Comments Add Comment

बाँचौं, गाह्रो भो ! मरौं, छोरीहरू छन् !

२० असार, काठमाडौं । आफूले हाँक्दै आएको टेम्पो नजिकै पुगेपछि पार्वतीको बोली फुट्यो, ‘मेरा लागि यो हीरा हो । छोरीहरू जति प्यारा छन्, यो पनि उत्तिकै प्यारो छ ।’

पार्वती श्रेष्ठ सीतापाइलाको टेम्पो ग्यारेजमा छिन् । २७ वटा टेम्पोको स्टेसन हो यो । बिहान झिसमिसेमै निस्कने टेम्पो झमक्क साँझ परेपछि मात्र यो स्टेसनमा आइपुग्थ्यो । रातभर चार्ज भएर बस्थ्यो । चैत ११ गते बिहानदेखि स्टेसनका यी टेम्पोहरू गेटबाहिर निस्किन पाएका छैनन् ।

एउटा कुनामा कालो नम्बर प्लेटको टेम्पो छ – बा १ ह ३८५८ ।

तीन महिनायता नम्बर प्लेटसँगै पार्वतीको जीवन पनि धुमिलिएको छ । मैलिएको नम्बर प्लेट पुछ्दै गर्दा पार्वतीको तिख्खर स्वर सुनिन्छ, ‘बच्चाहरूले गर्दा मर्न पनि सकिँदैन । बाँचौं ! बाँच्न धेरै गाह्रो भइसक्यो ।’

पार्वतीको आँसुले भरिएको जीवनमा खुसी फर्काउने यही टेम्पो हो । दुनियाँले साथ छोड्दा पार्वतीलाई सम्हाल्ने यही टेम्पो हो । अभावले किचेर चौबाटोमा लावारिस उभिएको जिन्दगीलाई बाटो देखाउने पनि यही टेम्पो हो । पार्वती थप खुल्छिन्, ‘मेरो सास नै यही टेम्पोमा अडेको छ ।’

लकडाउन सुरु भएपछि तीन महिनादेखि स्टेरिङको दर्शन गर्न नपाएको टेम्पोले पार्वतीलाई सपनामा आएर झस्काउँछ र निद्रा गायब  गराइदिन्छ।

०००

०६४ साल । छोरी भर्खर दुई वर्ष पुगेकी थिइन् । तोते बोली बोल्न थालेकी थिइन् । कहिले बिस्कुट भन्थिन्, कहिले चक्लेट माग्थिन्, कहिले चाउचाउ भन्दै रुन्थिन् । छोरीलाई रिझाउनका लागि पार्वतीसँग बोली सिवाय केही थिएन ।

छन त पार्वतीका श्रीमान् पनि थिए ।

बिहेपछि दैलेखबाट काठमाडौं झरेका थिए, उनीहरू । रात परेपछि मात्र डेरा छिर्ने श्रीमान‍्को शरीर मदिराले लठि्ठएको हुन्थ्यो । पार्वतीका हातले जागिरे श्रीमान‍्को धन कहिल्यै समाउन पाएनन् । जहिल्यै निराश रहिरह्यो उनको मन ।

सधैंको अभाव । सधैंको श्रीमान‍्को टोकसो । दिक्क थिइन् २२ वर्षीया पार्वती । यही दिक्क लाग्दो अवस्थालाई भुलाउन उनी गोठाटारमा टेप्पो चालकको तालिम लिन पुगिन् । आइडिया थियो भक्तपुरमा बस्ने उनकी दिदीको ।

दुई वर्षको बच्चालाई काखी च्यापेर उनी ड्राइभिङ सेन्टर पुग्ने गर्थिन् । बिहानको ११ देखि दिउँसोको तीन बजेसम्म तालिम चल्थ्यो । काखे छोरीकै लागि भए पनि टेम्पो चालकको लाइसेन्स हात पार्नु थियो  । त्यही हुटहुटीले हुनुपर्छ पार्वतीले १५ दिनमै चालक अनुमति पत्र हात पारिन् ।

बिस्तारै पार्वतीको दैनिकीमा परिवर्तन आयो । बिहानै चार बजे कोठाबाट निस्कने । ग्यारेजबाट टेम्पो झिकेर पालोमा बस्ने । दिनभर सीतापाइला, छाउनी, कालीमाटी त्रिपुरेश्वर र सुन्धाराहुँदै रत्नपार्कको रुटमा टेम्पो हाँक्ने । अनि साँझ आठ बजेतिर घर फर्किने ।

‘डेढ महिना साथीहरूसँग हिँडेर हात सफाइ गरेँ, बल्ल साहुको टेम्पो चलाउन थालें ।’

‘बच्चाहरूले गर्दा मर्न पनि सकिँदैन । बाँचौं, बाँच्न धेरै गाह्रो भइसक्यो । आजभोलि त रातभर निद्रा नै पर्दैन । एक जार पानी किन्न पनि सोच्नुपर्ने अवस्था आइसक्यो ।’

उदास पार्वती विन्दास हुन थालिन् । दिनभर यात्रुलाई गन्तव्यमा पुर्‍याएबापत पाएको कमाइ सुत्ने बेला सिरानीमुनि राख्न पाउँदा उनी दङ्ग हुन्थिन् । यस्तो लाग्थ्यो, अँध्यारोमा रुमलिएको जीवनमा उत्साहका किरणहरू प्रवेश गरिरहेछन्।

पार्वतीका दिनहरू टेम्पोमा बित्न थालेपछि दुई वर्षकी छोरीलाई भक्तपुरकी दिदीले पढाउने जिम्मा लिइन् । यसले पार्वतीको काठमाडौंको कष्टप्रद जीवनलाई सहज केही सहज बनाइदियो । पार्वती भन्छिन्, ‘फलफूल, बिस्कुट र खेलौना लगेर हप्ता वा महिनाको एकपटक टेम्पो गुडाउँदै छोरीलाई भेट्न पुग्थेँ ।’

पार्वतीले जुन पेसा अंगालिन्, त्यो उनको परिवारका लागि नितान्त नौलो थियो । एउटी महिलाको हातले टेम्पोको स्टेरिङ समाएको न परिवारलाई सैह्य भयो, न छिमेकीलाई । अरू त अरू, पार्वती आफ्नै श्रीमान‍्को समेत आँखाको कसिङ्गर बन्न पुगिन् ।

उनी दिनभर थाकेर डेरामा फर्क‌ंदा श्रीमान‍्को टोकेसो सहनुपर्थ्यो। श्रीमान‍्ले जहिल्यै एउटै कुरा दोहोर्‍याउँथे, ‘अब टेम्पो चलाउने काम छोड् ।’

पार्वतीलाई फेरि पहिलेकै निरस जिन्दगीमा फर्कनु थिएन । उनी भन्छिन्, ‘श्रीमान् राम्रो भइदिएको भए, कमाएर दिने भए किन टेम्पो चलाउन पुग्थेँ र ! आफू त जसोतसो बाँच्थेँ, बच्चालाई चकलेट किन्ने पनि पैसा नभएपछि मैले के गरुँ ?’

जेठाजुबाट झन् दबाबमा परिन् पार्वती । उनका परिवारले भन्थे, ‘टेम्पो त हामीले होइन, मगर र कामी दमाई‌ंले पो हो चलाउने हो त ।’

आफ्नो पेसाप्रति यस्तो भन्दा पावर्तीलाई झन्का छुटेर आउँथ्यो । तर उनले चुपचाप टेम्पो चलाइरहिन् ।

भर्खर-भर्खर खुत्रुकेमा पैसा जम्मा हुन थालेको थियो । दुई वर्षमा पार्वतीले पचास हजार रुपैयाँ बचत गरिन् । उनी आफ्नो जीवनमा फर्किएको खुसी गुमाउन चाहन्नथिन् ।

पार्वतीले आफ्नो खुट्टा राख्ने टेम्पोको ब्रेक साहुको नभएर आफ्नै होस् भनेर कल्पना गरेको धेरै भइसकेको थियो । यो कल्पना पूरा गर्नका लागि बचत भएको ५० हजारले आँट दियो ।

दिदीले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने बाचा गरिन् । पाँच लाख रुपैँया बैङ्कबाट ऋण निकालिन् । अर्को दुई लाख ऋण खोजिन् । अनि ८ लाख रुपैयाँमा आफ्नै टेम्पो बनाइन् पार्वतीले ।

आफ्नै ट्याम्पो हाँक्न थालेपछि पार्वतीको खुसीले सीमारेखा पार गर्‍यो । तर उनले सुविस्ताको सास फेर्न सकिनन् । ब्याट्री किन्नेदेखि टेम्पो मर्मत गर्नेसम्मको काममा उनी आफैँले खर्च गर्नुपर्ने भयो । पार्वती  भन्छिन्, ‘झन् भड्खालोमा परेजस्तो पो भयो । महिनाको ५० हजार टेम्पोको किस्ता, त्यसमा ब्याट्रीको किस्ता पनि थपियो ।’

तर १५ रुपैयाँको चटपटेले छाक टारेरै भए पनि पार्वतीले नियमित किस्ता बुझाउन भने छाडिनन् ।

छोरी छ वर्ष पुगिसकेकी थिइन् । उनी दिदीकोमा बसेर अध्ययन गर्ने भएकाले पार्वतीलाई केही सहज थियो । घरमा श्रीमान् भए पनि त्यसको अनुभूति गर्न सकेकी थिइनन् ।

‘पाँच वर्ष पुगेदेखि छोरी आफैँ भेट्न आउन थालेकी थिई’, पार्वती सम्झन्छिन्, ‘उताबाट माइक्रोमा हालेपछि सुन्धारा आइपुग्थी। म त्यहीँ टेम्पोमा कुरेर बस्थेँ। छोरीसँग एकछिन भेटेर फेरि माइक्रोबसमै पठाइदिन्थेँ ।’

पार्वती यति व्यस्त थिइन् कि मात्र पाँच मिनेटको समय पनि उनलाई निकै मूल्यवान थियो ।

त्यहीबेला उनको पेटमा गर्भ बस्यो । तर गर्भ बसेका बेला पोसिलो खानुपर्छ, आराम गर्नुपर्छ । स्वास्थ्यको यो नियम लागु गर्न असमर्थ थिइन् उनी । पेटमा बच्चा हुर्किँदै थियो । परिवारलाई गर्भको बच्चाको चिन्ता होइन कि टेम्पो चालकबाट हात धुनका लागि निरन्तर दबाब थियो ।

उनका जेठाजुले त्यतिबेलै भनेका थिए, ‘कि ट्याम्पो छोड, कि मेरो भाइलाई ।’

पार्वतीले दाह्रा किटेर जवाफ दिएकी थिइन्, ‘त्यसो भए म तिम्रो भाइ नै छोडिदिन्छु ।’ यसो भन्न उनलाई मन थिएन । तर उनी विवशतामा बाँधिएकी थिइन् । त्यतिबेला पार्वतीलाई लागेको थियो, यो संसारमा मेरो पर्वाह गर्ने कोही छैन ।

बिहानै खाना पकाएर टिफिनमा हालेर निस्कनु र झमक्क साँझ परेपछि घर फर्किनु उनको दैनिकी थियो । दिनभर टेम्पोको गतिभन्दा दोब्बर गरी उनको मन दौडिरहेको हुन्थ्यो ।

पार्वती भन्छिन्, ‘गर्भवती भएको आठ महिनासम्म मैले टेम्पो हाँकिरहें ।’ आफ्नै सुत्केरी खर्च जुटाउका लागि पनि यसरी घोटिनुको विकल्प थिएन ।

पार्वती गर्भवतीको अन्तिम क्षणमा नितान्त एक्लो अनुभव गरिरहेकी थिइन् । उनलाई सहयोग गर्नका लागि सात वर्षकी छोरी मात्र आइपुगेकी थिइन् । उनै छोरीको सहयोगमा पार्वतीले जन्म दिइन् – स्मृतिलाई ।

सुत्केरी भएर लडेकी पार्वतीलाई भेट्न दिदीबाहेक परिवारका कोही पुगेनन् । सकी नसकी खाना पकाउने, भाँडा माझ्नेदेखि कपडा धुनेसम्मको काम उनी आफैँले भ्याइन् ।

स्मृति जन्मिएको तीन महिना हुन दुई बाँकी थियो । उनी छोरीसँगै टेम्पो लिएर फेरि उही रुटमा निस्किइन् । उनी सम्झन्छिन्, ‘जम्मा गरेका सबै सामान सकिसकेका थिए । घरमा खाने केही थिएन । टेम्पो नचलाए बाँच्नै नसक्ने अवस्था आयो ।’

०००

बिहानै चार बजे उठ्थिन् । एकछिन पूजापाठमा बिताउँथिन् । आफूलाई खाना तयार पारेर टिफिनमा राख्थिन् । स्मृतिलाई न्यानो गरी कपडा लगाइदिन्थिन् । थर्मोसमा तातोपानी र झोलामा केही न्यानो कपडा अनि स्यार्लेक्स राखेर पौने पाँच बजे डेराबाट निस्कन्थिन् ।

ट्रिपमा लाग्नका लागि चाँडै पुग्नुपर्थ्यो। पालो आएपछि स्मृतिलाई एउटा हातले च्याप्थिन् र अर्को हातले स्टेरिङ समाउँथिन् । एउटा खुट्टामा स्मृतिलाई टेकाउँथिन् र अर्को खुट्टाले ब्रेक थिच्थिन् । छोरी निदाएपछि छेउको सिटमा सुताइदिन्थिन् । ‘एकातिर छोरीलाई सम्हाल्न अर्कोतर्फ ‘प्यासेन्जर’सँग डिल गर्न निकै सकस पर्थ्यो’, उनी ती दिनहरू सम्झन्छिन् ।

यसरी दिन बिताएर डेरा पुग्दा रातिको आठ बजिसकेको हुन्थ्यो । उनी भनिछन्, ‘अवस्था यस्तो थियो कि एक दिन टेम्पो नचलाए तरकारी र दूध किन्ने पैसासमेत हुँदैन्थ्यो ।’

यसरी सानी छोरीसँग टेम्पो गुडाउँदा कतिले बिचरा ! भन्दै मुख चुक्चुकाउथे । कतिले ‘बाउ खै त ?’ भन्दै धारिलो प्रश्न तेर्स्याउँथे ।

एकदिन एउटी प्यासेन्जरले यत्तिसम्म भनिन्, ‘दिदी, बरु एक बोरा चामल म किनिदिन्छु । यसरी हत्ते देखाउनुभन्दा घरमै बस्नुस् ।’

अहँ ! पार्वतीले चालकको सिट छाडिनन् । कहिले स्तनपान गराउँदै ट्याम्पो दौडाइन् । कहिले रुँदारुँदैकी छोरीलाई काखमा च्यापेर टेम्पो हाँकिन् । यसरी टेम्पो चलाएको देख्दा कति यात्रुले आत्तिँदै भन्थे, ‘बिस्तारै चलाउनु है दिदी, बरु ढिलो पुगे पनि केही हुँदैन ।’

जसरी त्यसरी पार्वतीले टेम्पोमै हुर्काइन् स्मृतिलाई ।

जब उनले कठिनाइसँग जुधेर दुई वर्ष पार गरिन्, पार्वतीले उनलाई छाउनीको एउटा मन्टेस्वरी स्कुलमा भर्ना गरिदिइन् । त्यसपछि भने उनले अलिकति भए पनि सुविस्ताको सास फेर्न पाइन् ।

पार्वती भन्छिन्, ‘बिहानै छोरीलाई लिएर टेम्पो चलाउन जान्थेँ । साढे आठ बजेतिर स्कुलमा छाडिदिन्थेँ । अनि फेरि साढे तीनबजे छोरीलाई लिएर ट्रिपमै जान्थेँ ।’

यसरी नै आमाछोरीको दैनिकी चलिरहेको थियो । स्कुल भर्ना भएपछि छोरीका लागि खाना र खाजाको चिन्ता थिएन । तर एक दिन अकस्मात प्रिन्सिपलको फोन आयो ।

‘होइन, पैसा त तिरि नै रहेकी छु । के भएछ !’ पार्वती आत्तिँदै टेम्पोको गति बढाएर स्कुल पुगिन् ।

प्रिन्सिपलले समस्या बताए । ‘तपाईंकी छोरी कति बजे उठ्छिन् ? दिनभर सुतेर अरूलाई पनि पढाउन गाह्रो भयो ।’

पार्वतीको अनुहार मलिन बन्छ । उनी सुनाउँछिन्, ‘त्यसपछि भने घरबाट अलि ढिलो निस्कन थालेँ ।’

संघर्षको मैदानमै थिइन् पार्वती । दैनिकी उस्तै थियो । छोरीले खाजा खाने, कपाल कोर्नेदेखि होमवर्कसम्म टेम्पोमै गर्थिन् । कहिले पानी परेर लुछुप्पै हुन्थिन् । पानीले भिजेपछि रुँदै भन्थिन्, ‘ममी जाडो भयो छिटो घर जाऔं न !’ छोरीले त्यसोभन्दा आमालाई रुन मन लाग्थ्यो ।

पार्वती र श्रीमान‍्को सम्बन्धमा झन् ठूलो दरार आयो । अब वचन मात्रै होइन, शरीरमाथि श्रीमान‍्को मुक्कासमेत बर्सिन थाल्यो ।

‘छ वर्षसम्म झेलेँ । तर अति भएपछि छोरी मान्छे हो, संघर्ष गरौंला । हातमा सिप छ, भए मिठो खाउँला, नभए चामल र नुन खाएर पनि छोराछोरी हुर्काउँला भनेर २०७१ सालमा डिभोर्स दिएँ’, पार्वतीले आफूभित्रको कठोरता छताछुल्ल पारिन् ।

अब पार्वतीको अर्को नयाँ युगको सुरुवात भयो । भक्तपुर दिदीकहाँ भएकी जेठी छोरीलाई पनि आफूसँगै राखेर पढाउन थालिन् । टेम्पोको ऋण पनि तिरिन् । फेरि मेगा बैङ्कबाट ऋण निकालिन् । समूहमा पैसा जम्मा गर्न थालिन् । कुनै दबाब र प्रभावविना पार्वती आफ्नै दुनियाँमा स्वतन्त्र भएर उड्न थालिन् ।

उनी भन्छिन्, ‘पैसा त मैले कमाइनँ । तर त्यसपछि मेरो जीवन स्वर्गमा भएजस्तो लाग्यो ।’

०००

पार्वती जीवनको ठूलो जंघार तरेर एउटा सहज परिस्थितिमा आइपुगेकी थिइन् । अहिले उनीसँगै अघिपछि गरेकी छोरी तीन कक्षामा पुगिसकेकी छिन् । जेठी छोरी १० कक्षामा पुगिसकेकी छन् । पार्वती भन्छिन्, ‘सबै दुःख छोरीहरूका लागि नै गरेको हो ।  ऋण-धन  जे भए पनि खानका लागि छोरीहरुलाई मारेकी थिइनँ ।’

उनलाई व्यवहार धान्न हम्मे-हम्मे नै थियो । मेघा बैङ्कमा ४५ हजार र सहकारीमा ४० हजार मासिक किस्ता बुझाउनुपर्ने । दुईवटा समूहमा छ/छ हजार रुपैयाँ । टेम्पोबाट मासिक एक लाखभन्दा बढी आम्दानी ।

तर लकडाउनले टेम्पो ग्यारेजमै थन्किएपछि भने पार्वतीलाई फेरि उस्तै निराश बनाएको छ । उनी भन्छिन्, ‘अहिलेसम्म त जसो-तसो बाँचियो । अब त बाँच्नै गाह्रो छ ।’

लकडाउनका कारण पाँच लाख बढी ऋणमा परिसकेकी छन् । किस्ताका लागि बैङ्क र सहकारीबाट तारम्तार फोन आउँछ । पार्वतीले फर्काउने जवाफ नै भेट्टाउँदिनन् ।

केही दिनअघि छोरीको स्कुलबाट किताब लिनका लागि फोन आयो । स्कुलले अनलाइन कक्षा सुरु गरेको थियो । स्कुल पुगेपछि शिक्षकले भने, ‘भर्ना गरेपछि मात्र किताब उपलब्ध गराउन सकिन्छ ।’

जेठीका लागि २२ सय र कान्छीलाई १६ सय रुपैयाँ अब कहाँबाट ल्याउने ? पार्वती भन्छिन्, ‘बरु एक वर्षपछि पढ्लान भनेर किताब नै नलिई फर्किएँ ।’

तीन महिना टेम्पो नचल्दा किस्ता तिर्न बाँकी ब्याट्री पनि बिगि्रसकेको छ । पावर्तीको जिन्दगी फेरि विषम परिस्थितिमाथि उभिएको छ ।

ग्यारेजमा थन्किइएको बा १ ह ३८५८ टेम्पोतर्फ हेर्दै  पार्वतीले अनलाइनखबरसँग भनिन्, ‘आजभोलि त रातभर निद्रा नै पर्दैन । एक जार पानी किन्न पनि सोच्नुपर्ने अवस्था आइसक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment