Comments Add Comment

विदेशबाट फर्किएका गर्भवतीमाथि असामाजिक टिप्पणी

समाजशास्त्री भन्छन्– महिलालाई अपमान नगरौं

युएईबाट स्वदेश फर्किँने क्रममा विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गर्न लामबद्ध नेपालीहरु ।

७ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एउटै विमानमा ९४ जना गर्भवती शुक्रबार काठमाडौं उत्रिए । यूएईबाट अहिलेसम्म १२० जना गर्भवती फर्किसकेका छन् । अन्य देशबाट पनि गर्भवतीहरू फर्कंदैछन् ।

नियमित उडान बन्द रहेका बेला चार्टर विमानबाट देश फर्किएका गर्भवतीहरूलाई लक्षित गरेर अमर्यादित टिप्पणी पनि हुने गरेको पाइएको छ । यसरी टिप्पणी गर्नेमध्ये कतिपयले महिलाका चरित्रमाथि नै प्रश्नसमेत उठाएका छन् ।

नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालका अनुसार अहिले नेपाल फर्किएका गर्भवतीका श्रीमान यूएईमै कार्यरत छन् । यूएईमा राम्रो कमाइ भएकाहरूले परिवार बोलाउने गर्छन् । सपरिवार घुम्न युएई जाने चलन पनि बढ्दो छ ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यूएईमा रहेका उनीहरू आफ्नै देशमा सुत्केरी हुन महँगो चार्टर्ड फ्लाइटमा फर्केका हुन् । श्रम सहचारी भुसाल भन्छन्, ‘सामाजिक सञ्जालमा गर्भवतीहरूबारे जे–जे लेखिँदैछ, त्यो ज्यादै खेदजनक छ ।’

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ कतिपय नेपालीको उग्र राष्ट्रवादी प्रवृत्ति, रोजगारीका लागि विदेश जाने महिलाप्रति राज्यको उतारचढावपूर्ण व्यवहार, विगतका केही घटना, सही सूचना प्रवाहमा भएको कमजोरीजस्ता कारणले सामाजिक सञ्जालमा ‘असामाजिक वक्तव्य’ आउने गरेको बताउँछन् ।

विगतमा केही महिला विदेशबाट बच्चा लिएर आएको घटनालाई सञ्चारमाध्यमले धेरै महत्व दिएको र वैदेशिक रोजगारीमा जाने महिलालाई हेर्ने समाजको दृष्टिकोण पहिला जस्तै भएकाले यस्तो असभ्य टिप्पणीहरू हुने गरेको डा. गुरुङ बताउँछन् । ‘अहिले फेरिएको अवस्थाबारे हाम्रो समाज ‘अपडेट’ भएन’, उनी भन्छन्, ‘सरकारले महिला कामदारको सुरक्षा पक्षको व्यवस्थापन गर्नेभन्दा यो विषयलाई गिजोल्ने काम बढी गरेकाले पनि यस्तो अवस्था रह्यो ।’

सरकारले खाडीमा महिला कामदार जान दिने र रोक्ने गर्दा पनि समाजको सोच परिवर्तन नभएको उनले बताए । ‘कति नेपाली विदेशमा सुपरभाइजर, म्यानेजर भइसके । उनीहरूलाई कम्पनीले आवास दिन्छ र सपरिवार बस्छन् तर नेपाली समाजले यो बुझेको देखिएन’ उनले भने ।

हुन पनि राम्रो कुराको प्रसार कमै गर्ने, आफूलाई खराब लागेका कुरा चर्को रुपमा उठाउने, हचुवाको भरमा जथाभावी टिप्पणी गर्ने नेपाली समाजको चलन छ । नत्र युएईबाट फर्किएका महिलाहरूबारे यस्तो टिप्पणी नहुने डा. गुरुङ बताउँछन् ।

मानवशास्त्री सुरेश ढकाल कुराको चुरो नबुझी, सोचविचार नगरी सामाजिक सञ्जालमा लेखिहाल्ने प्रवृत्तिले समस्या ल्याएको देख्छन् । ‘यसरी जथाभावी लेख्ने–बोल्नेमध्ये धेरैजसो नेपालबाहिर बसेका हुन्छन्, जसले धेरै सामाजिक जिम्मेवारी बोध गर्नुपर्दैन’, उनी भन्छन्, ‘फेरि श्रीमानबाहेक अरू कसैको गर्भ बोकेका भए त्यो निजी विषय भएको उनीहरूको समझभन्दा टाढाको कुरा हो ।’

गम्भीर विषयमा सामाजिक सञ्जालमा छिट्टै हल्काफुल्का प्रतिक्रिया लेखिहाल्ने प्रवृत्ति झाङ्गिँदै गएको उनी बताउँछन् । जान्नेसुन्ने भनिएकै व्यक्तिहरूमा समेत आजभोलि यस्तो प्रवृति देखिन थालेको मानवशास्त्री ढकालले बताए ।

समाजशास्त्री सन्ध्या बस्नेत समाजमा रहेको महिलाप्रतिको विकृत धारणा सामाजिक सञ्जालमा अभिव्यक्त भएको बताउँछिन् । काम गर्न विदेश गएका महिलाप्रति नेपाली समाजको दृष्टिकोण निकै भ्रामक र अन्यायपूर्ण भएको उनले बताइन् ।

बस्नेत भन्छिन्, ‘सामान्य अध्ययन र जानकारीविना सामाजिक सञ्जालमा दिइने यस्ता अभिव्यक्तिले महिलाको अपमान त गरेको छ नै, यो प्रवृति स्वस्थ समाज विकासको लागि निकै खतरनाक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment