
१४ साउन, काठमाडौं । कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन सम्बन्धी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी काठमाडौं प्रहरी परिसर, टेकुबाट खोसिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्साल र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रकरणको थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई दिएको हो ।
काठमाडौं प्रहरीको लापरबाहीले साढे १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको निष्कर्षसहित अपराध महाशाखालाई थप अनुसन्धानको जिम्मेवारी दिइएको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए ।
महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अनुसन्धान भइरहेको बताए पनि विस्तृतमा बताउन चाहेनन् ।
रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने थापाको नेतृत्वमा प्रहरीको कमजोरीबारे छानविन गर्न समेत अर्को समिति बनाएका छन् ।
बुधबार दरबारमार्गमा प्रहरी टोलीसँग अपराधिक समूहको जम्काभेट भएको थियो । त्यसक्रममा सुन जस्तो देखिने धातुको झोला फ्याँकेर स्कर्पियो भागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।
प्रतिक्रिया 4