Comments Add Comment

केपी ओलीका समर्थकलाई कोरोनाको जोखिम छैन ?

काठमाडौंका सिडियो भन्छन्– प्रदर्शन गरेर बहादुरी हुँदैन, कोभिडले कारवाही गर्छ

२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए ।

प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाै‌ँको संख्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ निकट नेता, कार्यकर्तासमेत जुलुसमा सहभागी भए ।

लकडाउन कार्यान्वयको मुख्य जिम्मेवारी अहिले नेपाल प्रहरीलाई छ । उसले बुधबारै रोजगारीका लागि दक्षिण कोरिया जाने वातावारण सिर्जना गर्न माग गर्दै भएको उस्तै किसिमको प्रदर्शनबाट ६६ जनालाई गिरफ्तार गर्‍यो । तर, प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा भने नेपाल प्रहरी मूकदर्शक बन्यो ।

केही दिन अघि पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन भएका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित ब्रिफिङमा भीडभाड र जुलुस गर्नु आत्मघाती हुने बताएका थिए ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी भने यो विषय राजनीतिक भएकाले यसमा आफूलाई प्रश्न नगर्न आग्रह गर्छन् ।

केपी ओलीको समर्थनमा निस्किएका जुलुसका सम्बन्धमा जसरी गृहमन्त्रालय मौन छ, स्वास्थ्य मन्त्रालय पनि मौन रहेको छ । गृह र स्वास्थ्य दुबै मन्त्रालयले जुलुस नगर्न आह्वान गर्न सकेका छैनन् ।

यद्यपि सरकारको विपक्षमा हुने प्रदर्शनमा भने घरपकड गर्ने गरिएको छ ।

प्रदर्शनमा प्रधानमन्त्रीको मौन समर्थन

सत्तारुढ नेकपाभित्र चर्किएको आन्तरिक विवादपछि अहिले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन जारी छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपाल लगायतले प्रधानमन्त्रीको राजीनामा मागेपछि ओली पक्षधरले प्रदर्शन गरेका हुन् ।

विगतमा ओली आफैं लकडाउनको खुकुलो होइन, कडा बनाउँदै लैजानुपर्ने राय व्यक्त गर्ने नेता हुन् । तर, अहिले आफ्नो पक्षमा भएको प्रदर्शनलाई उनले मौन समर्थन गरिरहेका छन् ।

आफूले जुलुस गर्न नभनेको तर स्वतस्फूर्त जुलुस निस्किएको भन्दै प्रधानमन्त्रीले सन्तोष प्रकट गरेका छन् । कोरोनाको जोखिम बढिरहेका बेला यस्ता जुलुसहरु रोकौं भनेर प्रधानमन्त्री एक शब्द पनि बोलेको सुनिएको छैन ।

यो पनि पढ्नुहोस प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन किन रोक्नु ? बहुमतले कारबाही गर्नुस्

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल अरुलाई प्रदर्शन नगर्न भन्ने व्यक्तिबाटै यस्ता क्रियाकलापलाई प्रोत्साहन हुनु विडम्बनाको विषय भएको बताउँछन् ।

स्वतन्त्र युवा समूहको नाममा प्रचार गरिए पनि सडकमा नेकपा कार्यकर्ताको जमात देखिनुले प्रधानमन्त्री वा बालुवाटारनिकट व्यक्तिले प्रदर्शनका लागि परिचालन गरेको हुन सक्ने आशंका उनको छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

‘यसमा प्रहरी प्रशासन पनि दोधारमा देखिन्छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘आफ्नै सरकार प्रमुखको पक्षमा गरेको प्रदर्शनलाई हस्तक्षेप गर्दा कोपभाजनमा पर्ने डरले अन्य पक्षलाई मात्र नियम लगाइएको हुन सक्छ ।’

जनस्वास्थ्यविद् समिरमणि दीक्षित सरकारले मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरीलाई जोड दिइरहेका बेला अहिले प्रदर्शन गर्ने समय नभएको बताउँछन् ।

‘संक्रमणको अवस्था पनि वृद्धि भइरहेको अवस्था र उपत्यकालाई उच्च जोखिमको क्षेत्र भनिरहेका बेला सर्वसाधारण आफैं पनि स्वःविवेकले नै सडकमा आउनु नहुने हो,’ उनले अनलाइनखबरसँग भने, ‘यसमा जुनसुकै दलका नेताले प्रदर्शन गर्न निर्देशन दिन्छ भने त्यो पूर्णरुपमा गैरजिम्मेवार कुरा हो, सर्वसाधारणको जिउ ज्यानमा खेलबाड गर्ने विषय हो ।’

राजनीतिक दलका नेताहरुले प्रदर्शन नगर्नलाई प्रोत्साहन गर्न सार्वजनिकरुपमा अपील गर्नुपर्ने उनको धारणा छ ।

बालुवाटारमा २९ जेठमा इनफ इज इनफ अभियानको प्रदर्शन ।

कम्तिमा ६ ठाउँमा दैनिक प्रदर्शन

काठमाडौं जिल्लामा मात्रै अहिले दैनिक कम्तिमा ६ ठाउँमा प्रदर्शन हुने गरेको छ । नेकपाको आन्तरिक विवादपछि प्रदर्शनको क्रम अझै बढेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाही अहिले फरक–फरक समूहमा रहेका व्यक्तिले दैनिक प्रदर्शन गरिरहेको बताउँछन् ।

‘सामान्यतयः हामी पहिले सम्झाउने र बुझाउने प्रयास गर्छौं, त्यसमा अटेर गरे नियन्त्रणमा लिएर कारबाहीको दायरामा पनि ल्याएका छौं’, शाहीले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा प्रवेश गर्न खोजे वा संक्रमण बढाउन सक्नेजस्तो अवस्था देखिए संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गर्दै आएका छौं ।’

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवाली भने दिनहुँ भइरहेको प्रदर्शनले सर्वसाधारण मात्र होइन, फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई पनि संक्रमणको जोखिम बढेको बताउँछन् । ‘पक्राउ नगरी हुँदैन, त्यसका लागि नजिक जानैपर्‍यो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ज्ञवालीले भने, ‘कतिपय अवस्थामा पूर्ण सावधानी अपनाउन पनि समस्यै हुन्छ, त्यसैले थप जोखिम बढेको छ ।’

पछिल्लो एक सातामा मात्रै एक दर्जन विषयमा उपत्यकामा प्रदर्शन भएको प्रहरीले उपलब्ध गराएको रेकर्डले देखाउँछ ।

बुधबार सरकार पक्षधर र कोरिया जान पाउनुपर्ने माग गर्दै दुई क्षेत्रका नागरिकका तर्फबाट प्रदर्शन भए ।

मंगलबार खोकनाका किसान आन्दोलित थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्‍यो ।

ट्याक्सी व्यवसायीको प्रदर्शन

यही समयमा ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै व्यवसायी प्रदर्शनमा छन् ।

मंगलबार चिनियाँ राजदूत होउ यान्छीको नेपालमा हस्तक्षेप बढेको भन्दै आफूलाई स्वतन्त्र बताउने कांग्रेस निकट युवाले प्रदर्शन गरे ।

यहीबेला मुलुकका पत्रकार पनि सञ्चार गृहबाट जागिर खोसिएको भन्दै प्रदर्शनमा छन् ।

केही दिनअघि अमेरिकी परियोजना–एमसीसी खारेज गर्नुपर्ने मागसहित प्रदर्शन भइरहेको थियो । ‘इनफ इज इनफ’ अभियान भन्दै युवाले पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै बालुवटारमा विशाल प्रदर्शन गरे ।

रुकुम पश्चिमको चौरजहारी घटनाको विरोधमा पनि दलित अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

मुलुकका विभिन्न क्षेत्रमा शव व्यवस्थापन सम्बन्धी विवादमा पनि आन्दोलन भइरहेको छ । यहीबेला विद्यालयका शिक्षकहरु पनि तलब नपाएको भन्दै आन्दोलित छन् ।

सिंहदरबारभित्रै नायब सुब्बाहरुको पनि प्रदर्शन जारी छ । स्वास्थ्यकर्मी कुटिएको र भत्ता नपाएको विषयमा पनि आन्दोलन भइरहेकै छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अहिले प्रदर्शन गर्न कसैलाई अनुमति नदिइएको बताउँछन् । यो प्रदर्शन र जुलुसमा उत्रिने बेला पनि नभएको उनको भनाइ छ ।

पुत्ला नजलाई सरकारले सुनेन : प्रदर्शनकारी

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालका अनुसार संक्रमणको जोखिमलाई ध्यान दिएर सडक प्रदर्शनको विकल्पमा सामाजिक सञ्जालबाट ह्यास ट्याग अभियान चलाउने प्रयास पनि नभएको होइन । तर, त्यो विधिबाट सरकार र प्रधानमन्त्रीको कानसम्म आम नगारिकका समस्या पुग्न नसकेको उनी बताउँछिन् ।

‘अहिलेको अवस्थामा संक्रमणको जोखिमभन्दा भद्रगोल प्रणालीसँग बढी डर भयो, त्यसैले सडकमा उत्रिन बाध्य हुनुपरेको हो’, ढकालले भनिन्, ‘पहिले उहाँहरु जुन शैली अपनाएर सरकारमा पुग्नु भयो, अहिले पनि त्यस्तै, पुत्ला नजलाई नागरिकका समस्या सुनुवाई नहुने विडम्बनापूर्ण अवस्था छ ।’

कोभिड–१९ महामारीका बेला सरकारले चालेका कदममा प्रश्न उठाउँदै भएको ‘इनफ इज इनफ’ आन्दोलनमा विवेकशील नेपाली दलका सदस्यको पनि सहभागिता देखियो । दलका अध्यक्ष मिलन पाण्डे भन्छन्, ‘युवाले स्वयम्सेवीका रुपमा निकालेको प्रदर्शनमा हामीले पनि समर्थन गरेका हौं, यो आन्दोलन एकदमै सावधानी अपनाउँदै सामाजिक दूरी कायम गरेर भएको थियो ।’

बरु सत्ता पक्षमा आबद्ध व्यक्ति गरेका गरेका आन्दोलनमा त्यति सावधानी अपनाएको नदेखिएको उनी बताउँछन् । पाण्डे भन्छन्, ‘महत्वपूर्ण मुद्दामा युवा साथीहरुले जुन चेतनाको स्तर देखाउनुभयो, त्यो राजनीतिक कार्यकर्ता साथीहरुले देखाउन सक्नुभएन ।’

महामारीका बेला सयौंको ज्यान बचाउनलाई अभियान गर्ने कि व्यक्तिको स्वार्थका लागि भन्ने महत्वपूर्ण हुने पाण्डेको भनाइ छ ।

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गर्नेहरु भने कोरोना संक्रमणको जोखिमबारे खुलेर बोल्न चाहँदैनन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अहिले प्रदर्शन गर्न कसैलाई अनुमति नदिइएको बताउँछन् । यो प्रदर्शन र जुलुसमा उत्रिने बेला पनि नभएको उनको भनाइ छ ।

‘प्रदर्शन गरेर बहादुरी हुने होइन, भिड बढ्दै गए, कोभिडले नै कारबाही हुन्छ’, दाहालले अनलाइनखबरसँग भने, ‘त्यसैले कसैले पनि यसमा खेलाँची गर्नुहुँदैन ।’

उनले विरोध गर्ने पनि विभिन्न मोडालिटी भएको बताउँदै मागपत्र र ध्यानाकर्षण पत्र बुझाएर चित्त नबुझेका कुरा राख्न सकिने बताए । उनले भने, ‘हामीले अस्वाभाविक रुपमा गतिविधि गर्नेलाई मुद्दा पनि चलाएका छौं, त्यसैले प्रदर्शन र जुलुस नगरिदिन सबैलाई आग्रह गर्दछु ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली समर्थनमा प्रदर्शन, ‘भारतीय दलाल होसियार’को नारा

प्रजातान्त्रिक मुलुकमा आन्दोलन र प्रदर्शनमार्फत आफ्नो अभिव्यक्ति र असन्तुष्टि राख्न नपाइने भन्ने होइन । तर, महामारीका बेला त्योभन्दा पनि महत्वपूर्ण नागरिकको जिउ ज्यानको रक्षा हुनुपर्छ । त्यसैले सामाजिक दूरी र मास्कको प्रयोगलाई जोड दिएर सार्वजनिक स्थानमा भेला हुने क्रमलाई निरुत्साहित गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment