Comments Add Comment

जनस्तरबाट रकम उठाएर डडेलधुरामा पीसीआर मेसिन

१९ असार, काठमाडौं । जनस्तरबाट रकम संकलन गरेर डडेलधुरामा जिल्ला अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ ।

बिहीबार राति र शुक्रबार विहान दुई लट नमुना परीक्षण गरिएको ल्याबका इन्चार्ज ईश्वरी भुसालले बताए । उनका अनुसार ल्याब सञ्चालनका लागि सेती अस्पताल, धनगढीबाट रमेश शाही र जिल्ला अस्पताल, बझाङबाट नरेश खड्का पनि आएका छन् । ‘अस्पतालले काठमाडौंबाट तीन जना बोलाएको छ, उहाँहरुलाई पनि ट्रेन गरेर आवश्यक अनुसार परीक्षण गर्छौं’ भुसालले भने ।

यसअघि प्रदेश ७ मा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मात्र पीसीआर मेसिन जडान गरिएको छ । पहाडी जिल्लाहरुमा संकलन गरिएको नमुना धनगढी ल्याउन पनि घण्टौं लाग्ने र समयमा रिपोर्ट नआउने भएपछि डडेलधुरामै पीसीआर मेसिन जडान गर्न जनस्तरबाट रकम संकलन सुरु भयो ।

विदेशमा रहेका सुदूरपश्चिमबासीहरुको सस्था सुदूरपश्चिम समाजमा आवद्ध मानिसहरुले सहयोग गरे, अरुले पनि रकम दिए । नेपालमा पनि उद्यमी, खेलाडी, कलाकार लगायतले सहयोग गरे । छोटो समयमा नै ७४ लाख १५ हजार रुपैयाँ जम्मा भएको ह्युमनिटी फाउण्डेसनका अध्यक्ष अमरबहादुर शाहीले बताए ।

शुक्रबार मात्र ८ लाख १३ हजार ६६५ रुपैयाँको चेक फाउण्डेसनका अध्यक्ष शाहीलाई हस्तान्तरण गरिएको छ । ‘सहयोगका लागि आएको प्रतिवद्धता समेत गर्दा १ करोड २० लाख हुन्छ’ भन्छन्,‘कोरोना महाकारीका कारण अहिले हामी सबै समस्यामा छौं । तर सही सोच भयो भने यस्तो बेलामा पनि सहयोग जुट्ने रहेछ ।’

यही रकमबाट ९६ लाख रुपैयाँमा पीसीआर मेसिनसहित कोरोना परीक्षणका लागि चाहिने सामाग्री खरिद गरिएको छ ।

अभियान्ताहरुले जनस्तरबाट उठेको सहयोग रकमको सही सदुपयोग गर्ने बाचा समेत गरेका छन् । सुदूरपश्चिमका सात जिल्लाका लागि पायक पर्ने भएकाले पीसीआर मेसिन जडानका लागि डडेलधुरा अस्पताल छनोट गरिएको अभियानमा संलग्न तेक्वान्दो खेलाडी दीपक विष्टले बताए ।

डडेलधुरा अस्पतालको ल्याब इन्चार्ज भुसालका अनुसार यो मेसिनमा एक पटकमा बढीमा ९६ वटा नमुना परीक्षण गर्न मिल्छ । भीटीएमको अभाव छैन भने परीक्षणका लागि चाहिने आरएनए एक्ट्र्याक्सन र पीसीआर किट भने सरकारले सुदूरपश्चिम प्रदेशका लागि सेती अस्पतालमा पठाएको मध्ये ५०० वटा ल्याइएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिमार्फत स्थानीय तहसँग समन्वय गरेर नमुना संकलन गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment