Comments Add Comment

‘बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो’

९ साउन, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका-७ मल्मका लक्ष्मण सुनारको वाचा थियो- छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्‍यो । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए ।

फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो ।

परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा छन् ।

‘म पनि भारतमा थिएँ, तीन/चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो’, २१ वर्षीय दिनेशले भने, ‘हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।’ १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बसेका छन् । आमा सीमा ज्यालादारी काम र घरखर्च चलाउँछिन् ।

लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो-मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान-बेलुकीको निर्वाहसम्म हुँदैन । ‘बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ’, दिनेशले भने ।

दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा थिए । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उनी घर फर्किएका थिए । लक्ष्मण रोजगारीका लागि सूरुमा कुवेत र त्यसपछि साउदी अरब गएको थियो । उनमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताए । ‘त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो’, दिनेशले भने । विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील थिए ।

‘एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे’, वडाध्यक्ष टीकाबहादुर थापाले भने, ‘डोका, नाम्ला बुन्ने सीप पनि थियो ।’ वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताए । दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उनको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् ।

घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ ।

पीडामाथि पीडा

लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ । सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताए । ‘घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ’, उनले भने ।

वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ । छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment