Comments Add Comment

इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि…

५ असार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।

कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए ।

तर सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई समेत छाडेर उनी बिदामा बसेका थिए ।

त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा पाए पनि नेपालले उल्टै आउट बिदामा छाडेको भेटिँदा नेपालको मिलेमतो पुष्टि भएको कोइराला बताउँछन् ।

आयोगका अनुसार टिमुरेका हवल्दार रामकाजी लामाले रिमालबाट घटनाबारे जानकारी पाए पनि कसैलाई रिपोर्ट गरेनन् । बरु सुन लुकाउन रिमाललाई सहयोग गरेको भेटिएको छ ।

हवल्दार पुरुषोत्तम खत्रीले बरामद सुन लुकाएको देखिएको आयोगको भनाइ छ । उनले सुन लुकाएपश्चात पटकपटक रिमालसँग सम्पर्क गरेको देखिएको छ ।

आयोगले यसरी चार जनाको घटनामा संलग्नता पुष्टि भएको बताउँदै अदालतमा मुद्दा दायर गरेका हुन् । सबै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसुर गरेको अभियोग छ भने बिगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment