Comments Add Comment

तारे र पर्यटकीय स्तरीय होटेलमा थपिए ३१४३ बेड, कोरोनापछि सबै खाली

२३ असार, काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो । तर, कोरोनाको महामारीले गर्दा पर्यटन क्षेत्र नै ठप्प भएपछि यो लगानी संकटमा परेको छ ।

सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय स्तरीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थप भएका छन् । नेपालमा सन् २०१८ मा तारे होटेलको संख्या कुल १२९ रहेकोमा २०१९ मा यो बढेर १३८ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । भ्रमण वर्षलाई लक्षित गरी व्यवसायीले लगानी बढाएका थिए । त्यसैको प्रतिफलस्वरुप सन् २०१९ मा धेरै होटेल बनेका हुन् । सन् २०१८ मा पर्यटकस्तरीय होटेलको संख्या ११२५ रहेकोमा सन् २०१९ मा बढेर ११ सय ५१ पुगेको छ । यसरी एक वर्षको अवधिमा थपिएका होटेलमा कुल ३ हजारभन्दा बढी बेड थपिएका हुन् ।

मन्त्रालयको तथ्यांकअनसार अब मुलुकले एक रातमा एक साथ ४३ हजार ९ सय ९९ जना पाहुनालाई स्तरीय होटेलमा राख्न सक्ने क्षमता बनेको छ । यसअघि सन् २०१८ मा बेड संख्या ४० हजार ८ सय ५६ रहेको थियो ।

कोरोना महामारीपछि चौपट

सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा सरकारले गत चैतमा फिर्ता लियो । त्यसअगाडी नै भ्रमण वर्षका कार्यक्रम स्थगित भएका थिए । १ वैशाखबाट सचिवालयसमेत खारेज गरियो ।

सरकारले ११ चैतबाट लकडाउन घोषणा गरेपछि होटेलमा पाहुना आउने क्रमसमेत बन्द भएको छ । होटेल संघ नेपाल -हान)का अनुसार कोरोना महामारीपछि सबैभन्दा मारमा होटेल क्षेत्र परेको छ । होटेलमा दैनिक औषत ५० प्रतिशत कोठा भरिदाँमात्र सञ्चालन खर्च उठ्ने एक व्यवसायीले बताए । तर, नेपालका होटेलले फागुनपछि नै पाहुना पाएका छैनन् । जसले गर्दा भ्रमण वर्षलाई भनि आएको ठूलो लगानी संकटमा परेको हो ।

झण्डै १ खर्बको थप लगानी
नेपालको होटेल उद्योगमा पछिल्लो समय करीव ८१ अर्बको नयाँ लगानी आएको छ । केही समय अगाडी नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार नयाँ आएका २ सय ७१ वटा होटेलमा मात्र ८१ अर्ब ३ करोड रुपैयाँको लगानी देखिएको थियो । यो रकम बोर्डले होटेलले सर्वेमा उपलब्ध गराएको विवरणका आधारमा निकालेको हो ।

भ्रमण वर्षलाई लक्षित गरी १ खर्ब भन्दा माथिको नयाँ लगानी आएको व्यवसायीहरु बताउँछन् । त्यसमध्ये कतिपय होटेल अहिले पनि निर्माणाधिन अवस्थामा छन् । जसको काम कोरोना महामारीसँगै रोकिएको छ । व्यवसायीहरुका अनुसार अहिले होटेलले मात्र करीव ११ लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान छ । उनीहरुमा ठूलो परिवार आश्रति रहेको छ ।

सन् २०१९ मा होटेल संख्या
तारे होटेल : १३८
पर्यटकीय स्तरका होटेल : ११५१
बेड  : ४३,९९९
सन् २०१८ मा होटेल संख्या
तारे होटेल : १२९
पर्यटकीय होटेल : ११२५
बेड संख्या : ४०८५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment