Comments Add Comment

लकडाउनमा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको खपत बढ्दो

कोरोना भाइरसको संक्रमण थपिने क्रम जारी थियो । जेठको मध्यतिर स्याङ्जाको एक क्वारेन्टिनमा नियमित गर्जाेको झोल खुवाउन थालियो । नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसार नै त्यस्ता जडीबुटी खुवाउन थालिएको थियो ।

सरकारले तयार पारेको सो निर्देशिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पतालले तयार पारेका थिए । सो निर्देशिकाले वैकल्पिक चिकित्सा अन्तर्गत् विभिन्न जडीबुटी सेवन गर्न सकिनेदेखि योगाभ्यासबाट समेत इम्युनिटी पावर बढाउन सकिने उल्लेख छ ।

सोही निर्देशिकाले सेवन गर्न सकिने जडीबुटीहरूमा नीमको पात, गर्जाे, तुलसीको पात, बेसार, घ्युकुमारी, तितेपातीको पात आदिको प्रयोग गर्न सकिने उल्लेख छ । स्यानिटाइजर बनाउन समेत तुलसीको पात, घ्युकुमारी, तितेपाटी आदिको प्रयोग गर्न सकिने उल्लेख निर्देशिकामा छ ।

नेपालमा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्दै जाँदा आम नेपालीमा त्रास पनि बढिरहेको छ । यही बीचमा अरूको तुलनामा इम्युनिटी पावर बढाउने जडीबुटीको व्यापार भने अपेक्षाकृत रूपमा बढेको छ । सरकारले कोरोना भाइरसको प्रसार रोक्न गरेको लकडाउन पछिको समयमा व्यापारीहरूले विशेषगरी सामान बाहिर पठाउन नपाए पनि केही जडीबुटीको नेपालमा माग आकाशिएको जडीबुटी व्यवसायीहरूले बताएका छन् ।

उनीहरूका अनुसार यसरी बिक्री हुने जडीबुटीमध्ये चार किसिमको जडीबुटीको बजारमा धेरै माग छ । तुलसीको माग नेपालले धान्न नसकेपछि भारतबाट आयात गर्न थालिएको छ । जुन नेपालमा उत्पादित भन्दा झण्डै दुई गुणा महँगो पर्छ । जडीबुटी व्यवसायीहरूका अनुसार अहिले तुलसीको पात भारतबाट आयात गर्दा १६५ भारुमा खरिद गरेर ढुवानीका लागि झण्डै ५० भारु तिर्नुपर्छ । यसो गर्दा एक किलो तुलसीको पातको लागि ३४४ नेपाली रुपैयाँमा तिर्नुपर्छ ।

नेपाल जडीबुटी व्यवसायी संघका सल्लाहकार देवेन्द्र ढकाल नेपाली बजारले माग पूरा गर्न नसकेपछि भारतबाट महँगो तुलसीको पात खरिद गर्न बाध्य भएको जानकारी दिए । ‘लकडाउन लगत्तै इम्युनिटी पावर बढाउने जडीबुटीको बजारमा माग ह्वात्तै बढ्यो । तुलसी र बेसार जस्ता जडीबुटी त मैले एक वर्षमा बेच्ने जति यो चार महिनामा नै बेचेँ । विदेश पठाउन नसकेको भए पनि नेपालमा इम्युनिटी बढाउने खालको जडीबुटीको माग धेरै छ । उनले के कतिमात्रामा तुलसी आयात भयो र बिक्री भयो भन्ने विषयमा भने संघसँग समेत यकिन तथ्यांक नरहेको उनले बताएका छन् ।

इम्युनिटी बढाउने जडीबुटीमध्ये तुलसी, गर्जाे, बेसार र तुथोको माग बजारमा अध्यधिब बढेको छ । यसबाहेक असुराको पात, मरिच, तेजपत्ता, अमला, टिमुर जस्ता जडीबुटी पनि लकडाउनको समयमा धेरै प्रयोगमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment