Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले सरकारबाट अनुदान पाउने

१७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद तथा कोरोना संक्रमित व्यक्तिको उपचारबापत प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्बन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालेको छ । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न मन्त्रालयले यस्तो तयारी थालेको हो ।

सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरूको उपचारमा दुई हजार र मध्यम अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रतिबिरामी दैनिक सात हजार रुपैयाँ अनुदान रकम सम्बन्धित अस्पताललाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा गरेको प्रस्तावअनुसार गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सम्बन्धित संस्थालाई प्रतिव्यक्ति दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराइने छ । सामान्य र लक्षण नदेखिएका होम क्वारेन्टिनमा बस्दै आएकाहरूको उपचारमा दुई सय रुपैयाँ उपलब्ध गराउने तयारी छ ।

सो रकम खर्चको आधारमा सम्बन्धित संस्थालाई उपलब्ध गर्नेगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेको छ ।

संक्रमितको उपचार गरेबापत सरकारले दिने रकम

संक्रमितको अवस्था संस्था प्रतिदिन प्रतिव्यक्ति
लक्षणविहीन/सामान्य घर २ सय
लक्षणविहीन/सामान्य आइसोलेसन सेन्टर २ हजार
लक्षणविहीन/सामान्य अस्पताल ३५ सय
मध्यय अस्पताल ७ हजार
गम्भीर अस्पताल १५ हजार

स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले खर्च व्यवस्थापनको निर्णय मन्त्रिपरिषद्ले गर्ने बताए । उनले भने, ‘हामीले प्रस्ताव गरेको रकम खर्चका आधारमा सम्बन्धित संस्थालाई उपलब्ध गराइन्छ ।’

उनले पहिलो प्राथमिकतामा ज्वरो, खोकी आएका, ट्राभल हिस्ट्री रहेका र फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment