Comments Add Comment

कोरोना संक्रमित भेटिएका उपत्यकाका ९ अस्पताल पुग्दा …

४ साउन, काठमाडौं । असार २३ गते भक्तपुर क्यान्सर अस्पतालका चार कर्मचारीसहित ९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । अस्पतालकै कर्मचारीमा संक्रमण भेटिनुको अर्थ अस्पताल असुरक्षित रहेको संकेत थियो ।

तर अस्पतालका कर्मचारी संक्रमित भएको न यो पहिलो घटना थियो, न अन्तिम नै रह्यो । पछिल्लो समय उपत्यकाका अधिकांश निजी तथा सरकारी अस्पताल कोभिड–१९ को संक्रमणबाट अछुतो छैनन् । उपचारका सिलसिलामा पुगेका बिरामीका साथै कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत संक्रमण भेटिएको छ ।

व्यवस्थापनमा चुस्त र कोभिड–१९ विरुद्ध प्रभावकारी तयारी गरिरहेको भनेका निजी अस्पतालमा समेत कर्मचारीलाई संक्रमण देखिएपछि मानिस अस्पताल जान डर मान्न थालेका छन् ।

उपत्यकाका अस्पतालहरूमा कसरी संक्रमण छिर्‍यो ? स्वास्थ्यकर्मी कसरी संक्रमित भए ? अहिले त्यहाँ कसरी उपचार भइरहेको छ ?

यस्तै प्रश्नहरूको जवाफ खोज्न हामीले उपत्यकाका ९ अस्पतालमा ग्राउण्ड जिरो रिपोर्टिङ गरेका छौं ।

अस्पताल नम्बर १ : अल्का

अस्पताल प्रशासनले अल्का बिल्डिङलाई ३ क्षेत्र (जोन)मा विभाजन गरेको छ । क्यान्टिन र पार्किङको क्षेत्र एल्लो, फार्मेसी क्षेत्र ग्रिन र इमर्जेन्सीको क्षेत्र रेड ।

अस्पताल प्रवेश गर्ने गेटमा रहेको स्क्रिनिङ क्याम्पमा दुई जना स्वास्थ्यकर्मी ड्युटीमा छन् । उनीहरूले मानिसहरू अस्पताल प्रवेश गर्नुअघि ज्वरो नाप्छन् । सोधपुछ गर्दा ज्वरो र शंकास्पद ट्राभल हिस्ट्री भेटिए फिभर क्लिनिकमा पठाउँछन् । लक्षणविहीन बिरामीहरू सम्बन्धित विभागमा गएर उपचार गराउँछन् ।

अल्का अस्पतालमा गएको १५ दिनमा ५ जना स्टाफ र २ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यति धेरै सुरक्षा सतर्कता अपनाउँदा पनि कसरी भेटिए त संक्रमित ?

अल्का अस्पतालको प्रशासन प्रमुख रोजिका प्रधानले संक्रमित भेटिनुको कथा सुनाइन् ।

असार १० गते नख्खुका १८ वर्षीय युवक अस्पताल पुगे । अस्पताल प्रवेश गर्नुअघि गेटमा स्क्रिनिङ गर्दा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण थिएन । शंकास्पद ट्राभल हिस्ट्री जानकारी गराएनन् । त्यसैले उनलाई ग्रिन कार्ड भिराएर जाँच गर्न पठाइयो । फिजिसियनले सोधपुछ गर्दा ज्वरो आएर पाटन अस्पताल गएको र पीसीआर टेस्टका लागि स्वाब दिएर ‘सेकेण्ड ओपिनियन’का लागि आएको बताए । त्यो सुनेर चिकित्सक झस्किए । पाटन अस्पतालमा सोधीखोजी भयो । पाटनले कोरोनाको शंकास्पद भन्दै होम आइसोलेसनका लागि पठाएको रहेछ ।

तर युवक ‘सेकेण्ड ओपिनियन’का लागि भन्दै अल्का पुगे ।

त्यसको भोलिपल्ट कोरोना परीक्षणको रिपोर्ट आयो, पोजेटिभ । लगतै अल्का अस्पतालको कोभिड–१९ टास्क फोर्सले कन्ट्याक ट्रेसिङको काम थाल्यो । स्क्रिनिङ, क्यास काउण्टर र स्वास्थ्यकर्मीसहित प्रत्यक्ष सम्पर्कमा आएका १० जनाको स्वाब झिकियो । उनीहरूमध्ये ओपीडीका दुई जना स्टाफको रिपोर्ट पोजेटिभ आयो ।

असार १० गते नै वीर अस्पतालबाट हेमोफेलियाको एक बिरामी अल्का अस्पताल रिफर भए । असार ७ गते इमर्जेन्सीमा भर्ना भएका उनको वीरमा उपचार हुन नसकेर अल्का सारिएको थियो । अल्का ल्याउँदा बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थिएन ।

रोजिका प्रधान

त्यसैले उनलाई जेनेरल वार्डमा नै राखियो, जहाँ अरू बिरामी पनि उपचाररत थिए । हेमोफेलियाको बिरामी भएकाले अस्पतालले भर्ना भएको ५ दिनपछि पीसीआर टेस्टका लागि स्वाब झिक्यो ।

१७ गते रिपोर्ट पोजेटिभ आयो । बिरामीलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा निःसंक्रमणसँगै कन्ट्याक ट्रेसिङको काम भयो । सीसीटीभी फुटेजको आधारमा कन्ट्याक ट्रेसिङ गर्दा ८५ जनासँग प्राइमरी कन्ट्याक भएको देखियो । उनीहरूमध्ये रेडियोलोजिस्ट, नर्स र यातायातका कर्मचारी गरी तीन जनामा कोभिड १९ पोजेटिभ देखियो ।

यसरी अन्य रोगको उपचार गराउन आएका २ जना बिरामी अस्पताल प्रवेश गर्दा ५ जना कर्मचारी संक्रमित भए।

संक्रमण लिएर आएका बिरामी पहिचान गर्न नसक्दा अल्का अस्पतालले केही दिन तनाव भोग्नुपर्‍यो । यो अस्पतालका लागि पाठ भयो । पहिलो केसमा बिरामीले वास्तविकता लुकाएका थिए भने दोस्रो केसमा बिरामी स्वयंलाई थाहा थिएन । दीर्घरोगीलाई उपचार गराउँदा अस्पतालले सुरुदेखि नै विशेष सावधानी नअपनाउने हो भने कोरोना संक्रमण फैलिन सक्छ भन्ने पाठ सिकायो ।

त्यसैले पहिलेभन्दा थप सतर्क भएर अस्पताल सञ्चालन गरिएको अस्पतालको प्रशासन प्रमुख प्रधान बताउँछिन् । उनका अनुसार अस्पताल पुग्नेहरूको स्क्रिनिङ गर्दा लक्षण भेटियो भने ‘रेड स्टिकर’ लगाइन्छ भने भिजिटरलाई ‘एल्लो’ र लक्षण नदेखिएकालाई ‘ग्रिन स्टिकर’ लगाएर सम्बन्धित विभागमा पठाइन्छ । ‘रेड स्टिकर’ लगाएकाहरूलाई छुट्टै बाटोबाट आइसोलेसनमा पठाइन्छ । फिभर क्लिनिकमा चिकित्सकहरूले ज्वरो तथा श्वासप्रश्वासको समस्या भए–नभएको जाँच गर्छन् । बिरामीको स्वास्थ्य अवस्था शंकास्पद लाग्यो भने आइसोलेसनमै राखेर स्वाब झिकिन्छ । कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो भने सरकारले तोकेका कोभिड–१९ अस्पतालमा पठाइन्छ भने नेगेटिभ आए सम्बन्धित विभागमा राखेर उपचार गरिन्छ ।

फिभर क्लिनिकका फिजिसियनले जाँच गर्दा सामान्य अवस्था पाइएका बिरामीलाई जनरल वार्डमा राखिन्छ । यो नियम अस्पतालमा भर्ना हुनुपर्ने बिरामीलाई मात्र हो ।

भर्ना गर्नुनपर्ने र कोरोनाको शंका नभएकाहरूले सम्बन्धित विभागको ओपीडीमा गएर सेवा लिएर फर्किन्छन् ।

‘यति धेरै तयारी व्यवस्थापन गर्दा पनि बिरामीले ढाँट्दा यहाँ संक्रमित भए,’ अल्का अस्पतालकी प्रशासन प्रमुख रोजिका भन्छिन्, ‘तर अस्पताल आउँदैमा संक्रमण सर्छ भनेर डराउनु पर्दैन ।’

अस्पताल नम्बर २ : बयोधा

अल्कापछि हामी बल्खुस्थित बयोधा अस्पताल पुग्यौं । जहाँ कार्यरत तीन कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।

तर अस्पतालको व्यवस्थापन अझै देखिएन ।

अस्पतालमा प्रवेश गर्ने गेट अगाडि स्क्रिनिङको लागि स्वास्थ्यकर्मी त राखिएको थियो तर मानिसहरू बेपरवाह आवतजावत गरिरहेका थिए । अस्पताल पुग्ने केहीको ज्वरो नापिन्थ्यो त केही त्यसै जान्थे । अस्पताल प्राङ्गणको साँघुरो ठाउँमा सेवाग्राहीबीच सामाजिक दुरी कायम भएको देखिएन ।

अनौठो त के भने अस्पतालका कार्यकारी निर्देशक डाक्टर रवि चौधरीले अस्पतालका स्वास्थ्यकर्मी, नर्स र हाउस किपिङका कर्मचारीलाई संक्रमण पुष्टि नभएको दाबी गरे । मिडियाले अनावश्यक समाचार लेखेर तनाव दिएको उनको गुनासो थियो ।

जबकि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले भन्छ, अस्पतालमा एक बिरामीमा संक्रमण पुष्टि भएको थियो । उनको प्रत्यक्ष सम्पर्कमा आएका १०० बढी कर्मचारीको परीक्षण गर्दा तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा दुई जना ओपीडीका स्टाफ थिए भने एक जना ल्याब टेक्निसियन ।

तर कोरोना संक्रमणको आशंकामा पीसीआर टेस्टका लागि स्वाब लिएपछि अस्पतालले कुनै पनि कर्मचारीलाई क्वारेन्टिनमा नराखेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयलले तयार गरेको मापदण्ड अनुसार कोरोनाको शंकास्पद मानेर पिसिआर गरेपछि होम क्वारेन्टिनमा बस्नुपर्छ । पीसीआरको नतिजा नआउञ्जेल अस्पतालले नै आफ्नो कर्मचारीलाई क्ववारेन्टिनमा राख्नुपर्छ । सबै कर्चारीलाई क्वारेण्टिनमा राख्न नसके होम क्ववारेन्टिनमा बस्नको लागि बिदा दिनुपर्छ तर, अस्पतालले न आफैंले क्वारेन्टिनमा राख्यो, न होम क्वारेन्टिनमा बस्न विदा दियो । १४ गते स्वाब झिकेपछि पनि सबै कर्मचारी घर र अस्पताल आउजाउ गरिरहे ।

उनीहरूलाई क्वारेन्टिनमा नराख्नु अस्पतालको गम्भीर गल्ती हो । घर आउजाउ गर्ने गरेका कर्मचारी, जसमा संक्रमण पुष्टि भयो, उनीहरूबाट अरूमा संक्रमण सरेको हुन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

अस्पताल नम्बर ३ : स्टार

सानेपास्थित स्टार अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार मात्र निर्देशिका विपरीत आफैँ स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्न अनुमति दिएको छ । अस्पताल छिर्नेबित्तिकै दायाँतिर स्क्रिनिङ क्याम्प राखिएको रहेछ तर त्यहाँ कर्मचारी थिएनन् । स्क्रिनिङ क्याम्पको नजिकै टेण्ट टाँगेर अस्थायी बेड र अक्सिजन सिलिण्डर राखिएको छ । त्यहाँ पनि कोही थिएनन् । अन्य अस्पतालको तुलनामा चहलपहल पनि कम देखियो ।


अस्पतालमा कार्यरत नर्स, सुरक्षा गार्ड र हाउस किपिङका एक-एक जनामा कमर्चारीलाई संक्रमण पुष्टि भएको छ । उनीहरूको संक्रमणको स्रोत त्यहीँ भर्ना भएका एक जना बिरामी थिए । १३ गते भर्ना भएका बिरामीको उपचारकै क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ पाएपछि क्लोज कन्ट्याकमा आएका १२ कर्मचारीको टेस्ट गरिएको थियो ।

अस्पतालका प्रवन्ध निर्देशक डाक्टर शैल रुपाखेतीका अनुसार अस्पतालमा कोरोना रेस्पोन्स टिम गठन गरिएको थियो भने चौथो तल्लामा आईसीयू र भेन्टिलेटर कक्ष छ । कोरोनाका शंकास्पद बिरामी आए सिधै आइसोलेसनमा राख्ने अस्पतालको नीति छ ।

जस्तो, कुनै अन्य रोग लिएका बिरामी उपचारको लागि अस्पताल पुग्छन् । अस्पताल पुग्नासाथ स्क्रिनिङ र फिभर क्लिनिक युनिटमा फिजिसियनले जाँच्छन् । जाँचपुछ पछि शंकास्पद लागे सिधै आइसोलेसनमा लगेर स्वाब झिकिन्छ भने सामान्य लागे सम्बन्धित वार्डमा लगिन्छ । प्रश्न स्वाभाविक उठ्छ, यति धेरै पूर्वतयारी र सावधानी अपनाउँदा अपनाउँदै कसरी सर्‍यो त अस्पतालका तीन जना कर्मचारीमा कोरोना ?

डा. रुपाखेतीका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि रौतहटबाट आएका युवकको अवस्था अत्यन्तै नाजुक थियो । ज्यान बचाउन हतारमा भेण्टिलेटरमा सारियो । यद्यपि चिकित्सकहरूले सुरक्षा सतर्कता अपनाएको भन्दै प्रवन्ध निर्देशक डा. रुपाखेती भन्छन्, ‘कतिपय अवस्थामा हामी सतर्क हुँदाहुँदै पनि सर्दोरहेछ । तर अहिले अस्पताल आउन नै डर मान्नुपर्ने अवस्था छैन ।’

अस्पताल नम्बर ४ : मेडिसिटी

अन्य अस्पतालभन्दा फराकिलो संरचना भएको मेडिसिटीमा इमर्जेन्सी र ओपीडी वार्डमा जान अहिले पुरानो बाटो प्रयोग हुन्न । त्यहाँ जाने हरेक बिरामीले स्क्रिनिङ युनिट र फिभर क्लिनिक पार गर्नुपर्छ ।

फिभर क्लिनिकमा ईसीजी र एक्सरे सेवाका साथै विशेषज्ञ डाक्टर हुन्छन् । फिभर क्लिनिकबाटै ओपीडी सेवा दिइने भएकाले भर्ना गर्ने बिरामीमात्र भित्र लगिन्छ । भर्ना गर्नु नपर्नेहरू फिभर क्लिनिकमै सम्बन्धित चिकित्सकसँग उपचार लिएर फर्किन्छन् ।

डाक्टर राज राणाका अनुसार अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आइसोलेसनमा राख्ने गरिएको छ । यसका लागि १२ वटा आइसोलेसन वार्ड छुट्याइएको छ । आकस्मिक अपरेसन गर्नुपरे सुरक्षा सतर्कताका साथ पीसीआर रिपोर्ट आउनुअघि नै गरिन्छ ।

‘शंकास्पद धेरै बिरामीको पीसीआर रिपोर्ट आउनुअघि शल्यक्रिया गरेका छौं,’ डा. राणा भन्छन्, ‘यहाँ क्रस इन्फेक्सनको डर छैन ।’

डा. राज राणा

गत असार १५ गते ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा साढे २ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । ललितपुर घर भएका उनको ट्राभल हिस्ट्री थिएन, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको रेकर्ड पनि छैन ।

संक्रमण पुष्टि हुनुअघि ती बालक ओपीडीमा थिए । कोरोना संक्रमणको लक्षण पनि थिएन । शल्यक्रिया गर्नुपर्ने भएकाले पीसीआर टेस्ट गर्न स्वाब झिकियो । उनमा कोरोना संक्रमण पुष्टि भयो । यो मेडिसिटीमा भेटिएको पहिलो केस थियो ।

त्यसपछि मेडिसिटीमा भर्ना भएका बिरामी र अस्पतालका कमर्चारीमा संक्रमण पुष्टि भएको छैन । मेडिसिटीका चिकित्सक डाक्टर राणाका अनुसार दैनिक १० जनाभन्दा बढी बिरामीको कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरेर पठाइन्छ ।

अस्पताल नम्बर ५ : ह्याम्स

धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुग्ने जोकोहीलाई अस्पतालमा प्रवेश गर्नुअघि ज्वरो नापिन्छ । साधारण सोधपुछपछि ‘ज्वरो नआएको’ बुझाउने स्टिकर टासेर भित्र पठाइन्छ । अस्पतालमा ‘इन्फेक्सन प्रिभेन्सन’को छुट्टै टिम छ । कोभिड–१९ व्यवस्थापनसम्बन्धी आफ्नो छुट्टै प्रोटोकल छ । जसअनुसार शंकास्पद बिरामीलाई फिभर क्लिनकमा जाँचेपछि सिधै आइसोलेसनमा राखिन्छ ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माका अनुसार जेठ २३ गते अस्पतालमा उपचाररत २ जना बिरामीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । दीर्घरोगीसमेत रहेका उनीहरू गुल्मी र कास्कीका थिए । कास्कीका बिरामीलाई हेलिकप्टरबाट ल्याइएको थियो । उनलाई बेहोस अवस्थामा भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूले ‘लेभल थ्री’ पीपीई लगाएका थिए । बिरामीको स्वास्थ्यमा सुधार भएर होस आएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर उपचारमा संलग्न कोही पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संक्रमण देखिएन ।

संक्रमण पुष्टि भएका दोस्रा व्यक्ति पिसाबमा ‘इन्फेक्सन’ भएर अस्पताल पुगेका थिए । उनको लामो ‘ट्राभल हिस्ट्री’ भएकाले स्वाब झिकेर इमर्जेन्सीमा उपचार गरिएको थियो । तर पिसाबको संक्रमण निको भएर घर पुगेपछि अर्थात् स्वाब पठाएको सात दिनपछि पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

डा. ज्योतिन्द्र शर्मा

तर पछिल्लो पटक अस्पतालका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रामक रोग विशेषज्ञहरू भएको र कोभिड–१९ व्यवस्थापनमा अब्बल भनिएको यो अस्पतालका कर्मचारी कसरी संक्रमित भए त ?

डाक्टर शर्माका अनुसार उपत्यकाबाहिर दुर्घटनामा परेर आएका बिरामीको दुर्घटना हुनुअघि गरिएको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसैले नयाँ बिरामी आउँदाजस्तो सतर्कता नअपनाइएको हुन सक्छ । बिरामीमा संक्रमण पुष्टि भएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएका १२ जनाको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ देखियो ।

यो पनि पढ्नुहोस उपत्यकाका ९ अस्पताल पुग्दा…

अस्पतालमा कोरोना संक्रमण भएका नेपाल वायुसेवा निगमका १४ कर्मचारीलाई राखियो । बलम्बुस्थित एपीएफ अस्पतालको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका उनीहरूलाई ह्याम्समा सारिएको थियो ।

सरकारी निर्देशिकाअनुसार निजी अस्पतालमा कोरोनाको उपचार गर्न नमिल्ने भए पनि स्वास्थ्य मन्त्रालयले पत्र ल्याएर निगमका कर्मचारीलाई त्यहाँ राखिएको थियो । तर उपचार खर्च महँगो भन्दै फेरि सोल्टी होटलमा सारिएको छ ।

अस्पतालमा शंकास्पद बिरामी राख्ने तथा शल्यक्रिया गर्ने विभाग छुट्टै तयार गरिएकाले संक्रमितसँग ‘एक्सपोज’ हुने सम्भावना नहुने डाक्टर शर्माले बताए । उनका अनुसार शंकास्पद बिरामीलाई स्क्रिनिङ, फिभर क्लिनिक र आइसोलेसनमा पुर्‍याएपछि त्यसमा संग्लग्न कर्मचारी र बिरामी हिँडाएको बाटो पनि ‘डिसइन्फेक्ट’ गरिन्छ ।

‘बरु तरकारी पसलबाट संक्रमण सर्ला तर अस्पतालबाट सर्दैन,’ डाक्टर शर्मा भन्छन्, ‘उपचारका लागि अस्पताल आउन डराउनु पर्दैन ।’

अस्पताल नम्बर ६ : गंगालाल

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा प्रवेश गर्न अहिले इमर्जेन्सी विभागको गेट मात्र प्रयोग हुन्छ । त्यही गेटमा हरेकको ज्वरो नापिन्छ ।

हामी पुग्दा एम्बुलेन्समा बिरामी ल्याइएको थियो । उनलाई पहिले स्क्रिनिङ युनिटमा लगियो । त्यहाँ ड्युटीमा खटिएकी एक नर्सले बिरामीको शरीरको तापक्रम र ब्लड प्रेसर नापिन्, बिरामीको स्वास्थ्य अवस्था र ट्राभल हिस्ट्रीको रेकर्ड राखिन् । पहिले उपचार गरिएको रिपोर्ट कार्ड र औषधिको अपडेट लिइन् । त्यसपछि बल्ल इमर्जेन्सी वार्डमा लैजान अनुमति दिइन् । उनका अनुसार बिरामीलाई ज्वरो आएको वा संक्रमण फैलिएको क्षेत्रबाट आएको भए छुट्टै आइसोलेसनमा पठाइन्थ्यो, पीसीआर टेस्टका लागि स्वाब लिएर मात्र उपचार गरिन्थ्यो ।

स्क्रिनिङ युनिट नजिकै एउटा बेड छ, जसमा अक्सिजन सिलिण्डरसमेत तयारी अवस्थामा छ । इमर्जेन्सी अवस्थाका बिरामी आउँदा त्यही राख्ने गरिएको छ । स्क्रिनिङ युनिटको ड्युटीमा खटिएकी एक नर्सका अनुसार कतिपय अवस्थामा बिरामीहरू ‘चेस्ट पेन’ भएर आउँछन् । उनीहरूलाई आकस्मिक उपचार आवश्यक पर्छ । उनीहरूलाई स्क्रिनिङ नगरी सिधै भित्र पठाउँदा संक्रमण रहेछ भने अरूमा सर्नसक्छ । त्यसैले स्क्रिनिङ युनिट नजिकै तयार पारिएको बेडमा ईसीजीसमेत गर्न मिल्ने व्यवस्था गरिएको छ ।

डा. चन्द्रमणि अधिकारी

यति हुँदाहुँदै असार २३ गते अस्पतालमा उपचाररत सात जना बिरामीमा कोरोना संक्रमण देखियो भने गंगालालबाट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिएको एक बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भयो । कसरी त ?

अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीका अनुसार संक्रमण पुष्टि भएका सातै जना कोरोनाको लक्षण लिएर अस्पताल पुगेका थिएनन् । शंकास्पद ट्राभल हिस्ट्री पनि थिएन । दीर्घरोगी भएकै कारण उनीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । साथै, नयाँ भर्ना हुने बिरामीलाई छुट्टै राख्ने व्यवस्था थिएन । हरेक दिन थपिने नयाँ बिरामी एउटै वार्डमा हुन्थे । उनीहरूमध्ये कोही संक्रमित भएको र अरूलाई सरेको अस्पतालको निष्कर्ष छ ।

सात संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा ३ सय जनाको परीक्षण गरियो तर दुई सेक्युरिटी गार्डबाहेक अरू कर्मचारीलाई संक्रमण नदेखिएको डाक्टर अधिकारीले बताए ।

अहिले हरेक दिन भर्ना हुने बिरामीलाई छुट्टै व्यवस्था मिलाइएको छ । यसले लक्षण नभएका कोही संक्रमित रहेछन् भने पनि अरूलाई सर्ने सम्भावना कम हुन्छ । गंगालाल अस्पतालमा कोभिड–१९ को डरले कुनै पनि आकस्मिक शल्यक्रिया रोकिएको छैन । शंकास्पद बिरामीको पीसीआरको रिपोर्ट ढिलो आउँदा पनि चिकित्सकहरूले सावधानी अपनाएर शल्यक्रिया गर्छन् । डाक्टर अधिकारी भन्छन्, ‘अस्पतालबाट कोरोना सर्छ भनेर डराउनु पर्ने अवस्था छैन ।’

अस्पताल नम्बर ७ : किस्ट

ललितपुर ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा पनि बिरामी भर्ना प्रकिया अरू अस्पतालको भन्दा फरक छैन । स्क्रिनिङ, फिभर क्लिनिक र आइसोलेसनको मापदण्ड अरू अस्पतालको जस्तै छ । तर काठमाडौं उपत्यकामा पहिलो कोभिड–१९ संक्रमितको मृत्यु यही किस्ट अस्पतालमा भएको थियो । अल्कोहलिक लिभर डिजिज भएर अस्पताल पुगेका ५७ वर्षका पुरुषको मृत्युपछि कोरोना पोजेटिभ आएको थियो । यो जेठ १४ गतेको घटना हो ।

पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि उपत्यकावासीमा समेत त्रास बढेको थियो । त्यो बेला अस्पतालको अवस्था कस्तो थियो होला?

अस्पतालका अपरेटिङ अफिसर अमिस पाठकका अनुसार मृतक नै अस्पतालले फेस गरेको पहिलो संक्रमण थियो । यद्यपि, अस्पतालले त्यसअघि नै कोभिड प्रोटोकल, रेस्पोन्स टिम बनाइसकेको थियो । बिरामीको मृत्यु हुनासाथ सोही टिमले शवलाई व्यवस्थित गरेर शवगृहमा राख्यो । पूरै अस्पताल निःसंक्रमण गर्‍यो ।

साँझ ७ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आउँदा केही कर्मचारीहरू घर गइसकेका थिए । उनीहरूलाई सम्पर्क गरेर होम आइसोलेसनमा बस्न भनियो । कन्ट्याक ट्रेसिङका क्रममा मृतकको प्राइमरी कन्ट्याकमा ५१ जना आएको खुल्यो । तर उनीहरूमध्ये कसैलाई पनि संक्रमण देखिएन ।

अमिस पाठक

अस्पतालमा एक सुत्केरीलाई पनि संक्रमण देखियो । कोरोनाको कुनै लक्षण नभएकी महिलामा संक्रमण पुष्टि हुँदा उनी घर गएको दुई दिन भइसकेको थियो । किनकि पीसीआर टेस्टका लागि स्वाब दिएको ८ दिनपछि मात्र रिपोर्ट आएको थियो । यद्यपि, उनको कन्ट्याक ट्रेसिङ गरियो र प्रत्यक्ष सम्पर्कमा आएका ५० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएन ।

अस्पतालले अहिलेसम्म अन्य रोग लिएर उपचार गराउन आएका २५३ जनामा कोरोनाको शंका गरेर पीसीआर जाँच गराएको छ । उनीहरूमध्ये ९ जनामा संक्रमण पुष्टि भयो । उनीहरूमध्ये अधिकांश ललितपुर क्षेत्रका थिए ।

तर अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छैन ।

‘हाम्रोमा अन्य रोग लिएर उपचार गराउन आएकाहरू मात्र संक्रमित भएका हुन्,’ पाठक भन्छन्, ‘अहिलेसम्म कुनै पनि कर्मचारी संक्रमित नहुनुले हाम्रो सुरक्षा सतर्कता झल्काउँछ ।’

पाठकका अनुसार किस्ट अस्पतालमा कोरोनाका शंकास्पद बिरामी राख्नलाई ७ वडा इमर्जेन्सी बेड छन् । ४० वटा आइसोलेसन बेड छन् भने आईसीयू २२ वटा ।

 

‘कोरोना संक्रमण भएका बिरामीको मृत्यु हुँदा पनि हामीले अस्पतालको सेवा रोकेनौं,’ पाठक भन्छन्, ‘उपचारका लागि अस्पताल आउन डराउनु पर्दैन ।’

अस्पताल नम्बर ८ : केएमसी

सिनामंगलस्थित केएमसी अस्पतालको गेटमा नै पीपीई लगाएका सुरक्षा गार्ड बस्छन् । फेस सिल्डले अनुहार छोपेका उनीहरूको हातमा सर्जिकल ग्लोब्स हुन्छ । अस्पतालमा प्रवेश गर्ने हरेक बिरामीलाई उनीहरूले नै ज्वरो नाप्छन् । तर अस्पताल गेटको देब्रेतिर बनाइएको स्क्रिनिङ क्याम्प र फिभर क्लिनिकमा चार जना मानिस उभिए भने सामाजिक दुरी कायम गर्न हम्मेहम्मे पर्छ ।

हामी पुग्दा अस्पतालको फिभर क्लिनिकमा एक जना बिरामीको स्वास्थ्य जाँच भइरहेको थियो । शंकास्पद भएकाले उनलाई फिभर क्लिनिकमा राखिएको थियो ।

केएमसीले कोरोना संक्रमितलाई दुवाकोटस्थित मेडिकल कलेजमा राख्ने गरेको छ । सिनामंगलस्थित अस्पतालको फिभर क्लिनिकमा जाँच गर्दा शंकास्पद देखिए उतै पठाइन्छ । त्यसैले अस्पतालभित्रै संक्रमण पुष्टि भएको केस धेरै छैन ।

तर असार २७ गते अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमणको पुष्टि भयो । ५४ वर्षीय मृतक मिर्गौलाका बिरामी थिए ।

अस्पताल नम्बर ९ : ग्राण्डी

ग्राण्डी अस्पताल र अन्य अस्पतालको स्क्रिनिङ तथा फिभर क्लिनिकको व्यवस्थापन उस्तै छ । अस्पतालको प्राङ्गणमै अस्थायी विशेष जाँच कक्ष राखिएको छ । नजिकै स्वाब झिक्ने स्टेसन बनाइएको छ ।

तर हामी पुग्दा विशेष जाँच कक्ष बन्द थियो । अस्पताल प्रवेश गर्ने हरेकको गेटमा रहेका स्वास्थ्यकर्मीहरूले ज्वरो नापिरहेका थिए । स्क्रिनिङबाट शंकास्पद बिरामी पहिचान भएमात्र फिभर क्लिनिक खुलाउने स्क्रिनिङमा खटिएकी एक नर्सले बताइन् ।

जेठ १० गते अस्पतालमा कार्यरत एक ननमेडिकल स्टाफलाई संक्रमण पुष्टि भएको थियो । काठमाडौं गोकर्णका उनको ट्राभल हिस्ट्री थिएन, संक्रमणको स्रोत पनि पत्ता लागेन ।

त्यसयता भर्ना भएका बिरामी तथा कर्मचारीमा संक्रमण पुष्टि नभएको अस्पतालको दाबी छ । तर अस्पताल स्रोतका अनुसार ग्राण्डीमा उपचाररत एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment