Comments Add Comment

बाइलाइन : जयबहादुर रोकाय !

खाद्य संस्थानको सिमकोट गोदामबाहिर पाँच केजी चामलका लागि सयौंको लाइन लागेको थियो । भित्रबाट खबर आयो, चामल सकियो । च्याँठिएको स्वरमा कर्मचारीले भने, ‘चामल सकियो । यहाँ भिड गरेर के काम ! बरु पत्रकारलाई भन्न जानुस्, कोटा बढ्ला ।’

एकैछिनमा पत्रकार जयबहादुर रोकायलाई भिडले घेर्‍यो । उनीहरुले खडेरी र खाद्य संकटको डरलाग्दो स्थिति सुनाइरहेका थिए । रोकायले एक-एक कुरा डायरीमा उतारे । संस्थानका हाकिमसँग सोधपुछ गरे र हतारिँदै समाचार लेख्न हिँडे ।

१७ साउन साँझ पत्रकार रोकायको निधन भएको खबर सुन्दा मैले २०६२ जेठको त्यही दृश्य सम्झिएँ । पहिलोपल्ट सिमकोट ओर्लिँदा मलाई लिन उनी एअरपोर्ट आएका थिए । तल खाद्य संस्थानको गोदाममा लागेको मान्छेका लाइन उनले एअरपोर्टबाटै देखाए । मेरा लागि त्यो नौलो दृश्य थियो ।

उनले भनेका थिए, ‘हुम्लाको मुख्य कथा-ब्यथा यही हो ।’

सातामा एक वा दुई दिन प्रतिपरिवार पाँच किलो चामल बाँडिन्थ्यो । दुई-तीन दिन टाढाका गाउँबाट हिँडेर आएका मानिसहरु दिनभर लाइनमा बस्थे । सांसद, सीडीओ, डिएसपी र एलडीओको पावर चामलको कुपन सिफारिसमा काम लाग्थ्यो ।

लामो खडेरीले रैथाने बाली बारीमै डढेका थिए । माओवादीको डरले सदरमुकाम बाहिर खाद्य डिपो हटाइएका थिए । खाद्य संकट बढेर भोकमरीको स्थिति थियो ।

सिंहदरबारमा आवाज उठाउन संसद भंग थियो । माओवादीका फौजी कारबाही र राजाको शाही शासनले जनता दबिएका थिए ।

स्थानीय निकाय जनप्रतिनिधिविहीन थिए । यस्तोमा हुम्लाको भोकमरी काठमाडौंलाई थाहा दिने काम उनै रोकायाले गरेका थिए ।

समाचार छापिए । फलो-अप भयो । सिंहदरबारले सायद सुन्यो । त्यस वर्षका लागि हुम्लाको खाद्य कोटा थपियो । र, चामल सिमकोट ओर्लियो ।

फ्याक्स र कुरियरबाट समाचार पठाउने युग भर्खर सकिँदै थियो । काठमाडौं, नेपालगन्ज र सुर्खेतका धेरै पत्रकारले कम्प्युटरको कि-बोर्ड नछुँदै रोकाय ल्यापटप बोकेर समाचारको पछि कुद्न थालिसकेका थिए ।

समाचारप्रति उनको लगावको प्रशंसा गर्दै कान्तिपुर दैनिकको वाषिर्कोत्सव (२०६४)मा तत्कालीन सम्पादक नारायण वाग्लेले भनेका थिए, ‘हाम्रा रिपोर्टरहरुमा जयबहादुर रोकाय बेगल छन् । उनी हुम्लाबाट काठमाडौं आउँदा एअरपोर्टबाट सिधैं अफिस आउँछन् र कम्प्युटर खोल्छन् । समाचार लेखिसकेपछि मात्र हाई-हेलो गर्छन् ।’

काठमाडौंबाट हेर्दा रोकाय एक औसत रिपोर्टर लाग्छन् । उनका बाइलाइनमा नीतिगत उथलपुथलका ठूला ‘खोज’ रिपोर्ट नहोलान् । स्थानीयस्तरमा भने खाद्य कोटा बढाउने पत्रकार थिए उनी । गाउँमा औषधि सकिएको, स्वास्थ्यकर्मी नभएको खबर ‘ठाउँ’मा पुर्‍याउने दूत थिए । हिमपात, हिमाली दुःख, बहुपति प्रथा र खडेरीदेखि झाडापखलाको उपचार नपाएर मृत्यु हुनेका कथा देशलाई सुनाउने पत्रकार थिए रोकाय ।

प्रहरीले जाडोमा लगाउन देशभर एकैखाले पोशाक पाउँथे । वर्षभरी हिउमा पुरिने तिब्बती सीमा चौकीहरुमा खटिने प्रहरीका लागि ती पोशाक कामै लाग्दैनथे । रोकायले त्यसबारे निरन्तर समाचार लेखेपछि हिमाली भेगमा खटिने प्रहरीका लागि बेग्लै पोशाक व्यवस्था भयो ।

जयबहादुर भन्थे, ‘एउटा कुरा सिमकोटमा काइदा छ । पत्रिका आउँदैन, छापियो भन्ने बिहानै थाहा पाइन्छ ।’

काठमाडौंमा एक कोलमकै समाचार छापिए पनि सरोकारवाला अड्डालाई बिहानै फोन जाँदो रहेछ । तिनले उनीसँग गुनासो गरिहाल्दा रहेछन् ।

०६६ पछि कान्तिपुरले बेग्लै क्षेत्रीय पेज छाप्न थाल्यो । हुम्लाका समाचार नेपालगन्ज संस्करणको मध्य/सुदूर पृष्ठमा छापिँदा उनी टिप्पणी गरिरहन्थे, ‘यतैको समाचार, यतै छापिएर, यतै पढेर के फाइदा ? काठमाडौंले थाह नपाउँदासम्म समाचारको अर्थ भएन ।’

०००

पाँचहजार मिटरको नारा लेकपार गरेपछि आउँछ- जाङ, हल्जी र तिल गाउँ । त्यही हो, सुन्दर हिमाली उपत्यका लिमी । त्यहाँबाट पाँच दिन हिडेपछि बल्ल सिमकोट आइपुगिन्छ । लिमी वर्षको झण्डै ६ महिना हिमाच्छादित रहन्छ । बाहिर भएका बाहिरै, भित्रका भित्रै ।

मंसिर अन्तिम साता हुम्लाका गाउँगाउँबाट मानिसहरु जिल्ला सदरमुकाम सिमकोटतिर लाग्न थाल्छन् । सिमकोटबाट छुटेको ‘क्याराभान’ नेपालगञ्ज, भारतको हिमान्चल र काठमाडौं तिर छरिन्छ, व्यापार र विविध खाले रोजगारीको लागि ।

सिमकोटबाट गाडी चढेर तिब्बत जाने रहर थियो, रोकायको । उमेरले कर्णालीको औसत आयु नाघेपछि सधै भन्थे, ‘नाफाको जिन्दगीमा एकपटक गाडी चढेर तिब्बत पुग्ने रहर हो । नपाइएला जस्तो छ,’ यो रहर पूरा नहुँदै गत साता उनी अस्ताए

उनीहरु जेठमा घर फर्किएपछि एउटा वार्षिक चक्र पूरा हुन्छ । यस्तो विशिष्ट हिमाली जनजीवनको दैनन्दिन अखबारको पानामा उतार्ने पत्रकार रोकाय हुन् ।

हुम्लाका माथिल्ला बस्तीमा अझै पनि बहुपति प्रथा कायमै छ । त्यो हिमाली परम्पराबारे रोकायका थुप्रै स्थलगत रिपोर्ट प्रकाशित छन् । बहुपति अपनाउनेले पनि बाहिरी दुनियाँको लाजका कारण लुकाउँथे । तिनका समाचार आउन थालेपछि स्थानी केही ‘बडा’हरु रिसाए । उनीहरुले रोकायलाई धम्क्याए पनि । तर, हिमाली लामा समुदायका लागि उनी असल मित्र थिए । तिनकै सहयोगमा रोकायले हिमाली संस्कृतिबारे डकुमेन्ट्रीसमेत बनाए ।

‘हामीले हुम्लामा पत्रकार भनेर चिनेकै उनलाई हो । माथिल्लो भेगको लामा संस्कृति सिमकोटलाई पनि थाह थिएन । उनैले मिडियामा ल्याए,’ सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा स्मरण गर्छन् ।

बै‌ंकमा जागिरे रहेका रोकाय पन्चायती शासनविरुद्ध पर्चा छरेपछि जेल परे । नौ महिना थुनिएर डोल्पा कारागारबाट निस्कदा उनको जागिर गइसकेको थियो ।

व्यापार गर्न सिमकोटमा घर थियो । फलफूल खेती गर्न लोभलाग्दो स्याउ बगैचा थियो । तर, उनले पत्रकारितालाई मूल पेसा बनाए । करिब २५ वर्ष कान्तिपुर दैनिकका हुम्ला संवाददाता रहे । साहुजी मोटाउने र श्रमजीवि दुब्लाउने हाम्रो व्यवसायिक पत्रकारितामा अरु पत्रकारझैं रोकायले पनि आर्थिक संकट झेले ।

चार वर्षअघि जण्डिस र निमोनिया बिग्रेर उनी थलिए । तङ्गि्रन नपाउँदै जेठी श्रीमतीलाई प्यारालाइसिस भयो । उनलाई थाइल्याण्ड लगेर उपचार गराएर फर्किएपछि रोकाय पारिवारिक झमेलामा परे । बहुपति प्रथा रहेको जिल्लाका उनी आफूचाँहि बहुपत्नीवाला थिए । त्यही एउटा गल्तीले जीवनको उत्तरार्धमा ठूलो पारिवारिक तनाब झेल्नुपर्‍यो ।

०००

रोकायले धेरै फ्लोअप गरेको समाचार हो, हिल्सा-सिमकोट सडक । विश्व खाद्य कार्यक्रमको ‘कामका लागि खाद्यान्न परियोजना’बाट थालिएको त्यो सडक दुई दशकमा पूरा भएको छैन ।

‘त्यति खर्चले त चामलकै बाटो बनाए पनि सिमकोट जोडिन्थ्यो होला’, दिक्क मान्दै रोकाय भन्थे ।

सिमकोटबाट गाडी चढेर तिब्बत जाने रहर थियो, रोकायको । उमेरले कर्णालीको औसत आयु नाघेपछि सधै भन्थे, ‘नाफाको जिन्दगीमा एकपटक गाडी चढेर तिब्बत पुग्ने रहर हो । नपाइएला जस्तो छ,’ यो रहर पूरा नहुँदै गत साता उनी अस्ताए ।

सिमकोटबाट नेपालगञ्ज ओर्लिँदा उनको झोलामा दुई थरी कोसेली मग्मगाएका हुन्थे-गोल्डन स्याउ र रिपोर्टिङ डायरी । कुर्सीमा बस्दा नबस्दै उनी भन्थे, ‘एउटा काइदाको समाचार छ । फिचर लेखुँ कि हार्ड न्यूज ?’

भावपूर्व श्रद्धाञ्जली, जयबहादुर दाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment