयआर्जन गुमाएका छन् । कतिपयको रोजगारी गुमेको छ, कतिको लगानी डुबेको छ । रोग र भोकको भय छँदैछ । यस्तो अवस्थामा राज्यप्रति सर्वसाधारणको अपेक्षा बढ्छ । तर समाचार आउँछ, ‘सरकारले उद्धारको नाममा व्यापार गर्न थालेपछि श्रमिक आक्रोशित ।’ ‘महामारीको राहतमा भ्रष्टचार : कागजमा ३० किलो, हातमा ७ किलो ।’ ‘विपन्न देशमा सरकारी बिलासिताः गाडी र इन्धनमा पाँच वर्षमा ४६ अर्ब खर्च ।’ ‘राष्ट्रपति कार्यलयमा एक करोडको गलैँचा फेरिँदै ।’

सञ्चारमाध्याममा दिनहुँ आउने खासगरी सरकारको लाचारीसम्बन्धी खबरले सर्वसाधारणको चैन बिथोलिएको व्यवसायी मनोज श्रेष्ठ बताउँछन् । ‘आम नागरिक राज्यको निर्देशनमा महिनौं आफ्नो घरमा चुपचाप बसेका छन्, तर राज्यका जिम्मेवार व्यक्ति मोजमस्तीमा रमाउँछन् । यस्तो बेथिति देख्दा रगत उम्लिन्छ नि ।’

अहिलेको संवेदनशील क्षणमा जसरी राज्य एवं सरकार नै मोजमस्ती र भ्रष्टाचारमा रमाइरहेको छ, त्यसले सर्वसाधरणको आशा र भरोसा नै मारिदिएको किरणहाङ नेम्बाङ बताउँछन् । उनी भन्छन्, ‘कोरोना र लकडाउनका कारण त्यसै पनि हाम्रो मानसिक स्थिति कमजोर भएको छ । त्यसमाथि सरकारको अनेक काण्ड र भ्रष्टचारको खबरले डिप्रेसनकै अवस्थामा पुर्‍याउने डर भइसक्यो ।’

हरेक बिहान सरकारको यस्तो काण्ड, यति भ्रष्टाचार भयो, यति अनियमिता देखियो भन्ने खालको समाचार पढिरहँदा सर्वसाधारणमा मानसिक तनाव, चिन्ता र आक्रोश पैदा हुने मनोविद् करुणा कुँवरको भनाइ छ । यस किसिमको असर कुनस्तरमा वा कसरी बढ्दैछ भन्ने विषयमा ठोस अध्ययन वा सर्वेक्षण भने भएको छैन । तर यसले धेरैलाई चिन्ता र डिप्रेसनकै अवस्थामा पुर्‍याउने जोखिम देखिने उनको भनाइ छ ।

अहिले सरकार एवं राज्यको बेथितिबारे जे जस्ता खबरहरू सञ्चारमाध्यममा छाइरहेका छन्, त्यसले युवापुस्ताको मनस्थितिलाई नराम्ररी बिगारिदिने मनोविद् कुँवरको बुझाइ छ । उनी भन्छिन्, ‘भोलिका सम्भावना भनिएका युवाहरूमा आज नै चरम वितृष्णा पैदा हुने स्थिति देखिएको छ ।’

लाखौं नेपाली युवा रोजगारी गुमाएर गाउँ–घर फर्किएका छन् । घर फर्कने क्रममा कतिले ज्वरो र भोकको कारण ज्यान गुमाएका छन् । घर फर्किएकाहरुलाई संभावित संक्रमणबाट जोगाउन भन्दै क्वारेन्टिनमा राखिएको छ । तर क्वारेन्टिनको हालत अरू खराब भएको खबरहरू छाउने गर्छ । एउटै कोठामा दर्जन व्यक्तिहरू कोचिएर बस्दा रोग फैलने भय बढेको छ । उनीहरूले सुविस्तासँग सुत्न र भरपेट खान नपाएको खबर छाइरहेको छ । यता सरकारले हिसाबकिताब देखाउँछ, ‘क्वारेन्टिन व्यवस्थापनमा अर्बौं खर्च भयो ।’ यस्तो खबर पढेर-सुनेर उनीहरूमा गुनासो र आक्रोश पलाउँदैन ?

विदेशमा हजारौं‌ नेपाली अलपत्र छन् । उनीहरूले रोजगारी त गुमाएका छन् नै खानेबस्ने मेलो पनि हराएको छ। एउटै कोठामा कोचिएर उनीहरू गुहार गरिरहेका छन्, ‘हामी बिजोग भयौं, उद्धार गरिदिनुहोला ।’

खाडी र मलेसिया गएका श्रमिकबाट उठाएको ६ अर्ब कल्याणकारी कोषमा जम्मा भएको छ । तर समाचार आउँछ, ‘विदेशमा रोजगारी गुमाएका मजदुरको उद्धारको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै सरकार ।’ ‘मजदुरको उद्धारभन्दा यतिको व्यापार ठूलो ! आपतमा परेका प्रवासीबाट दोब्बर भाडा लिएर हिमालयलाई १२ करोडको बिजनेस ।’

विदेशमा कष्टपूर्वक रात कटाइरहेका युवाहरू वा नेपालमा रहेका उनका परिवारहरूले यस्तो समाचार पढ्दा उनीहरूको मनस्थिति कति खलबलिन्छ होला ? यसले उनीहरूमा आक्रोश र तनाव पैदा गर्दैन ?

अहिले राज्य एवं सरकारको लाचारी र भ्रष्ट प्रणालीले समाजलाई नै तनावग्रस्त बनाउँदै लगेको सर्वसाधारण बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment