Comments Add Comment

सडक कविता क्रान्तिका पिता भवानी घिमिरे

नेपाली साहित्यमा भवानी घिमिरेको नाम लिनैपर्ने केही यस्ता क्षेत्र छन् जसको उल्लेखविना नेपाली साहित्य अधूरो हुन्छ । अपूरो हुन्छ र खण्डित हुन्छ ।

घिमिरे नेपाली साहित्यिक पत्रिकाहरुमा गहकिला विशेषाङ्क निकाल्नका लागि प्रतिष्ठित पत्रिका ‘भानु’ का पिता हुन् । यो पत्रिकाको योगदान अपूर्व र अतुलनीय छ । उनी साहित्यिक पत्रकारहरुको संस्था साहित्यिक पत्रकार संघका संस्थापक हुन् र संस्थापक अध्यक्ष पनि । यहाँ पनि उनी पिताकै रुपमा देखा पर्छन् ।

भवानी नेपालको इतिहासमा २०३६ सालमा घोषणा भएको मौजुदा पञ्चायती व्यवस्था को सुधारिएको रुप वा वहुदल रोज्नका लागि राजा वीरेन्द्रबाट घोषणा भएको ऐतिहासिक जनमत सङ्ग्रहमा बहुदलको पक्षमा आयोजना भएको एक महिनाभन्दा लामो सडक कविता क्रान्तिका पनि अगुवा हुन् नेता हुन्, पिता हुन् ।

यस्ता ब्यक्तित्वसँग मेरो भेट २०३६ कै आसपास, सडक कविता क्रान्तिपूर्व न्यूरोडमा कवि लेखकहरुको चिया अड्डा मोतीमहल रेष्टुँरामा भएको हो जुन परिचय निकै लामोसमयसम्म नियमित रह्यो । बस उठ निरन्तर रह्यो ।

परिचयको शुरुवातमै सडक कविता क्रान्तिको सिलसिलामा एक महिना भन्दा बढी साथै हुन पाइयो । सडक कविता क्रान्ति काठमाडौंको नयाँ सडक पीपलबोटबाट शुरु भएको थियो। शुरु हुने अघिल्लो दिन भवानी घिमिरे मोतीमहल रेष्टुँरामा हामीहरु सवै बसेको ठाउँमा आएर घोषणा गरे, ” भोलि साँझ पीपलबोटबाट सडक कविता क्रान्ति शुरु हुँदैछ, सहभागी हुन आउनु होला !”

भोलिपल्ट ५ बजे ८।१० जना कविहरु देखा परे र बहुदलको पक्षमा कविता वाचन गर्यौं । कविता वाचन सकिएपछि भवानीले भने, ” गोविन्द भाई, यसको समाचार बनाउ र यो यो पत्रिकाको अफिसमा लगेर देउ !”

मलाई समाचार लेख्न आउँदैनथ्यो, उनैले डिक्टेट गराए । अनि लव गाउँले र म त्यतिखेरका दैनिक, साप्ताहिक अखवारको अफिसमा लाग्यौं । भोलिपल्टै समाचार छापियो । काठमाडौंमा भएका धेरैजसो सडक कविता क्रान्तिका समाचार शुरुमा मैले नै समाचार बनाएर पत्रिकाहरुमा लगेको हुँ ।

सडक कविता क्रान्ति नेपाली साहित्यकै इतिहासमा सवैभन्दा लामो समय नियमित रुपमा भएको र अत्यधिक साहित्यकारहरुले भाग लिएको साहित्यिक आन्दोलन हो । यसमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भइसकेका मोहन कोइराला देखि लोकप्रिय कवि तथा गीतकार हरिभक्त कटुवाल, स्थापित साहित्यकारहरु शैलेन्द्र साकार, ध्रुव सापकोटा जस्ता व्यक्तित्वका साथै भोलिका उज्जवल नक्षत्र अशेष मल्ल, किशोर पहाडी जस्ता थिए ।

यी नाम मैले दृष्टान्तका रुपमा मात्र उल्लेख गरेको हुँ । यी सवको नेतृत्व भवानी घिमिरेले गरेका थिए । उनी नेतृत्वमा खरा थिए, मानिसलाई प्रभाव पार्न सक्ने व्यक्तित्व थियो उनको । सडक कविता क्रान्तिका सहभागी ऋषिराज बराल गुप्तचर बिभागमा काम गर्छन् भन्ने सुईंको पाएपछि उनले बराललाई सहभागीताबाट आउट गरिदिएका थिए ।

विना योजना एक दिन सडक कविता क्रान्तिका सहभागी कविहरुलाई सहयोग गर्न चन्दा उठाइदिए कुनै श्रोताले र यसले नियमित रुप लियो । त्यही पैसाले ह्याण्ड माइक किने । पैसा सवै भवानी घिमिरेकै हातमा हुन्थ्यो । उनले सडक कविता क्रान्तिलाई काठमाडौं पाटन, भक्तपुर, बनेपा पछि भानु जयन्ती समेत भ्याउने गरी तनहुँ लगे ।

तनहुँबाट बाटामा सडक कविता क्रान्ति गर्दै पोखरा पुग्यौं र केही दिन पोखरामा सडक कविता क्रान्ति सकिएपछि अघोषित रुपमा त्यसको अन्त्य भयो र उनले आफ्नो पत्रिका भानु को ” सडक कविता क्रान्ती बिशेषाङ्क” प्रकाशित गरे ।

तत्कालीन प्राज्ञ भूपि शेरचनले सडक कविता क्रान्तिलाई सोभियत संघको समिज्दात आन्दोलनको देखासिकी गरेको भनेर यौटा पत्रिकालाई अन्तरवार्तामा भनेपछि भवानीले त्यो भनाइको प्रतिवाद गर्दै धारावाहिक रुपमा आरती साप्ताहिका भूपिको आलोचनामा र सडक कविता क्रान्तिको पक्षमा लेखेका थिए ।

भवानी घिमिरेले साहित्यिक पत्रकारहरुलाई एउटै छातामा राख्ने अभिप्रायसहित साहित्यिक पत्रकार संघको परिकल्पना गरे । त्यतिमात्र होइन उनले संस्थापक अध्यक्षको पनि जिम्मेवारी लिएर त्यसको नेतृत्व गरेका थिए ।

भवानी घिमिरेले लामो समयसम्म साझा प्रकाशनको सञ्चालक बनेर साझा प्रकाशनका गतिबिधिहरुमा आफ्नो योगदान पुर्याएका थिए । तीसको दशकअघि साझा प्रकाशनमा अँशियारहरु निकै कम थिए । प्राय: पुस्तक प्रकाशित भएका लेखकको रोयल्टीको २० प्रतिशत स्वत: शेयरमा जाने अँशियार हुन्थे एक प्रकारले अनिवार्य रुपमा । अनि तीनमध्येबाट एक सञ्चालक हुने ब्यबस्था भएकोले उनी निरन्तर सञ्चालक भए ।

तर, पछि सञ्चालकको सङ्ख्या बढी भएपछि र सञ्चालकले पाउने सुविधामा आँखा लाग्न थालेपछि उनी चुनावमा पराजित भए । तर साझा प्रकाशनमा उनले ल्याएको यौटा नयाँ अवधारणा भने लोकप्रिय भयो र केही समय त्यो चल्यो तर पछि किन हो त्यसलाई निरन्तरता दिईएन । त्यो थियो -साझा प्रकाशनको पुस्तकलाई पाकेट वुक साइजमा छाप्ने योजना ।

पहिला प्राय: सबै पुस्तक राम्रो भित्री कागज अनि राम्रो कभरमा प्रकाशन हुन्थे साझा प्रकाशनका पुस्तक र ११०० प्रति मात्र प्रकाशित हुन्थे । ती पुस्तकको लागत महँगो हुन्थ्यो । तर पाकेट बुकमा पुस्तकको भित्री कागज न्यूजप्रिण्ट प्रयोग गरियो त्यसैले पुस्तकहरु निकै सस्तो भए ।

फेरि पाकेट वुकका पुस्तकहरु ११००, २१००, ३१०० सम्म शुरुमै छापिए । विशेषत: उपन्यास २१०० प्रति प्रकाशित हुन्थे । मूल्य पनि ३ रुपैयाँ, ४ रुपैयाँ मात्र हुँदा पाठकलाई पनि त्यसले आकर्षण गरेको थियो । पछि किन हो साझा प्रकाशनले यसलाई निरन्तरता दिएन । तर, त्यो निरन्तर भए पनि नभए पनि त्यो ईतिहास बनाउने श्रेय भने भवानी घिमिरेलाई नै जान्छ ।

भवानी घिमिरे भानुलाई आफ्नो सन्तानको रुपमा माया गर्थे । उनी भानुको विरुध्द जायजै कुरा नै किन नहोस् पटक्कै सुन्न सक्दैनथे, झम्टिहाल्थे । एकपल्ट नगेन्द्रराज शर्माले आफ्ना भाइ जगदीश घिमिरे, म र भवानीलाई साँझको खानपानका लागि बोलाएका थिए । खाना पिनाकै सिलसिलामा नगेन्द्रराज शर्माको अभिव्यक्ति र भानुको कुरा पनि स्वाभाविक रुपमा चर्चा चल्यो । मैले कुन सिलसिलामा हो प्याच्च भनें, ” के गर्नु, भानु नियमित प्रकाशित हुँदैन ।”

मैले यति भन्ने वित्तिकै राताराता आँखा पल्टाउँदै रोबदार स्वरमा उनले भने, “गोविन्द भाई ! म भानुको विषयमा केही सुन्न चाहन्न । यो मेरो प्यारो सन्तान हो । ”

म चुप लागें । अनि कहिल्यै भानुको विषयमा केही भनिनँ ।

भानुले निकालेको भानु विशेषाङ्क, देवकोटा विशेषाङ्, सडक कविता क्रान्ति विशेषाङ्क, गोकुल जोशी अङ्क, भानु विचार बिशेषाङ्क, हरिभक्त कटुवाल विशेषाङ्क, सिक्किम विशेषाङ्क, डुवर्स विशेषाङ्क लगायतका सारा विशेषाङ्क नेपाली साहित्यमा कीर्तिमानि विशेषाङ्कहरु हुन् । यिनीहरु कतिपय विश्वविद्यालयमा सन्दर्भ सामाग्रीका रुपमा समेत रहेका छन् । त्यसैले भानु पत्रिकालाई नेपाली साहित्यिक पत्रिकाहरुमा कीर्तिमानी विशेषाङ्क प्रकाशित गर्ने पत्रिकाको रुपमा ससम्मान गणना गरिन्छ ।

कुनै बेला धर्मराज थापाले लोक तीत गाएर नेपालबाहिरको नेपाली जगत परिक्रमा गरेका थिए । भाक्सु , आसाम लगायत भारतीय नेपाली समुदायमा पुगेर ” नेपालीले मायाँ मार्यो वरिलै” गीत गाएर नेपाली मनलाई स्पर्श गरेका थिए, धुरुधुरु रुवाएका थिए । धर्मराज थापापछि नेपाल बाहिरको नेपाली घर दैलोमा पुग्ने श्रेयका एकमात्र हकदार भवानी घिमिरे हुन् । विशेषतः पूर्वाञ्चल भारत उनले पूरै चहारेका थिए साथमा भानु पत्रिका बोकेर । उनी जहाँ जहाँ पुगे त्यहाँका नेपाली साहित्यका सर्जकलाई आफ्ना रचना प्रकाशनका लागि मञ्च प्रदान गरे । प्रकाशन र लेखनलाई हौसला दिए । डुवर्स विशेषाङ्क, सिक्किम विशेषाङ्क यसकै जीवन्त दृष्टान्त हुन् ।

भानु पत्रिकाको प्रकाशनसँगै उनले भानु प्रकाशन पनि साथै अघि बढाएका थिए । उनले नवोदित तथा स्वनामधन्य कृतिकारका कृतिहरुलाई भानु प्रकाशनको माध्यमबाट नेपाली जगतमा पुर्याउने काम गरेका थिए ।

गणेश रसिक, चेतन कार्की, हरिश वमजन, पृथ्वी शेरचन, खगेन्द्र सङ्ग्रौला, वासुदेव त्रिपाठी, विष्णुलाल उपाध्याय, मदनमणि दीक्षित, यादव खरेल, लक्ष्मीनाथ शर्मा, डायमन शम्शेर राणा, एसएल शर्मा लगायतका कृतिहरु उनले भानु प्रकाशनवाट प्रकाशित गरेका थिए ।

उनी आफैं सक्षम कवि थिए । उनको कविता वाचन अत्यन्तै प्रभाविलो हुन्थ्यो । उनको कविता वाचन सुन्दा कुनै पनि विशिष्ट कविभन्दा कम लाग्दैनथे, यद्यपि पढ्दा भने त्यस्तो प्रभाव पर्दैनथ्यो ।

उनी कुशल भूमिका लेखक पनि थिए र उनको भूमिका पढ्दा उनी कुनै प्राध्यापक नै हुन् कि भन्ने छनक मिल्दथ्यो । उनमा त्यस किसिमको बौध्दिक उँचाई थियो । यसको प्रभाविलो उदाहरण कवि गुमानसिं चामलिङको कविता सङ्ग्रहमा लेखिएको भूमिकालाई दृष्टान्तको रुपमा लिन सकिन्छ ।

उनी २०४६ सालको सफल जन आन्दोलनपश्चात् सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा नियुक्त भएका थिए । त्यसैताक उनी अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उनको स्वास्थ्य स्थिति बुझ्न र सुस्वास्थ्यको कामना गर्न अस्पताल पुगेका थिए । राजनैतिक नेताहरुसँग पनि उनको सौहार्दपूर्ण र सुमधुर सम्बन्ध थियो ।

हुन त भवानी घिमिरेको विषयमा केही सकारात्मक-नकारात्मक उखान पनि बनेका थिए । उनलाई धेरै खान सक्ने खवुवा भन्थे, भानुको ग्राहक बनाउँछ तर पत्रिका कहिल्यै पठाउँदैन भन्थे, निकै कञ्जुस छ पनि भन्थे । यसमा कति यथार्थका नजिक होलान् कति गफ र किम्बदन्ती पनि । मानिसै थिए उनी, उनमा पनि केही मानवीय कमजोरी अवश्यनै थियो । तर, त्यो भन्दा महत्वपूर्ण कुरो उनी नेपाली भाषाका पुजारी थिए । नेपाली साहित्यका पुजारी थिए । नेपाली वाङ्मयका सेवक थिए । सडक कविता क्रान्ति, साहित्यिक पत्रकार संघ र भानु पत्रिकाका पिता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment