Comments Add Comment

अर्थमन्त्रीले भने-आर्थिक वृद्धि ७ प्रतिशत, २.१ प्रतिशत मात्रै-विश्व बैंक

८ साउन, काठमाडौं ।बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ भर्चुअल सेमिनारमा सार्वजनिक गरे । यो प्रतिवेदनमा विश्व बैंकले सन् २०२१ (२०७७/७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ ।

तर, यही प्रतिवेदन सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने रटान दोहोर्‍याए । विश्व बैंकले यसअघि नै २.१ प्रतिशतको वृद्धि हात पर्ने अनुमान सार्वजनिक गरिसकेको थियो ।

बिहीबार पनि नेपाल सरकार र विकास साझेदार संस्था विश्व बैंकले आर्थिक वृद्धिका लागि आ-आफ्नो दावी पुनः दोहोर्‍याएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ बजेटमा नै ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

विश्व बैंकले गरेको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणमा सरकारले ल्याएको प्याकेजहरुका कारण अर्थतन्त्र छिट्टै पुनरुत्थान हुने दावी गरे ।

यता, विश्व बैंकले भने उद्योग, पर्यटनलगायत क्षेत्र बढी प्रभावित रहेको भन्दै आर्थिक वृद्धि प्रभावित हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा सरकारको खर्चमा सुधार हुने, वैदेशिक व्यापारमा हुने सुधार, मुलुकभित्र बढ्ने आर्थिक गतिविधिका कारण राजस्व संकलनमा हुने सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्व बैंकको अनुमान रहेको छ ।

यसबाहेक कोभिड-१९ को असर न्यूनीकरणमा चालिएका कदमको सकारात्मक प्रभाव समेत यस वर्ष देखिन जाँदा आर्थिक गतिविधिमा अगाडि बढ्ने प्रक्षेपण गरिएको छ ।

गत आवमा १.८ प्रतिशत आर्थिक वृद्धिदर

आर्थिक वर्ष २०७६/७७ (२०२०) मा भने विश्व बैंक र सरकारको अनुमान करिव नजिक नजिक देखिएको छ । उक्त आवमा सरकारले २.३ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेकोमा विश्व बैंकले यस वर्ष १.८ प्रतिशतको वृद्धि अनुमान गरेको छ ।

अघिल्लो तीन आर्थिक वर्ष लगातार ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरेको नेपालले यस वर्ष भने कोरोना भाइरसको प्रभावले नराम्रो झट्का बेहोर्नुपरेको हो ।

पछिल्लो तीन वर्ष (सन् २०१९, २०१८ र २०१७) मा नेपालको आर्थिक वृद्धि क्रमशः ७, ६.७ र ८.२ प्रतिशत रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

मुद्रास्फिति लगातार बढ्ने

कोरोना भाइरसबाट माथि उठ्दै गरेको अवस्थामा मूद्रास्फिति भने क्रमशः उकालो लाग्ने देखिएको छ । यद्यपी यसको प्रतिशतमा मात्र भने करिव उस्तै उस्तै रहनेछ । विश्व बैंकका अनुसार चालु आवमा ६.७ प्रतिशतको मुद्रास्फिति कायम रहने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा. खतिवडा भने मुद्रास्थिति ६ प्रतिशतको हाराहारी मै रहने बताउँछन् । विश्व बैंकका अनुसार गत आव २०७६/७७ (२०२०)मा मुद्रास्फिति ६.६ प्रतिशत रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

यसअघि अघिल्लो तीन आर्थिक वर्षमा भने क्रमशः ४.६, ४.२ र ४.५ प्रतिशतको मुद्रास्फिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment