Comments Add Comment

नाला मिचेर संरचना निर्माण, सफाइ नहुँदा बर्सेनि डुब्छ वीरगञ्ज महानगर

वीरगञ्जको मुख्य नाला सफा गरिँदै

८ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १० र ६ नं. वडाको बीचमा मुख्य नाला जाम भएपछि वर्षायाममा परेको पानीले निकास पाएन । स्थानीयका घर र आदर्शनगरका पसल डुबानमा परे । डुबानबाट हैरान भएपछि स्थानीय ४२ जनाले साउन १ गते वीरगञ्ज महानगरपालिकालाई संयुक्त पत्र लेखेर नाला सफा गर्न आग्रह गरे । पत्रमा वीरगञ्ज–१० आदर्शनगरस्थित क्लासिक होटल पछाडि नाला जाम भएको र वर्षाको पानी बग्न नपाउँदा घर तथा पसल डुबानमा परेको उल्लेख छ ।

तर स्थानीयले गुनासो गरेको एक साता वितिसक्दा पनि महानगरपालिकाले समस्या समाधानका लागि आवश्यक कदम चाल्न सकेको छैन । वैभव इम्पेक्सका सञ्चालक श्याम किशोर गिरी मुख्य नाला बेलैमा सफा नगरिदिँदा बर्सेनि डुबानमा हुने गरेको बताउँछन् ।

आदर्शनगरकै सुमन कुमार गुप्ताको घर मुख्य नाला छेउमा पर्छ । यसपालिको वर्षामा पनि उनको घरमा पटक–पटक पानी छिरिसकेको छ ।

‘मुख्य नालाको छेउमै घर छ । धेरै लामखुट्टे लाग्छ, फोहोर थुप्रिएर दुर्गन्ध आउँछ,’ उनले भने, ‘फोहोर र माटो भरिएर नाला जाम हुन्छ, तर महानगरपालिकाले सरसफाइ गर्दैन ।’

नालामाथि नै संरचना, सफाइमा अवरोध

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बग्छ । राम्रोसँग पानी बग्न नपाउँदा वर्षामा जिल्ला प्रशासन कार्यालय र आसपासको क्षेत्र पनि डुबानमा पर्छ ।

मुख्य नालामा समस्या बढी भएको क्षेत्र वडा नं ६, ९ र १० पर्छ । ती क्षेत्रमा नालामाथि संरचना बनाउने, पार्किङ स्थलको रुपमा प्रयोग गर्ने जस्ता समस्या देखिएको छ । नालामा झाडी फैलिएको छ । अझै दक्षिणतिर जाँदा नाला अन्डरग्राउन्ड छ । नालामाथि कतिपयले संरचना नै बनाएका छन् । गीता मन्दिरदेखि आदर्शनगरसम्म दर्जनभन्दा बढी घरले नाला मिचेको स्थानीय बताउँछन् ।

‘नालामा पार्किङ स्थल बनाइएको छ, बाउन्डरी वाल लगाइएको छ, कतिपयले त नालामाथि घर नै बनाएका छन्,’ एक स्थानीयले भने, ‘सबै पहुँचवाला भएकाले कसैले केही गर्न नसकेको अवस्था छ ।’

नाला मिच्नेमध्येको एक हो राधादेवी मेमोरियल स्कुल । स्कुलले नाला च्यापेर पर्खाल उठाएको छ । जसका कारण नाला स्कुलभित्र परेको छ । तर स्कुलले नाला सफा गर्न दिएको छैन । त्यसैले ६ नम्बर वडा कार्यालयले स्कुललाई पत्र नै लेखेर जाम भइसकेको नाला सफा गर्न भनेको छ ।

यसैगरी वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास भित्रबाट पनि नाला गएको छ । दूतावासले अनुमति नदिएकाले त्यहाँ पनि सफाइ हुन सकेको छैन । दूतावासले सफाइ गर्ने वाचा गरे पनि अहिलेसम्म गरेको छैन ।

अवरोध नभएका ठाउँमा भने जनशक्ति र मेसिनको मद्दतले नाला सफाइ भइरहेको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत स्वच्छ तथा व्यवस्थित वीरगञ्ज अभियानमार्फत् साउन ६ गते मुख्य नाला सफा गरिएको थियो । एसपी गंगा पन्तले बन्दोबस्त मिलाएका दुईवटा जेसीबीको सहयोगमा नेपाल टेलिकम क्षेत्रिय कार्यालय र एसबीआई बैंक अगाडि पुरिएको नाला पुनः खोल्ने काम भएको छ ।

तर साउन ६ गते वीरगञ्ज–६ स्थित राधादेवी मेमोरियल स्कुल अगाडि पुगेपछि नाला सफाइको काम अघि बढ्न सकेन । स्कुलले नाला सफा गर्न नै दिएन । यो कुराको जानकारी अभियानले वडा कार्यालयलाई गरायो । वडा कार्यालयले नाला सफा गर्न दिनू भनी स्कुललाई मंगलबार पत्राचार गरेको छ ।

वडा अध्यक्ष ध्रुव नेपालले जारी गरेको पत्र ग्रिनसिटी सामुदायिक आदर्शनगरलाई पनि बोधार्थ दिइएको छ । तर विद्यालयले पत्र बुझ्न नमानेको ग्रिनसिटी सामुदायिकका अध्यक्ष एवं अभियानका सदस्य प्रकाश खेतान बताउँछन् ।

‘नालामाथि संरचना बनाउने र नाला सफा गर्न जाँदा विरोध गर्ने । अनि वडा कार्यालयबाट पठाएको पत्र बुझ्न नमान्ने समस्या देखिएको छ,’ अध्यक्ष खेतानले भने, ‘कसरी हुन्छ समस्या समाधान गर्ने प्रयासमा छौं ।’

‘अटेर गरे कारबाहीमा जानुपर्छ’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापा समयमै मुख्य नाला सफा गर्दा केही हदसम्म वीरगञ्जको डुबानको समस्या हल हुने बताउँछन् ।

‘नालाको वास्तविक क्षेत्रफल कति हो ? त्यो थाहा हुन सकेन । कतै सानो छ, कतै ठूलो छ । फोहोर अड्किएको छ । घाँसपात उम्रिएको छ,’ आफैं नाला सफा गराउँदै हिँडेका उनले भने, ‘आसपासका घरधनीहरु मिलेर सफा गराउँदा पनि हुने हो । तर गराइएको रहेनछ । डोजर जाने ठाउँमा त हामीले सफा गराएका हौं । तर संरचना नै बनाइदिएको रहेछ । ती ठाउँमा केही गर्न सकेनौं ।’

वडा नं. ६ का अध्यक्ष ध्रुव नेपाल नालामाथि संरचना बनाइए पनि सीधै गएर तोडफोड गर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘चिठ्ठी पठाइएको छ तर बुझ्न मानेको छैन । पहिला गएर सम्झाउनुपर्छ, निश्चित म्याद दिनुपर्छ,’ उनले भने, ‘अटेर गर्छन् भने कारबाहीमा जानुपर्छ ।’

वडा नं. ९ का अध्यक्ष मनोज कलवार कसरी समस्या समाधान गर्ने भन्नेबारेमा छलफल भइरहेको बताउँछन् । ‘चुनाव अघि नै कतिपय ठाउँमा ढलान गरिएको रहेछ । नालामाथि ढलान गरिएपछि सफा गर्न गाह्रो हुने रहेछ । पटक–पटक एक्साभेटर लगेर त्यसै फिर्ता ल्याएका छौं,’ उनले भने, ‘नाला खुल्ला हुँदा पानी सहज बग्ने तर अण्डरग्राउन्ड हुँदा फोहोर र माटो थुप्रिएर समस्या हुने गरेको देखियो । समस्याको समाधान कसरी गर्ने भन्नेबारे नगर प्रमुखसँग पनि कुराकानी गरेको छु ।’

लाठगल्लीमा गएपछि नाला साँघुरो भएकाले पनि समस्या बढ्दै गएको उनी बताउँछन् । लाठगल्लीमा पुगेपछि मुख्य नालालाई पश्चिमतर्फ फर्काएर आदर्शनगर हुँदै सिर्सिया नदीमा खसालिएको छ । मुख्य नाला दक्षिणतर्फ गएर छपकैयातिर पुगेपछि पनि सिर्सिया नदीमा मिसिन्छ ।

नदीबाट फर्किन्छ पानी, अनि डुब्छ शहर

एशियाली विकास बैंक, नगर विकास कोष, महानगरपालिकाको साझेदारीमा वीरगञ्जमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना (एसटीआईयूईआईपी) पनि सञ्चालन भयो । त्यसमा झण्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ । परियोजनामा लापरबाही भएकै कारण आदर्शनगर लगायत क्षेत्रमा डुबान समस्या समाधान नभएको आरोप नगरबासीले लगाउने गरेका छन् ।

तर परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठ विज्ञकै सुझावका आधारमा मुख्य नालाको पानी लाठगल्लीबाट आधा तानेर सिर्सियामा खसाइएको बताउँछन् ।

मुख्य नाला क्लासिक होटल, वाणिज्य बैंकको पछाडि केडिया फूलबारी, हरिखेतान क्याम्पस, भगवती टोल हुँदै झण्डै ५ किलोमिटर बगेपछि मात्रै सिर्सिया नदीमा पुग्छ । ‘वर्षामा लामो समयसम्म नाला नदीमा जान नपाउँदा डुबान बढ्छ भनेरै विज्ञको सल्लाहमा लाठ गल्लीबाट पानी तानेर ठाकुरराम क्याम्पस हुँदै सिर्सियामा खसाएका हौं,’ श्रेष्ठले भने, ‘पानी शहरभित्र नपसोस् भनेरै त्यसो गरिएको हो तर नदीमा पानीको सतह बढ्दा पानी रिभर्स भएर वीरगन्ज महानगरमा डुबानको समस्या भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment