Comments Add Comment

कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?

\३१ असार, काठमाडौं । विश्वको शक्तिशाली मुलुक अमेरिकामा जसरी कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढिरहेका छन्, त्यसले समग्र विश्वलाई नै अचम्ममा पारेको छ ।

३३ करोड हाराहारीमा रहेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख ३५ हजार ६१५ जनाको मृत्यु भइसकेको छ । ७ जुलाईमा त अमेरिकामा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए ।

वासिङ्टन पोस्टका अनुसार अमेरिकाका अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको छ । आईसीयू पनि भरिभराउ हुने अवस्थामा पुगेका छन् । अमेरिकामा स्वास्थ्यकर्मीहरूलाई मास्क, ग्लोभ्स र पीपीईलगायतका व्यक्तिगत सुरक्षा सामग्रीको कमी हुन थालेको छ ।

यूएसए टुडेका अनुसार अहिले अमेरिकामा चीनको तुलनामा निकै धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक चीनमा भेटिएको थियो । चीनले आफ्नो आँकडा घटाएर प्रस्तुत गरिरहेको छ भन्ने दाबीलाई स्वीकार गर्ने हो भने पनि अमेरिकामा संक्रमितको संख्या निकै बढी छ ।

एक अर्ब ४० करोड जनसंख्या रहेको चीनमा १६ हजारमा एक मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर अमेरिकामा भने एक सय जनामध्ये एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यति मात्र होइन, अमेरिकामा प्रत्येक वर्ष जति पनि मृत्यु अन्य रोगका कारण हुन्छन्, त्योभन्दा धेरै मानिसको मृत्यु कोरोना भाइरसका कारण भइसकेको छ । जस्तो कि सामान्य रुघाखोकीका कारण अमेरिकामा ५५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । अल्जाइमरको कारण एक लाख २१ हजार मानिसको मृत्यु हुने गरेको छ । तर कोरोनाका कारण पछिल्लो चार महिनामै यी रोगबाटभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अमेरिकी अधिकारीहरू मुलुकमा कोरोना भाइरसको कारण हुने मृत्युदर कम र स्थिर भएको बताउँदै आएका छन् । तर अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले भने कम मृत्युदरमा जोड दिनु गलत भएको बताएका छन्

अझ महत्वपूर्ण कुरा के छ भन्ने अमेरिकामा सरकार र विशेषज्ञहरूको बीचमा कामको तालमेल देखिँदैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयमा जतिबेला बोल्दा पनि उनले कोरोना भाइरसबारे कुनै खतरा नरहेको मात्रै बताए । अहिलेको विषम परिस्थितिमा पनि अमेरिकाले विद्यालय पनि खोल्ने तयारी गरिरहेको छ । ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका हिसाबमा अमेरिका अझै पनि राम्रो अवस्थामा रहेको बताउँदै आएका छन् ।

अमेरिकी अधिकारीहरू मुलुकमा कोरोना भाइरसको कारण हुने मृत्युदर कम र स्थिर भएको बताउँदै आएका छन् । तर अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले भने कम मृत्युदरमा जोड दिनु गलत भएको बताएका छन् ।

उनका अनुसार अहिले अमेरिकामा कोरोना भाइरसको महामारीको पहिलो लहर चलिरहेको छ र अमेरिका पहिलो लहरलाई नै नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । मानिसहरूले कोरोना भाइरसबाट बच्नका लागि आवश्यक सुरक्षा सावधानी नअपनाए प्रत्येक दिन कोरोना भाइरसका एक लाख नयाँ संक्रमित भेटिनसक्ने उनको चेतावनी छ ।

यसअघि मार्चमा नै उनले अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुई लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरेका थिए । अहिलेको आँकडाले उनको अनुमान सत्य साबित गरिसकेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले १० जना मानिस कोरोना भाइरसबाट संक्रमित हुँदा केवल एक जनाको नाममात्र कोरोना संक्रमितको रूपमा दर्ता गरिएको बताएका थिए । उनका अनुसार मुलुकमा पाँचदेखि ८ प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेका थिए ।

गतमहिना सीडीसीका अर्का वरिष्ठ अधिकारीले अमेरिकामा न्युजिल्याण्ड, सिंगापुर वा दक्षिण कोरियाको जस्तो अवस्था नरहेको बताएका थिए । कोरोना नियन्त्रणमा सफल मानिएका मुलुकहरूले कोरोना संक्रमितको पहिचान छिटै गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङ गरेर मानिसहरूलाई आइसोलेसनमा राखेका थिए । तर अमेरिकामा भने निकै धेरै कोरोना भाइरसको संक्रमण फैलिएको उनको भनाइ थियो ।

पछिल्लो समय अमेरिका मात्र होइन, अन्य मुलुकमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा कमी आएको दाबी गरिएको छ । यो कुरालाई वैज्ञानिकहरूले पनि स्वीकार गरेका छन् ।

विभिन्न अध्ययनका अनुसार कोरोना भाइरसको असर सबैभन्दा बढी वृद्ध मानिसमा देखिएको छ । अमेरिकाको सीडीसीको तथ्याङ्कअनुसार प्रत्येक १० मृत्युमा आठ बिरामीको उमेर ६५ भन्दा बढी थियो । तर अहिले युवाहरूमा कोरोना संक्रमण बढ्न थालेको छ । कोरोना भाइरसका कारण युवाहरूको मृत्यु हुने सम्भावना कम हुन्छ । त्यसैले पनि कोरोनाबाट हुने मृत्युदरमा कमी आएको जानकारहरूको भनाइ छ ।

अमेरिकाको एरिजोना राज्यमा आधा संक्रमितको उमेर २० देखि ४४ को बीचमा छ । टेक्सासमा आधा संक्रमित ५० वर्षभन्दा कम उमेरका छन् । यस्तो अवस्थामा मृत्युदर निकाल्दा कम पाइनु नौलो कुरा होइन ।

कोरोना भाइरसको संक्रमणको नतिजा मृत्युमात्र होइन । कोरोना भाइरसका संक्रमित निको भएपछि पनि उनीहरूमा शारीरिक र मानसिक समस्या कायम रहन्छ ।

अमेरिकामा संक्रमितको संख्या किन बढिरहेको छ ? अमेरिकाले यसलाई किन नियन्त्रण गर्न सकेको छैन त ? यसको धेरै कारण हुन सक्छन् । यसको पहिलो कारण सुरुमा कोरोना भाइरस नियन्त्रणको लागि प्रभावकारी कदम नचाल्नु हो । यो भाइरसलाई सरकारले गम्भीरतापूर्वक लिएन, निकै कम परीक्षण गरियो, भाइरस नियन्त्रणको लागि जरुरी कदम चालिएन ।

अमेरिकाका साथै अरू पनि धेरै देशहरू छन्, जसले तत्काल कोरोना भाइरस नियन्त्रणको लागि कदम उठाएका थिएनन् । जसका कारण ती मुलुकमा पनि कोरोना भाइरसका संक्रमित पनि उल्लेख्य मात्रामा बढेका थिए । त्यस्ता मुलुकहरूमा इटाली, स्पेन र बेलायत पनि छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिनुको कारण परीक्षण किट्सको अनुमतिको लामो प्रक्रिया हो । यो प्रक्रियाको कारण पनि परीक्षणमा केही ढिलाइ भएको थियो । अहिले अमेरिकामा गर्मीयाम सुरु भइसकेको छ र मानिसहरू आफ्नो सामान्य जनजीवनमा फर्किएका छन् । अमेरिकी युवाहरूमा अब आफूहरूलाई धेरै जोखिम नरहेको सोचको विकास भएको छ ।

अमेरिकी राज्यले लकडाउन खुकुलो पारेसँगै मानिसहरूले कोरोना रोकथामको सावधानी नअपनाई बाहिर घुम्दै गरेको पाइएको थियो ।

यस्तो अवस्थामा अमेरिकामा कोरोना संक्रमणको अवस्थालाई हेर्ने हो भने सरकारले एउटा कुरा भनिरहेको छ, विशेषज्ञहरू अर्कै कुरा भनिरहेका छन् र सर्वसाधारणले पनि यो महामारीलाई गम्भीरतापूर्वक लिएका छैनन् । जसका कारण कोरोना संक्रमण रोक्न कठिन भइरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment