Comments Add Comment

गेट बनाउन नदिएको भन्दै सांसदले दिए मेयरविरुद्ध उजुरी

५ असार, वीरगञ्ज । प्रवेशद्वार बनाउने विषयमा विवाद भएपछि पर्साका सांसद बिमलप्रसाद श्रीवास्तवले बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

आफूले बनाउन लागेको ठाउँमा प्रवेशद्वार बनाउन नदिएको भन्दै उनले आफ्ना प्रतिनिधि पुरुषोत्तम झामार्फत शुक्रबार मेयर साहविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

पर्सा २ बाट निर्वाचित श्रीवास्तवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४२ लाख २१ हजार १ सय ५६ रुपैयाँ सत्तरी पैसा बजेटबाट पर्सा क्षेत्र नं २ मा ६ वटा प्रवेशद्वार बनाउने योजना ल्याएका छन् ।

जसमध्ये वीरगञ्ज महानगरपालिका– १९ विन्दवासिनीदेखि बैरियाविर्ता जाने सडकमा पर्ने पानी ट्याङ्कीनजिकको गेट बनाउन मेयर साहले अवरोध गरेको उजुरीमा उल्लेख छ ।

नगर प्रमुख साहले कहिले वीरगञ्ज महानगरपालिका कार्यालयमा त कहिले स्थानीय प्रहरी प्रशासनमा उजुरी दर्ता गराई विकासको काममा अवरोध पुर्‍याएको सांसद श्रीवास्तवको जिकिर छ ।

नगर क्षेत्रभित्र कुनै पनि सांसदलाई विकासका काम गर्न नदिने रणनीतिमा नगर प्रमुख लागेको जनता समाजवादी पार्टीका नेता शिव पटेल बताउँछन् ।

गेट हामीले नै बनाउँदैछौं : मेयर साह

बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले भने त्यस ठाउँमा नगरपालिकाकै बजेटमा गेट बनाउन लागिएकाले अर्को ठाउँमा बनाउन आग्रह गरेको बताए ।

‘सांसदले गेट बनाउनु नै पर्छ भन्ने छ र रु अरु विकासका काम थुप्रै छन् । गेट नै बनाउनु छ भने पनि पालिकामा जानकारी दिएर बनाउनुपर्छ’ उनले भने ।

एउटै काममा दुई निकायको बजेट नपरोस् भन्ने आफ्नो चहना रहेको मेयर साह बताउँछन् । ‘एकै ठाउँमा दुईवटा गेट बनाउन जरुरी छैन, सरसल्लाह भएको भए पालिकाको बजेट अर्को काममा लगाउँथे नि’ उनले भने ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा पैसा सक्ने काम भइरहेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment