Comments Add Comment
कविता :

स्मृति भरिएका सन्दुकहरु

एकै धर्तीमा
एकै आकाशमुनि
एउटै घाम अनि एउटै जुनलाई
बिहान बेलुकी
फरक नजरले नियाल्दै
एकै भावमा
मुसुक्क मुस्कुराउने ती बुढा बाबुआमालाई
कहिल्यै भेटाउन जानेन समय
पर्खाईको पुल बनेर

सपना पछ्याउँदा पछ्याउँदै
थकित ती पाइलाहरु
सम्झनामै अल्पबिराम खोज्दै
पल्टाउदै छन् बितेका पलहरु ।।

आफूसंगै बाआमाको
सपना लिएर उडेका
सन्तानहरु कहाँ भुल्दैछन्
संगै बिताएका पलहरु
कुन सन्दूकमा राख्दैछन्
किन बुबाको त्याग
अनि आमाको मायाले पिरोल्दैन
किन घडीको सुइजस्तै
चुपचाप अगाडि बढाउँदैछन्
ती भरोसिला पाइलाहरु ।।

परदेशमा दुख होला
अनेक सास्ती होलान्
सबै कुरा आमाले पस्केको जस्तो नहोला
सबै कुरा सधै बुबाले अथ्र्याएको जस्तो नहोला
सबै कुरा छिमेकीले गरेजस्तो नहोला
होहल्ला, ठट्टा गर्ने साथीहरु कम होलान्
बेसुरे गतिमा साथीभाइसंग बरालिदै हिँड्ने
जागर नआउला
र पनि
कहिँ कतै रहरको डिलमा
सपनाहरुमा रंगीचंगी फुलहरु फुलेकै होलान् ।।

हालखबर बुझ्न आतुर बाबुआमाका
स्मार्ट फोनहरुमा
गुमनाम सहरको कुनै एक नम्बरबाट
वा कुनै एक परिचित
सामाजिक सञ्जालको आईडीबाट
किन बज्दैन फोनको घन्टी
र पनि
आफ्नै सपना बेचेर
उडाएका बाबुआमालाई
सपनाको मोल अनि
परिश्रमको मोल सुनाउदै
नथाक्ने छोराछोरीको
उल्ट गुणगान गाउने बाबुआमा
बाबुआमा मात्र हुनै सक्दैनन् ।।

(रामपुर, पाल्पा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment