Comments Add Comment

ठप्प फिल्म क्षेत्रः न हल खुल्ने टुंगो, न सुटिङको चहलपहल

साउन १५ गतेबाट लागू हुनेगरि नेपाल सरकारले काठमाण्डौ भित्रने सवारी साधनलाई बेलुकी ७ बजेबाट बिहान ७ बजेसम्मका लागि पूर्ण रुपमा निषेध गर्ने निर्णय गर्यो । यसले, भदौ १ गतेबाट लामो दुरीको गाडी चलाउने सरकारी निर्णय के हुन्छ भन्ने अन्यौलता देखिएको छ ।

यस्तै, अन्यौल चलचित्र भवनहरु कहिलेबाट खुल्छन् भन्नेमा पनि छ । चलचित्र संघका पदाधिकारीहरुले चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग निरन्तर छलफल त गरिरहेका छन्, तर हल कहिलेबाट खुल्छ भन्न उनीहरुले सक्ने अवस्था छैन । किनकी, देशभर लकडाउन समाप्त भएको घोषणासँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसले पनि भदौको अन्तिमबाट हल खुलाउने र दशैंका लागि माहोल तयार गर्ने हल संचालकहरुको योजना पुरा हुने छनक देखिएको छैन ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्–‘हामीले चलचित्रसँग सम्बन्धित निकायहरुसँग निरन्तर छलफल गरिरहेका छौं । तर, कोरोना भाइरसको त्रास अझै बढेकाले हल कहिलेबाट खुल्छ भन्ने अन्यौल नै छ । हाम्रो तयारी भदौको अन्तिमबाट खोलेर दशैंका लागि माहोल बनाउने भन्ने हो । तर, अहिले नै मिति तोक्न सकिदैन ।’

चलचित्र भवन खुल्ने वित्तिकै दर्शक आउने पनि होइनन् । दर्शकलाई हलसम्म तान्नका लागि पर्याप्त चलचित्र पनि छैनन् । रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरु तत्काल चलचित्र रिलिज गर्ने सोचमा छैनन् । अध्यक्ष प्रधान भन्छन्–‘अधिकांश निर्माताहरु चलचित्र रिलिजका लागि तयार छैनन् । पुराना चलचित्र चलाएर हल खर्च धान्न सकिदैन । यसैले पनि हललाई चलचित्रको अभाव हुने देखिएको छ ।’

बलिउडका अधिकांश चलचित्र पनि डिजिटल प्लेटफर्ममा रिलिज भएकाले तिहार अगाडि चलचित्र रिलिज हुने संभावना छैन । भारतमा भदौ १५ गतेसम्म हल नखोल्ने निर्णय सरकारले गरिसकेको छ । यसैले, यसको प्रभाव नेपालमा पर्ने निश्चित छ ।

चलचित्र संघले हल खुलेपछि सुरक्षाका मापदण्ड अपनाएर अगाडि बढ्ने तयारी गरेको छ । तर, सरकारले तत्काल हल खोल्न अनुमती दिने अवस्था देखिएको छैन । अध्यक्ष प्रधान निराश हुँदै भन्छन्–‘हामीले देशभरका हल संचालकहरुसँग छलफल गरिरहेका छौ । तर, अवस्था एक हप्तामा नै परिवर्तन हुन्छ । यसैले, हल लामो समयसम्म बन्द हुने अवस्था देखिन्छ ।’

उनले, सरकारले आफूहरुलाई आश्वासन मात्र दिएको भन्दै गुनासो पनि व्यक्त गरे । चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारीहरु चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्छ भन्ने पक्षमा त देखिएका छन् । तर, चलचित्रको छायांकन र प्रदर्शनको आशा निराशामा बदलिदैछ । यसले, सबैभन्दा बढी मर्कामा हल संचालकहरु परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment