Comments Add Comment

१२ वर्षकै उमेरमा प्रेम, परिवारले बिहे गराउँदा ५ जना पक्राउ

२६ असार, पोखरा । उनी ८ कक्षामा पढ्दै थिइन् । एक दिन आफन्तको जाँदा उनको एक युवकसँग चिनजान भयो ।

उनी भर्खर १२ वर्ष लागेकी थिइन् तर, २१ वर्षको युवकसँग चिनजानमात्रै भएन, नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध रह्यो, त्यसबारे गाइँगुईं चल्न थाल्यो । उनीहरुको सम्बन्धबारे दुबैतिरका परिवारले चाल पाए ।

सानै उमेरमा बनेको सम्बन्धबारे आफन्त र समाजले नराम्रो सोच्नेबारे परिवारलाई चिन्ता पर्‍यो । त्यसैले उनीहरु विवाह गराइदिने निर्णय गरे । दुलही भर्खर १३ वर्ष र दुलाह २३ वर्षका थिए । दुबै परिवारले विवाहको मिति तोके, असार २४ गते बिहीबार ।

बेहुलीको घर तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ मा बिहीबार बैबाहिक कार्यक्रम चल्दै थियो । कन्यादान दिने काम भल्दै थियो, एकाएक प्रहरी विवाह घरमा पुग्यो । बेहुलासहित छोरी अन्माउँदै गरेका र बुहारी भित्राउन लागिरहेका अभिभावक पक्राउ परे ।

गोरखाका बेहुला र व्यास ११ कि बेहुलीको परिवारका सदस्यसहित ५ जनालाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको हो । ‘केटा केटीबीच प्रेम रहेछ । परिवारले थाहा पाएपछि सल्लाह गरेर उनीहरुको विवाह गराउँदै रहेछन् । बाल विवाह हुँदै गरेको प्रहरीले सूचना प्राप्त गर्नासाथ पुग्यो,’ प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सेनाले भने, ‘कानुनले बाल विवाह बर्जित गरेका कारण ५ जनालाई पक्राउ गरेका छौं ।’

बहुला र उनका बाबु, बेहुलीको बाबुआमा र पुजारीलाई पक्राउ गरी प्रहरीले मुद्धा अगाडि बढाएको छ । २० वर्ष नपुगी विवाह गर्न, गराउन कानुनले बर्जित गरेको छ । कम उमेरका केटाकेटीको बिहे गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

यसअघिको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो । तर विवाह रद्द गर्ने व्यवस्था थिएन । गएको साल बनेको नयाँ कानुनले भने यस्तो विवाह रद्द नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment