Comments Add Comment

सप्तरीमा विष सेवन गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

९ साउन, सप्तरी । सप्तरीमा विष सेवनपछि अस्पतालमा उपचारका लागि ल्याएका एक व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई दिनअघि बुधबार अस्पताल भर्ना भएका ती पुरुषको तत्कालै स्वाब लिएर परीक्षण गरिएको थियो । उनको रिपोर्ट शुक्रबार आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । ती पुरुषको आकस्मिक कक्षमा उपचार भइरहेको उनले बताए ।

अस्पताल प्रवेशमा निषेध

अस्पतालमा उपचाररत ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा प्रवेश निषेध गरिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सक, कुरुवासहितका अन्य व्यक्तिहरुको पहिचान गर्न १२ बजे रातिसम्मका लागि अस्पताल परिसरमा प्रवेश निषेध गरिएको डा. झाले बताए ।

योसँगै शुक्रबारसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment