Comments Add Comment

केपी ओली-वामदेव साइनो : बालुवाटारमा दुष्ट, भैंसेपाटीमा इष्ट !

ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ : वामदेव

१४ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे ।

छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको कडा भाषण सुनेका थिए । केही नेताले मोबाइलमा रेकर्डसमेत गरेका थिए ।

मंगलबार राति भैंसेपाटीबाट गौतम र ओली परिवारका सामुहिक तस्वीरहरु सार्वजनिक हुँदै गर्दा नेकपाका कतिपय नेतालेचाहिँ दिउँसो बालुवाटारमा वामदेवले बोलेको अडियो एकापसमा सेयर गरिरहेका थिए । र, आफैंले ‘काँध फोहोर पार्ने’, ‘दुष्ट’ भनेको मान्छेसँग वामदेवले दुईघण्टा भलाकुसारी गरेकोमा अचम्म मानिरहेका थिए ।

पार्टीभित्र संकटमा परेका प्रधानमन्त्री ओली आफूलाई राहत पुग्ने ६ बुँदे प्रस्ताव अघि सारेपछि मंगलबार साँझ अचानक उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवासमा पुगे ।

कोरोना संक्रमणपछि संसदबाहेक अन्यत्र प्रायः कतै नगएका ओली, पत्नी राधिका शाक्यलाई लिएर गौतम निवासमा पुगेका थिए । पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित डिनरसहितको त्यो भेटमा झण्डै दुईघण्टा कुराकानी भयो । र, गौतमका छोराबुहारीसहित पारिवारिक तस्वीर खिचाएर प्रधानमन्त्री दम्पती बालुवाटार फर्किए ।

ओली-गौतम भेटको राजनीतिक पक्षबारे कुरा गर्नुअघि मंगलबार दिउँसो बालुवाटारमा वामदेवले ओलीबारे के-के भनेका थिए ? त्यसको अडियो उतारको सम्पादित अंश पढौं-

प्रधानमन्त्रीको चाहनालाई बल पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेका गौतम मंगलबार बालुवाटारमा प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा ओलीविरुद्ध खनिएका थिए ।

करिव १५/१६ मिनेट बोलेका गौतमले पार्टी संकटको कारक केपी ओली नै भएको र उनले पार्टी फुटाउन खोजेको मात्रै आरोप लगाएनन्, ओली कम्युनिस्ट हुन योग्य मानिस नै नभएको समेत भन्न भ्याए ।

मंगलबारको बैठकमा गौतमले यसो भनेका थिए-

पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो ।

यति धेरै साथीहरुले योग्यता देखाउन सक्नुभएन, छोड्नुस् भन्दा पनि उहाँ तयार हुनुभएन । पार्टी विभाजनको खतरा देखा परेको छ । केपीबाट सरकार पनि चल्दैन, पार्टी पनि चल्दैन भनेर एक वर्षअघि मैले भन्दा माधवकुमार नेपालले अहिले हटाउने कुरा नगरौं । आलोचना गरौं, सुधि्रन समय दिउँ भन्नुभयो ।

अहिले पार्टीमा यत्रो विरोध र आलोचना भएपछि उहाँ आफैंले छोड्नुपर्ने हो । तर, उहाँमा त्यो छोड्ने साहस छैन । उहाँमा आलोचना सुन्ने साहस छैन । उहाँ कम्युनिस्ट हुन योग्य मानिस नै होइन । यस्तो व्यक्ति बोकेका छौं, जसले हाम्रो काँधमा फोहोर मात्र गरेको छ ।

तर, अहिले तत्काल फाल्दा दुर्घटना हुने डर छ । हाम्रो पश्चिमतिर दुष्टदेखि दैवसमेत डराउँछन् भन्छन् । उहाँले पार्टी फुटाउन खोज्नुभएको छ । पार्टीलाई फुटबाट जोगाउनका लागि प्रधानमन्त्रीबाट अहिले नहटाऔं ।

केपी ओलीमाथि यति टिप्पणी गरिसकेपछि उपाध्यक्ष गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन आफूले ६ बुँदे प्रस्ताव अघि सारेको स्थायी कमिटी सदस्यहरुलाई सुनाए । ओलीलाई प्रधानमन्त्रीबाट हटाए पार्टी फुट्ने भएकाले यो प्रस्तावअघि सारेको गौतमको तर्क थियो ।

ओली किन गए भैंसेपाटी ?

आफ्नै सरकारी निवास बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको उपस्थितिमा भएको बैठकमा अनुपस्थित रहेका ओली एकाएक गौतमको निवासमा पुग्नु अनपेक्षित थियो । तर, आश्चर्य भने होइन ।

किनकि, स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतमले छ बुँदे प्रस्ताव सारेर ओलीलाई दुईमध्ये एक पद छाड्न दबाव दिइरहेको प्रचण्ड-माधव नेपाल समूहमा तरंग ल्याएका थिए ।

एकसाता अघिसम्म प्रचण्ड-माधव समूहमा रहेका गौतम केही दिनदेखि ओलीप्रति नरम देखिएका थिए । मंगलबार स्थायी कमिटीसम्म आइपुग्दा उनले ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा राखिराख्ने प्रस्ताव राखे ।

प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने, पार्टीको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सरकारको महत्वपूर्ण विषयमा पार्टीमा परामर्श गर्ने उनको प्रस्तावमा उल्लेख छ ।

प्रधानमन्त्री र अध्यक्षको आश्वासन !

प्रचण्ड-माधव नेपाल समूहका नेताहरुका अनुसार एक साताअघिसम्म गौतम ओलीलाई दुबै पदबाट हटाउनुपर्छ भन्ने अडानमा थिए । ओली आफ्नो अडानमा टसको मस नहुने र बहुमतले केही गरे पार्टी फुट्ने अवस्था आएको भन्दै नेताहरुले जति सकिन्छ, त्यति गरौं भन्दा गौतम आत्मसमर्पण गर्ने ? भन्दै कडि्कन्थे ।

तर, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भेटेपछि उनी विस्तारै फेरिए । गौतमलाई ओलीको तर्फबाट महाधिवेशनपछि अध्यक्ष र आगामी चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिइएको स्रोतको दाबी छ । ‘केही समयपछि प्रतिनिधिसभाको सिट खाली गरेर संसदमा पनि ल्याउँला । त्यसो भए भने चुनावअघि केही समय प्रधानमन्त्री हुनुहोला । भएन भनेपनि चुनावपछि प्रधानमन्त्री तपाई नै हो भनिएको छ’ स्रोतले भन्यो ।

ओलीले अर्का अध्यक्षलाई यही आश्वासन दिएका थिए । तर, प्रचण्ड त्यसमा सहमत भएनन् । त्यसपछि त्यही कार्ड गौतममाथि प्रयोग भएको नेकपा नेताहरुको दाबी छ । त्यसपछि प्रचण्ड-माधव समूहको छलफलमा सहभागी हुन छाडेका उनले प्रचण्डसँग भेट्ने गरेका थिए । मंगलबार निणर्ायक समयमा ओलीतिर खुले ।

अर्का अध्यक्ष केपी ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक गरेपछि रुष्ट बनेका प्रचण्डले बहुमत स्थायी कमिटी सदस्यको बैठक राख्ने तयारी गरेपछि गौतमले पार्टी विग्रह रोक्न भन्दै छ बुँदे लिखित प्रस्ताव सार्वजनिक गरेका थिए ।

बन्ला त ‘ब्रह्मास्त्र’ ?

उपाध्यक्ष गौतमनिकट नेकपा केन्द्रीय सदस्य बलरामप्रसाद बास्कोटा छबुँदे प्रस्ताव नेकपाको विद्यमान संकट समाधानका लागि ‘ब्रह्मास्त्र’ भएको दाबी गर्छन् ।

अहिलेको विवाद सैद्धान्तिक नभई पदीय शक्ति-संघर्ष भएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘यो प्रस्तावले अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिन्छ र सरकारमा केपी ओलीको एकलौटी अधिकार पनि कटौती गर्छ । त्यसैले यो प्रस्ताव पार्टीको विवाद अन्त्य गर्ने र फुटको सम्भावना टार्ने ‘ब्रह्मास्त्र’ नै हो ।’

प्रचण्ड-माधव नेपाल समूहले ओलीले दुबै पद छाड्नुपर्छ भनिरहे पार्टी नै फुट्ने उनको दाबी छ । ‘यता बहुमत भएकाले केपी ओलीको सानो चोइटो भए पनि अलग हुन्थ्यो । त्यसैले अलिकति चित्त दुखे पनि पार्टीलाई फुटबाट जोगाउन यो प्रस्तावमा सहमति जुनाउनु उपयुक्त हुन्छ’ बास्कोटाले भनेका छन् ।

तर, हिजो ओली नै सबै समस्या भएको र दुबै पदबाट हटाउनुपर्छ भनेका गौतम प्रलोभनमा परेर यूटर्न भएको भन्ने नेताहरुको दाबी छ नि भन्ने अनलाइनखबरको प्रश्नमा बास्कोटाले भने, ‘केपीलाई कमजोर बनाउने हिजोको संघर्षको नारा हो, तर पार्टीलाई फुट्ने खतरा भएपछि सम्झौता लैजानुपर्छ भनेर पावर सेयरिङको प्रस्ताव गर्नुभएको हो । यसो कुनै उधारो व्यापार होजस्तो लाग्दैन ।’

बास्कोटाले अघि भने, ‘उहाँ विगतमा पनि धेरै ललीपपमा फसिसक्नुभो । त्यसैले अहिले फेरि प्रलोभनमा परेकोजस्तो लाग्दैन । पार्टी बचाउनकै लागि ६ बुँदे प्रस्ताव ल्याउनुभएको हो ।’

प्रचण्ड-माधव नेपाल समूहका नेताहरुले भने गौतमको प्रस्तावको असरबारे खुलेर बोल्न चाहँदैनन् । यसले पार्टीभित्र समीकरणमा कस्तो असर पार्छ भन्नेमा ‘पर्ख र हेर’ को रणनीतिमा रहेको देखिन्छ । एक नेताले ठट्यौली शैलीमा भने, ‘बामदेव गौतमको कुनचाहिँ प्रस्तावबारे प्रतिक्रिया माग्नुभएको हो ? यसमा मेरो कुनै प्रतिक्रिया छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment