Comments Add Comment

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१९ असार, काठमाडौं । आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । ‘कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना छैन तर हल्कादेखि मध्यम खालको वर्षा भने हुनसक्छ,’ मौसमविद नगरकोटीले भनिन् ।

शुक्रबारको वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

शुक्रबार कन्काई, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने र केही सहायक नदीमा सतर्कताको तहसम्म पुग्ने भएकाले सजग रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । साथै आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने छ ।

काठमाडौं उपत्यकामा अहिले बादल लागिरहेको छ । केही स्थानमा पानी पनि परिरहेको छ । काठमाडौंमा केहीबेरपछि पानी रोकिने र अपराह्नपछि मनसुनी बादल आएर फेरि पानी पर्ने मौसमविद नगरकोटीले जानकारी दिइन् । ‘काठमाडौं उपत्यकाका कुनै स्थानमा पानी पर्ने, कुनै स्थानमा नपर्ने हुन्छ,’ उनले भनिन् ।

शनिबार र आइतबार पनि वर्षाको सम्भावना

शनिबार दिउँसो सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शनिबारको दिन प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार पनि प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा पानी पर्ने छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

आइतबारकै दिन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा मात्र मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment