+
+

नेकपाको समस्या र इतिहासको पाठ

युवराज चौंलागाई युवराज चौंलागाई
२०७७ साउन ११ गते १४:४५

आजको नेपालको राजनीतिक सत्ता तनावको बीचबाट गुज्रिरहेको देखिएको छ । यसमा नयाँ विषय पक्कै छन् । तर, मुलुकका लागि यो अवस्था नयाँ भने होइन । विगतमा पनि यस्तो हुँदै आएको थियो । तसर्थ, यो विगतबाट पाठ सिक्न नसकेको विषय हो । यसमा पुराना कुराहरुको निरन्तरता मात्रै छैन, केही नयाँ विषयहरुमा मिसिएका छन् ।

तीन मुख्य समस्या

मुख्यरुपमा तीन वटा समस्याहरु समाधान गर्न नसक्दा आज सरकारमाथि संकट बढेको र प्रश्न उठेको स्थिति छ ।

पहिलो समस्या, राजनीतिक दलबाट जन्मिएको सरकारले आफ्नो दलभित्रका नेतृत्व तहका प्रवृत्तिहरुको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यो कुरामा सरकारको नेतृत्व चुकेको छ । अहिलेको अवस्थामा सरकार राजनीतिक दलबाट फर्मेशन भएर आउँछ । कानुनी रुपमा त्यसले कहाँबाट वैधता प्राप्त गर्दछ भन्ने कुरा आफ्नै ठाउँमा छ, तर सरकारको उदय राजनीतिक दलहरुबाट हुने भएकाले दलभित्रको व्यवस्थापन सरकारका लागि महत्वपूर्ण विषय हो । पहिलो संकट त्यहाँबाट आएको हो ।

दोस्रोे– सत्ता र जनताबीचको सम्बन्धको कुरा हो । वर्तमानमा त्यो सम्बन्ध त्यति राम्रोसँग सञ्चालन हुन सकेको छैन । किनभने, सरकार भनेको जनतालाई शासन गर्ने वैधानिक अंग हो । तर, सरकार बनाउने राजनीतिक दल भनेको जनताको अंग हो । त्यसकारण जहिलेको सरकार पनि एक प्रकारको अप्ठ्यारो वा अन्तर्विरोधमा भइराख्छ । बैधानिक प्रतिनिधिको रुपमा शासन गर्नुपर्ने दायित्व र स्वयं जनतालाई संगठित गरेर जनता सँगै रहेर दल सञ्चालन गर्नुपर्ने अवस्था सरकारका सामु हुन्छ । यसरी आधार र संरचनाबीचको अन्तर्विरोध राजनीतिमा भइ नै राखेको छ र भइराख्छ ।

तेस्रो समस्या– सत्ता चलाएको दल र सत्ताबाहिर रहेको दलहरु। सामाजिक संस्थाहरु, नागरिक समाज र अन्य विविध शक्तिहरुसँगको सम्बन्धहरुले लोकतन्त्रमा महत्व राख्दछ । ती पक्षहरुसँग त्यही प्रकारले मैत्रीपूर्ण तथा सरल र सहज सम्बन्ध भयो भने त्यसले धेरै हदसम्म अर्थ राख्छ । हाम्रो सरकारको कुरा गर्दा अहिले त्यो सम्बन्ध पनि बिग्रेको अवस्था छ ।

एउटा सफल सरकारले, सफल नेताले यी तीन पक्षको कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपर्छ । अहिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरुले यी समस्याको सही व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको हो । त्यसकारण यतिबेला एक–अर्कालाई आरोप–प्रत्यारोप गर्नेभन्दा पनि कहाँनेर कुरा पुगिरहेको छैन भन्ने कुरामा नेतृत्वले ध्यान दिनुपर्छ । अपग्रेड गर्न नसक्दा समस्या सिर्जना हुन्छ ।

अल्बर्ट आइन्सटाइनले भन्नुभएको छ– जुन धरातलमा समस्या उब्जिएको छ, त्यही धरातलबाट समाधान खोज्नु भनेको त्यो एकप्रकारले पागलपन हो । भन्न खोजेको के हो भने समस्याको धरातलभन्दा समाधानको धरातल माथि हुन्छ । जुन बुद्धिले समस्या सिर्जना भएको त्यो बुद्धिलाई विकसित गरेपछि मात्रै समाधान भेटिन्छ । नेकपाको नेतृत्व तहसँग जुन शैली, जुन योजना, जुन विवेक र समझदारी हाल कायम छ त्यसले पुगेन । त्यसकारण बिभिन्न क्षेत्रबाट एकै पटक समस्या आयो भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ ।

नेपालको राजनीतिले लामो समयदेखि यस्ता समस्या झेल्दै आएको छ । कतिपय समयमा अलि कुशल नेतृत्व, उच्च व्यक्तित्व भएको नेतृत्व सरकारमा आएको बेला यी समस्याहरु थिचिएर रहेको, अलि ओझेलमा परेको र नदेखिएको पनि छ । कोही कोहीले केही ईस्यु व्यवस्थापन गरेको पनि देखिन्छ । कुनै–कुनै सरकार चाहीँ यस्ताखालका समस्याहरु देखिन नपाउँदै ढलेर नयाँ सरकार आएको इतिहास पनि छ नेपालको राजनीतिमा । नेपालको राजनीतिमा निर्णायक रुपमा यो समस्याको समाधान हुन सकेन । ७० वर्षको आधुनिक राजनीतिक इतिहासमा यो समस्या रहँदै आएको छ । त्यसकारण सरकार र पार्टी अहिले जुन अन्तर्विरोध र समस्यामा उभिएको छ, अहिले यसलाई हामीले ऐतिहासिक समधान दिनुुपर्छ । हामीले यो समस्याको समाधान दिन सक्यौं भने नेपालको राजनीतिमा एउटा नयाँ कोशेढुंगा (माइलस्टोन) खडा गर्न सक्छौं ।

इतिहासबाट सिक्नुपर्छ

कुनै पनि समस्या त्यतिकै आउँदैन, बरु त्यसको ऐतिहासिक जरा सहित त्यो आउंछ । त्यसका लागि अलि पछाडि फर्केर हेर्न पर्छ । नेकपा र अहिलेको प्रधानमन्त्रीले विगतका दलहरु र विगतका प्रधानमन्त्रीहरु, खासगरी जो दलहरुबाट निर्वाचित भएर आए, उहाँहरुको कार्यशैलीको समस्या, उहाँहरुको कार्य अवधिमा भएका कामका तौरतरिकाहरुलाई ठीकसँगले केलाएर त्यसलाई सही निष्कर्ष निकाल्ने हो भने आजको समस्याको धेरै हदसम्म समाधान भेट्न सकिन्छ ।

नेपाली कांग्रेसले विगतमा दुईपटक चाहिनेभन्दा बढी मत ल्याएर सरकार संचालन गरेको थियो । २०१५ सालमै नेपाली कांग्रेसको दुईतिहाई बहुमतको सरकार थियो । त्यतिबेला कूल १०९ सिटमध्ये कांग्रेस एक्लैले ७४ अथवा दुई तिहाई बढी स्थानमा बिजय हासिल गरेको थियो । २०४८ सालको निर्वाचनमा २०५ सिटमध्ये ११० सिट जितेर सामान्य बहुमत भन्दा बढी प्राप्त गरेको थियो ।

संयोग भनौं त्यतिवेलासम्म नेपाली कांग्रेसबाट भएको चारमध्ये तीन प्रधानमन्त्री एउटै आमाका तीनभाइ छोराहरु थिए । २०१० सालपछि दुई वर्षसम्म मातृका प्रसाद कोइराला, २०१५ देखि ०१७ सालसम्म विपि कोइराला र त्यसपछि २०४८ देखि ०५० सम्म गिरिजा प्रसाद कोइराला । त्यसमध्ये निर्वाचित प्रधानमन्त्री विपि र गिरिजा हुन् ।

गिरिजाप्रसाद कोइराला मात्र होइन, वीपीकै पालामा पनि नेपाली कांग्रेसले नेताहरुको इगोलाई र पार्टीभित्रका अरु समस्याहरुलाई, सरकार र जनताबीचका समस्याहरुलाई ठिकसँग समाधान गर्न सकेनन् । त्यसको असर नेपाली कांग्रेसलाई त पर्यो नै, सिंगो देश र जनताले पनि दुःख भोग्नुपर्यो । त्यसकारण नेपाली कांग्रेसको विगतको असफलताबाट नेकपाले नसिक्ने हो भने हामीले अहिले नेपालको सबैभन्दा लोकप्रिय दलको रुपमा राज्यको नेतृत्व गर्ने जुन अवसर पाएका छौं, त्यो अवसर सदुपयोग हुन गाह्रो हुन्छ । कांग्रेसको असफलताबाट सिक्ने भनेको के ? त्योबारे थोरै चर्चा गरौं ।

मातृका प्रसाद कोइराला वा विपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्र देखिएका समस्याहरुको समाधान गर्न उहाँहरुले सक्नुभएन । जसको परिणामस्वरुप कांग्रेसको राजनीति मिलाउने नाममा इन्डिया प्रवेश गर्यो । दाजुभाइबीच पार्टी र सरकारका कतिपय विषयमा इन्डिया आएर समझदारी गराइदियो । भारतीय नेता राम मनोहर लोहिया वा राजदूत राम सहाय प्रसादहरुले पहल गरेर समझदारीको बुँदा बनाइदिने, तिमीहरु यी बुँदामा समझदारी गर भन्ने, तर उनीहरु नमिल्ने र विवादमा जाने गरे । यसरी कांग्रेसभित्र लथालिंग शुरु भएको देखिन्छ ।

त्यसैगरी गिरिजा प्रधानमन्त्री हुँदा पनि अन्य नेताहरु र गिरिजाबीचमा ठूलो मिसअन्डस्ट्याण्डिङ भएको रहेछ । त्यसले नेपाली कांग्रेस फुटको संघारसम्म पुगेको, मध्यावधि निर्वाचनको घोषणा गरेको देखिन्छ । पार्टीभित्रको असहमतिहरुको व्यवस्थापन गर्न त्यतिवेलाका कांग्रेस नेतृत्व असफल हुँदा कांग्रेसलाई नै धेरै नोक्सानी भयो ।

आजको दिनमा ती दिनको चर्चा गर्दा एउटा समानता के देखिन्छ भने २०१५ सालको नयाँ संविधानपछि विपिलाई प्रधानमन्त्री बनाइएको थियो र २०४७ को नयाँ संविधानपछिको पहिलो प्रधानमन्त्रीका रुपमा गिरिजाप्रसाद कोइराला थिए । उहाँहरुले परिस्थितिलाई ठिकसँगले आकलन गर्न र व्यवस्थापन गर्न नसक्दा त्यतिबेलाका व्यवस्था नै गए ।

हामी फेरि नयाँ संविधानमा आइसकेका छौं र त्यो संविधान कार्यान्वयनको ठिक त्यहि चरण छ जुन २०१५ वा २०४७ सालमा थियो । त्यसकारण एउटा राजनेताले, जिम्मेवारी पाएका नेताले परिस्थितिलाई ठिकसँग बुझ्न सकेन भने उसको सत्ता, उसको पार्टीमात्र कमजोर हुने हैन रहेछ । त्यतिवेलाको व्यवस्था नै खतरामा पर्ने रहेछ भन्ने कुराको प्रमाण त्यतिवेलाका विपी पनि हो र गिरिजा पनि । त्यसले सिंगो देश र जनताको विकासमा घाटा पार्यो, व्यवस्था टिकाउने कुरामा निर्णायक समस्या पार्यो ।

एउटा सबल लोकतन्त्र सबल दलको बाटो भएर आउँछ । सबल दल विचार र प्रणालीबाट बन्छ, स्वेच्छाचारिताबाट होइन । नेपालको इतिहासमा शक्ति र सत्य फरक–फरक बाटो हिँडेर देशको दुर्भाग्य भयो । साँचो लोकतन्त्रमा शक्ति र सत्य एकै ठाउँमा हुन्छ, हुनुपर्छ । शक्तिले सत्य लतार्न उद्यत व्यवस्था लोकतन्त्र होइन, त्यो त तानाशाही वा गुण्डाराज हो ।

संविधान जारी भएपछिका पहिलो सरकारहरु भनेको सरकार मात्र नभएर त्यो पथ प्रदर्शक (ट्रेन्ड सेटर) पनि हुने रहेछ । संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा, आम जनताको बीचमा त्यो संविधान कसरी स्थापित गर्ने भन्ने बारेमा आम रुपमा त्यसले एउटा ट्रेण्ड स्थापित गर्दो रहेछ । त्यस अर्थमा त्यो सरकार कोशे ढुंगा सावित हुँदो रहेछ । जनताको बीचमा अघिल्लो संविधान र यो संविधानमा के फरक छ भन्ने कुराको भिन्नता निर्धारण (डिमार्केशन) गर्ने कुरा त्यस्तो सरकारको काम हुँदो रै’छ । सरकारले जुन ढंगले काम गर्नुपर्ने हो, हामी नयाँ ढंगले अगाडि बढिसक्यौं भनेर जुन सन्देश दिनुपर्ने हो त्यो दिन नसकेपछि त्यहाँ समस्या आएको देखिन्छ ।

उदाहरणका लागि २०१७ सालमा महेन्द्रले कु गरेर वीपीलाई जेल पठाए, त्यसपछि कांग्रेसका धेरै समकक्षी नेताहरु पञ्चायतमा छिरे । पञ्चायतका रचनाकार (आर्किटेक्ट) बने । उनीहरु मन्त्री बने, विभिन्न राजनीतिक पद खाए र राजसँग सहकार्य गरे । उनीहरुले नै पञ्चायत टिकाउन ठूलो मद्दत गरे, राजाले अरु धेरै मान्छे खोजी बस्न परेन कांग्रेसकै ठूला नेताहरुले राजालाई सहयोग गरे ।

२०४८ सालको गिरिजाप्रसादको मिस पोलिटिकल म्यानेजमेन्टले पनि कांग्रेसलाई नोक्सानी गर्यो । कस्तो देखिन्छ भने नयाँ परिवर्तनपछि सत्तामा भएका नेताहरुले परिस्थिति कति गम्भिर छ भनेर विचार नगरी हठ गर्ने हो भने त्यो सरकारलाई, सरकार बनाउन पठाएको पार्टीलाई त ठूलो नोक्सान गर्छ नै, सँगै त्यसले व्यवस्थालाई पनि हानी गर्दो रहेछ । लोकतन्त्रको विकास हुन दिँदो रहेनछ । त्यसले समाजलाई पछाडि हटाउँदो रहेछ भन्ने शिक्षा कांग्रेसको त्यो असफलताको इतिहासबाट सिक्नुपर्ने रहेछ । यो मामिलामा नेकपाका नेताहरु धेरै गम्भीर, इमान्दार र पारदर्शी हुनुपर्छ जस्तो लाग्छ ।

नेपाली कांग्रेसको नकारात्मक इतिहासबाट सिकौं

मेरो विचारमा कांग्रेसको नकारात्मक इतिहासबाट सिक्ने मुख्य दुईटा कुरा हुन् ।

युवराज चौलागाईं

पहिलो कुरा, नेतृत्वले पार्टीभित्र विधिलाई, आदर्शको एउटा धरातललाई, जसको आधारमा राजनीति स्थापित भएको हुन्छ, कति बोकेको छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । आदर्श बोकेका नेताहरुलाई राजनीतिको केन्द्रभागमा राख्नुपर्दो रैछ । गुण्डागर्दी, साधन स्रोतहरु, स्तुती गायक, हुक्के, चिलिमे, बैठकेहरुलाई अघिपछि लगाएर हिँड्दाखेरि सत्य बोल्नेहरु, इथिक्समा पोलिटिक्स गरेर आएकाहरु पछि पर्दो रहेछ । कांग्रेसले ठिक त्यहि गर्यो नेताहरुको वरिपरि यस्तो कार्यकर्ता होस्, जसले नेताप्रति प्रश्न पनि गरोस्, आवश्यक पर्दा कसैले नेतालाई तोकेर हानेको छ भने छाती, गर्धन के थाप्नुपर्ने हो त्यो थापोस् । नेहरु र महात्मा गान्धी कयौं मुद्दामा मिलेनन् रे । नेहरुको व्यवहारिक एवं यथार्थवादी प्रकृतिको राजनीति थियो, उनले संगठनको राजनीति गरे । गान्धीले आदर्शको राजनीति गरे । तर, गान्धीको मृत्युपछि नेहरुले राजनीतिकरुपमा यतिधेरै असहाय महसुस गरे कि उनी राति एक्लै एक्लै बसेर रुन्थे रे । नेहरु आफैं गान्धीलाई भेट्न जाने र राजनीतिक रिपोर्ट गर्ने गर्थे । राजनीतिक अलमल परेका बेला नेहरुलाई गान्धिका विचारहरुले दिशानिर्देश गथ्र्यो होला सायद । उनीहरुको बीचमा कुरा नमिले पनि उनीहरु एकै थिए ।

राजनीतिक रुपमा धेरै दुःख गरेको, जेलनेल भोगेको, समाजलाई बुझेको मान्छेलाई चाहिँ साइड लगाएर पात पतिंगरहरु माथि–माथि उडेको मानिसहरुले देख्छ, नेताको टाउको वरिपरि घुमेको देख्छ । त्यसले धेरै कुरा बिगार्दोरहेछ भन्ने शिक्षा नेकपाले नेपालकै कांग्रेसबाट लिए पुग्छ । कसरी उपभोक्तावाद राजनीतिमा हावी हुन्छ ? कसरी केही ठेकेदारहरु, केही मनी– मस्सल प्रयोग गर्ने मानिसहरु हावी हुन्छन् ? र, ती राजनीतिमा हाबी हुँदा समाज कसरी पछाडि जान्छ भन्ने कुराको उदाहण अरु केही होइन, त्यो कांग्रेस हो । त्यही कारण नेपाली कांग्रेस असफल भएको हो ।

कांग्रेस आफ्नै व्यवस्थामा पनि आज यति धेरै कमजोर र नालायक बन्नुको कारण विगतका नेताहरुको असफल व्यवस्थापन थियो । उसको लामो इतिहास भए पनि, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल भएपनि, सिंगो समाज व्यवस्था नै उनीहरुको हुँदा पनि कांग्रेस किन असफल छ त भन्दा उनीहरुले इतिहासको बिंडो कहीँ कतै मिस गरिसकेका छन् । उनीहरुको लिक छुटिसकेको छ ।

आज कांग्रेसहरु एक ठाउँमा बस्दाखेरि कि त कुटाकुट हुन्छ कि कुरै हुँदैन । कि त केही बोलत र खानपिन गरेर उठ्ने कुरा हुन्छ, या त विषयमा प्रवेश गर्यो भने त्यहाँ एकले अर्कोलाई न बुझ्न सक्छ, न रुपान्तर नै हुन सक्छ । छलफल र रुपान्तरणको कल्चर उनीहरुले धेरै पहिले नै छोडेर आइसके । मृत्यु नै भैसक्यो ।

कांग्रेसको राजनीतिमा आज जो मान्छे माथि आएको छ, आजको समाजलाई नेतृत्व गर्न सक्ने सारै कम मात्र आएका छन् । आएका भए पनि प्रदीप गिरीजस्तो बोलिञ्जेल रमाइलो हुन्छ, तर बोलिसकेपछि उनको कुरा न पार्टीका कुनै कार्यान्वयन हुन्छ, न कुनै सरोकार, मतलव नै राखिन्छ ।

कांग्रेसको नकारात्मक इतिहासबाट कम्युनिष्टले सकारात्मक शिक्षा लिने भनेको सरकारमा गइसकेपछि, ठूलो भइसकेपछि, इमान्दार कार्यकताहरुलाई भुल्नुहुँदैन, गुमाउनु हुँदैन, साइड लगाउनुहुँदैन भन्ने हो । किनकि, ती मानिस मात्र होइनन्, बिचार हुन्, जनविश्वासका विम्व हुुन् । उनीहरुलाई राजनीतिकरुपमा स्थापित गर्न पार्टीले, नेतृत्वले थप मिहिनेत र मद्दत गर्नुपर्छ र कहीँ न कहीँ उचित व्यवस्थापन गर्नुपर्छ ।

अर्को कुरा भनेको सरकार र जनताबीचमा तथा सरकार र पार्टीबीचमा देखा परेका समस्याहरु समाधान गर्नका लागि सरकारमा भएकाहरुले मिहिनेत गर्नुपर्छ । यो इतिहासको एउटा बाँकी रहेको प्रश्न हो । यसले कयौं वर्षसम्म सरकार र जनताबीचमा र सरकार र पार्टीबीचमा हुने सम्बन्धलाई परिभाषित गर्न मद्दत गर्छ । हामीले त्यो नगर्ने हो पार्टी र सरकारभित्र रहेका समस्याको समाधान गर्न सक्दैनौं ।

धेरै टाढा जानुपर्दैन, चिनियाँ कम्युनिष्ट पार्टी कहिल्यै इतिहासमा विभाजित भएनन् । युद्धकै समयमा माओको पछि हट्ने अभियान चलिरहेका बेलामा यो माओको भाग्ने तरिका हो, यसरी हुँदैन । गएर लड्नुपर्छ भनेर चाङ क्वो थाओ भन्ने एकजना केन्द्रीय सदस्यले केही कार्यकर्ताहरु सहित अलग्गै अभियान शुरु गरेका थिए । तर, पछि उनीसँगै लागेकाहरुले नै यो गलत रहेछ भनेर उसलाई समातेर माओलाई बुझाएका थिए ।

चिनियाँहरु सधैं एकीकृत रुपमा अगाडि बढे । माओत्सेतुङ हुँदाको महान् अग्रगामी छलाङ गर्ने पार्टी, माओकै नेतृत्वमा सर्वहारा सांस्कृति क्रान्ति गर्ने पार्टी, एउटै पार्टीबाट गएर कुर्सीमा बसेर मन्त्रालय चलाइरहेका नेताहरुलाई सडकमा ल्याएर लुगा फुकालेर नाङ्गै बनाउने, कालो मोसो दल्ने गर्दाखेरि पनि नफुटेको पार्टी हो चिनियाँ कम्युनिस्ट पार्टी ।

माओत्सेतुङ गएर तेङ स्याओपिङले अर्कै नीति अपनाउँदा पनि फुटेन । अहिले त्यो पार्टीले नौ करोड सदस्यहरु र ७० बर्ष देखि निरन्तर सरकार संचालनको पनि सही ढंगले व्यवस्थापन गर्न सकेको छ । त्यसले पार्टीभित्र शक्ति कहाँबाट आउँछ भन्ने कुरा देखिन्छ । एकतावद्ध भएर आउँदा केसम्म हुन्छ भन्ने उदाहरण हो चिनियाँ कम्युनिष्ट पार्टी ।

फुट्दा के हुन्छ भन्ने त हामीले विश्वमा महाशक्तिका रुपमा उदाएको सोभियतसँग कसरी विघटन भयो भनेर हेर्न सक्छौं । स्टालिनको मृत्युपछि स्टालिनलाई नै गाली गर्दा गर्दै विघटनको दिशामा गयो । तपाई खराब सन्देश दिनुहुन्छ र प्रहार गर्नतिर लाग्नुहुन्छ भने त्यसले राजनीतिलाई, स्वयं आफैंलाई र देशलाई कमजोर बनाउँछ भन्ने यी उदाहरण हुन् । हुँदैजाँदा एउटै सोभियतसंघ पन्ध्र देशमा टुक्रियो ।

लाञ्छना गर्दा कसरी सकिइँदो रहेछ र स्ट्रेन्थ लिँदा एकतावद्ध बनाएर विगतको लिगेसी पनि बचाएर लान सकिँदो रहेछ र भोलिको नेतृत्व गर्ने क्षमता पनि बच्ने हुँदो रहेछ । हामीकहाँ अहिले जुन प्रकृतिको जिद्दीवाल पद्धतीविहीन बहस र छलफलहरु गर्न खोजिरहेका छौं, यो नेकपाका लागि पनि खतरनाक छ र देशका लागि पनि हानिकारक छ । यस्ता छलफलले हामीले लडेर ल्याएको व्यवस्थालाई कमजोर पार्छ ।

भोलिका दिनमा नेकपा पनि कमजोर हुँदा जनताले अरु दलमा भरोसा गर्न सक्दैनन् । हाम्रो छिमेक सम्बन्ध पनि त्यति राम्रो चलिरहेको छैन । यस्तो अवस्था आन्तरिक राजनीति कमजोर भयो भने देशको राष्ट्रियता खतरामा हुन्छ । सिक्किम विलय गर्ने बेला पनि त्यहाँको राजा र भारतबीच विवाद थियो, प्रधानमन्त्रीले भारतको वकालत गरेको थियो । त्यो विभाजनले देशै हराउने स्थिति आयो ।

आज संसारको अवस्था त बदलिएको छ । तर, आजको दुनियाँमा कुनै पनि देशले आफूलाई बचाउने भनेको त्यहाँको राजनीतिक स्थायित्व र डेलिभरीले नै हो । त्यसकारण नेकपाले अघि बढ्ने हो भने इतिहासमा अरु दलले, खासगरी कांग्रेसले गरेको गल्तीबाट सकारात्मक पाठ सिकेर अगाडि बढ्ने हो । यही बाटो जाने भए नेकपाको भविष्य कांग्रेसकोभन्दा पनि दयनीय हुन्छ । कांग्रेसका लागि अहिले पनि जुन अनुकुल वातावरण छ, नेकपा लागि पछि त्यो केही हुँदैन । त्यसकारण एकतावद्ध हुनुपर्छ ।

एउटा सबल लोकतन्त्र सबल दलको बाटो भएर आउँछ । सबल दल विचार र प्रणालीबाट बन्छ, स्वेच्छाचारिताबाट होइन । नेपालको इतिहासमा शक्ति र सत्य फरक–फरक बाटो हिँडेर देशको दुर्भाग्य भयो । साँचो लोकतन्त्रमा शक्ति र सत्य एकै ठाउँमा हुन्छ, हुनुपर्छ । शक्तिले सत्य लतार्न उद्यत व्यवस्था लोकतन्त्र होइन, त्यो त तानाशाही वा गुण्डाराज हो । हामीले लडेर, मरेर ल्याएको नयाँ संविधान र त्यसले निर्देशित गरेको नयाँ राजनीतिक व्यवस्थामा दल स्वच्छ र संस्थागत हुनुपर्‍यो । दलको निर्णय स्वीकार्य र अकाट्य हुनुपर्‍यो ।

प्रधानमन्त्री लगायत शीर्षनेताहरुले यो कुरालाई ठीकसँगले बुझ्नुपर्छ र नेपाली जनतासामु गरेको बाचाहरुलाई पूरा गर्नका लागि पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढाउने, पार्टीको एकता र राष्ट्रको भोलिको भविश्यलाई पनि सुनिश्चित गर्नका लागि आफ्ना कार्यशैली र विचारमाथि पुनर्विचार गर्न सक्नुपर्छ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीको अध्यक्ष हुनुहुन्छ)

लेखकको बारेमा
युवराज चौंलागाई

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?