Comments Add Comment

दोस्रो त्रैमासमा पनि खुम्चियो दक्षिण कोरियाको अर्थतन्त्र

८ साउन, काठमाडौं । दक्षिण कोरियाको अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२० को दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ९ प्रतिशतले खुम्चिएको हो । दक्षिण कोरियाको अर्थतन्त्रमा सन् १९९८ पछि पहिलोपटक यति ठूलो गिरावट देखिएको हो ।

दक्षिण कोरियाको अर्थतन्त्रको करिब ४० प्रतिशतको हिस्सा ओगटेको निर्यात पनि उक्त तीन महिनाको अवधिमा सन् १९६३ यताकै सबैभन्दा ठूलो गिरावटमा परेको छ । यसअघि जापान र सिंगापुरको अर्थतन्त्र पनि निरन्तर दोस्रो त्रैमासमा घटेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको थियो । यद्यपि दक्षिण कोरियाका अर्थमन्त्री होङ नाम–किले आगामी दिनमा दक्षिण कोरियाको अर्थतन्त्रमा सुधार आउन सक्ने बताएका छन् ।

‘तेस्रो त्रैमासमा महामारीको असर कम हुँदै जान्छ र उत्पादनको गतिविधिमा वृद्धि, विद्यालय र अस्पताल खुलेसँगै हाम्रो अर्थतन्त्रमा चीनको शैलीमा सुधार आउन सक्छ,’ उनले भने ।

अहिलेसम्म महामारीको असर कम गर्न दक्षिण कोरियाले दुई खर्ब ३१ अर्ब डलर बराबरको राहत प्याकेज ल्याइसकेको छ । यद्यपि व्यापारमा निर्भर अर्थतन्त्रको लागि निर्यातमा भने निकै कम नियन्त्रण कायम हुने अधिकारीहरुले बताएका छन् ।

एसियाक्षेत्रका अन्य मुलुकहरुमा पनि महामारीको असर देखिन सुरु गरेको छ । यसैबीच अस्ट्रेलियाले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो बजेट घाटा देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ । अस्ट्रेलियाले गत जुनमा सकिएको आर्थिक वर्षमा ६१ अर्ब ३० करोड बजेट घाटा भएको तथ्यांक सार्वजनिक गरेको हो । यो आर्थिक वर्षमा अस्ट्रेलियाको बजेट घाटा अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

गत मे महिनामा जापानले पनि सन् २०१५ पछि पहिलोपटक अर्थतन्त्रमा लगातार दोस्रोपटक गिरावट आएको बताएको थियो । सन् २०२० को सुरुवाती तीन महिनामा जापानको अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा चीन दशमलव ४ प्रतिशतले खुम्चिएको थियो ।

गत साता सिंगापुरले पनि निरन्तर दोस्रो त्रैमासमा अर्थतन्त्रमा गिरावट आएको तथ्याङ्क सार्वजनिक गरेको थियो । यस वर्षको दोस्रो त्रैमासमा सिंगापुरको अर्थतन्त्र गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशत घटेको थियो ।

यद्यपि गत साता चीनले भने अर्थतन्त्रबारे सकारात्मक तथ्यांक सार्वजनिक गरेको थियो । चीनको अर्थतन्त्र यस वर्षको दोस्रो त्रैमासमा तीन दशमलव २ प्रतिशत बढेको थियो । वर्षको सुरुवाती तीन महिनामा भने चीनको अर्थतन्त्रमा गिरावट देखिएको थियो ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment