Comments Add Comment

स्वास्थकर्मीमाथि राज्यको विभेद कहिलेसम्म ?

लकडाउन सुरु भएको करिब दुई महिनासम्ममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत सम्पूर्ण चिकित्सकको दैनिकी परिवर्तन भइसकेको थियो । दैनिक जसो अस्पतालमा कार्यरत सम्पूर्ण विभागका डाक्टरसा’बहरू आ–आफ्नो विभागको राउण्ड सकेर फिभर क्लिनिक अगाडि जम्मा हुने गर्छन् ।

विश्व स्वास्थ संगठनदेखि लिएर विश्व चिकित्सा जगत्का लागि नै नयाँ रोग कोभिड–१९ र यसको महामारीका बारेमा के होला र कसो होला ? भन्दै सम्पूर्ण डाक्टरसा’बहरूले फिभर क्लिनिक अगाडि आफू–आफूमा भलाकुसारी गरिरहनुहुन्छ ।

‘हुन पनि हो न कुनै भ्याक्सिन छ, न कुनै उपचार नै । मात्र लक्षणअनुसारको उपचार अझ त्यसमाथि पनि हाम्रो जस्तो देशमा साँच्चै नै इटाली, चीन, अमेरिका, स्पेनजस्ता मुलुकको झैं महामारीको स्थिति आयो भने के होला ? यत्रो ठूलो हाम्रो अस्पतालमा त जम्मा ६ वटा भेन्टिलेटर मेसिन छ’ भन्दै अस्पतालका सह–निर्देशक डा. सुमित पाण्डे सर देशको स्वास्थ स्थितिबारे बेन्चमा बसेका अन्य डाक्टर माझ चिन्ता व्यक्त गर्दै हुनुहन्थ्यो ।

यता अस्पतालको आकस्मिक, लेबर रुमबाहेक सम्पूर्ण सेवाहरू ठप्प छ । दैनिक रूपमा फिभर क्याम्प चलिरहेको छ । उता बिरामीहरूको चाप भने थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । अब कसरी अघिबढ्ने भन्ने विषयमा अस्पतालका निर्देशकदेखि लिएर एम.डी सरसम्म नै अनभिज्ञ हुनुहुन्छ । लकडाउनको सुरुवाती चरणको एक महिनासम्म त बिरामीले पनि आफ्नो रोगव्याधी सहेर बसेकै हुन् । तर अब बिस्तारै लकडाउन खुल्ने अवस्था नरहेपछि बिरामीले पनि आफ्नो धैर्यलाई बिट मार्दै अस्पताल धाउनुको विकल्प नै रहेन । लकडाउन सुरु भएसँगै बाहिरको माहोलमा पनि सन्नाटा छाएको छ ।

हामी इमरजेन्सीमा काम गर्ने डाक्टरहरू पनि कोभिड–१९ साँच्चै नै नेपालमा फैलियो भने कसरी बिरामीको व्यवस्थापन गर्ने भन्नेमा अन्यौलमा ड्युटी गर्न बाध्य थियौं ।

फिभर क्लिनिकको साइडको बेन्च मिटिङ्गमा डा. शिशिर सरसँगै अरूले कतै यो बायोलोजिकल हतियार त होइन भन्दै आशंका पनि जनाउँथे । लकडाउन भएको १०–१५ दिनपछि इमर्जेन्सी मेडिकल अफिसरहरूको फेसबुकको म्यासेन्जर ग्रुपमा एकपटक लौन सबैजना बैठक बसौं भनेपछि सिनियर दाइ डा. प्रकाशको पहलकदमीमा छलफल गर्‍यौं ।

गुप्रमा अस्पताल प्रशासनमा डाइरेक्टरसँग कुरा गर्‍यौं । हामीले सुरुमा स्वास्थ सामग्री मात्रै भए पनि उपलब्ध गराउन भन्यौं तर अस्पताल निर्देशक सरले लिखित रूपमा दिनु भन्दै चित्त बुझ्दो जवाफ नआएपछि हामीले उहाँसँग समन्वय नै नगरी प्रशासनका अन्य कर्मचारीमार्फत स्वास्थ सामग्रीहरू लिन थाल्यौं ।

यता अस्पतालको ओ.पी.डी सेवा र रुटिन अप्रेसनहरू सबै बन्द थिए । लकडाउन भएको करिब महिनादिन पुग्न आँटेको थियो यति गर्दा पनि अस्पताल प्रशासनले कोरोनासम्बन्धी आधिकारिक निकाय र व्यक्ति तोकेको थिएन । त्यसैले पनि अस्पताल काहीँ न काहीँ अलि अस्तव्यस्त नै भएको थियो । पछि अस्पतालले अस्पतालका उप–निर्देशक डा. दिनेश श्रेष्ठ सरलाई फोकल व्यक्तिको रूपमा नियुक्त गरेपछि हामी मेडिकल अफिसर लगायत सम्पूर्ण चिकित्सहरूले सहज महसुस गर्न थाल्यौं । यसै बीचमा संस्थाका तर्फबाट डा. नितेश कुमार कनोडिया दाइले पनि बेला बेला ढाडस दिनुहुन्थ्यो ।

लकडाउनको झण्डै ४५ औं दिनमा अचानक नेपाल सरकार स्वास्थ मन्त्रालयले एउटा पत्राचार गरेछ । मेडिसिन विभागका वरिष्ठ चिकित्सक डा. श्याम बिक सरको भाइबर म्यासेजबाट थाहा पाएँ । सरकारले देशभर कोरोना उपचार केन्द्र भनेर तोकेको रहेछ जसअनुसार म काम गर्ने अस्पताल लेभल ३ भनेर पोखराभन्दा पश्चिम क्षेत्रकै जटिल केसहरू हेर्ने अस्पतालको रूपमा रूपान्तरण भएछ । तर यस विषयमा यस अस्पतालका फोकल व्यक्तिदेखि एम.डीसम्म यो कुराको आधिकारिक जानकारी भएको रहेनछ ।

फिभर क्लिनिक अगाडि प्रायः सधैं कन्सलटेन्टहरूमात्र जम्मा हुने गर्छन् तर म भने उहाँहरूको विचार र तर्क सुन्नलाई भए पनि ड्युटी नभएको बेलामा उहाँहरूसँग जोडिन पुग्थेँ ।

वीर अस्पतालका प्रोफेसर, विभिन्न राज्यको स्वास्थसम्बन्धी नीतिगत कार्य योजनासम्म पुग्नु भएका प्रा. ढुण्डी पौडेल सर फिभर क्लिनिक अगाडिको बसाइमा सबैभन्दा सिनियर हुनुहुन्थ्यो र सबैजनाले बढी उहाँकै कुरालाई एउटा आशाको रूपमा लिन्थे । लेभल ३ भइसकेपछि के गर्ने होला अब अस्पताल पूरै संक्रमित त हुने होइन ? केस आयो भने के गर्ने ? कसरी कुन तरिकाले अस्पतालका अन्य बिरामीहरूलाई संक्रमणबाट बचाउने ? भन्ने विषयमा छलफल भइरहन्थ्यो ।

यता कसैले भने यति ठूलो भेरी अञ्चल अस्पताल हुदाँहुँदै किन प्राइभेट संस्थालाई लेभल ३ घोषणा गर्‍यो भनेर जिज्ञासा राख्ने गर्नुहुन्थ्यो । यता, सरकारले भने कोरोना महामारीको बेला काम गर्ने फ्रन्ट लाइनर स्वास्थकर्मीको तलबको १०० प्रतिशत भत्ता उपलब्ध गराइने छ भनी सधैं प्रेस विज्ञप्तिमा भनिरहन्थो । यति सब भइसक्दा पनि सायद, प्राइभेट संस्था भएर पनि होला अस्पतालमा कसैले पनि सरकारी सेवा र भत्ता पाइएला भनेर आशा पनि गरेका थिएनौं ।

दैनिक फिभर क्लिनिक भने सुरु नै थियो । हरेक दिन फिभर क्लिनिकमा पालैपालो सबै डाक्टरहरूको ड्युटी पर्ने गथ्र्याे । म भने सरहरूको मनोबल बढाउनलाई भए पनि हरेक दिन जसो सामाजिक सञ्जालमा फिभर क्लिनिकको तस्बीरहरू अपलोड गरिरहन्थे । सिनियर, स्वास्थकर्मी गहेन्द्र दाइले धन्न हामी दुई–चार जना डाक्टरहरूलाई महामारी हुनुपश्चात एन. ९५ मास्क प्रदान गर्नु भएको थियो ।

यसैबीचमा गृह जिल्ला नेपालगञ्जमा केस देखा पर्‍यो । नेपालगञ्ज र कोहलपुर १५ कि.मी को दुरीमा छ अब कोहलपुर पनि बाँकी रहँदैन भन्ने हामी सबै डाक्टरहरूको निष्कर्ष थियो । तर धन्न बेलैमा कन्ट्याक्ट टे«सिङ्ग भयो र संक्रमण एक चरण रोकियो र जति २९–३० जना संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लगेर उपचार गरियो ।

सरकारले अब बिस्तारै स्थानीय निकायलाई जिम्मा दिनेगरी भारतबाट आउने नेपालीहरूलाई स्वदेश फिर्ता हुने भनेर घोषणा गर्‍यो । भटाभट स्थानीय निकायमै क्वारेन्टिनमा राख्दै १५ दिनमा टेस्ट गर्ने भनेर सरकारले प्रोटोकल पनि बनायो ।

यो नियम सुरु हुन नपाउँदै गृह जिल्ला बाँकेको नरैनापुरमा एकजना क्वारेन्टिनमा बसेको युवकको मृत्यु भयो । मृत्युपश्चात पी.सी.आर चेक गर्दा पोजिटिभ देखिएपछि कन्ट्याक्ट टे«सिङ्गसँगै भटाभट चेक गर्दा नरैनापुर गाउँपालिकाले नसकेर सेना परिचालन गर्दै बाँके नरैनापुर रेड लाइट घोषणा भयो ।

उता, प्रदेश नं. ५ को कपिलवस्तु र सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि कोभिड पोजेटिभको संख्या बढिरहेकै थियो । यता, अस्पतालमा भने बिरामीको संख्या इमरजेन्सीमा थेगिनसक्नु भएको थियो । हामी इमरजेन्सीमा काम गर्ने डाक्टरहरूले नसक्ने अवस्थामा पुगेपछि अस्पताल प्रशासनले लकडाउन भएको करिब करिब ३ महिनामा ओ.पी.डी सहितका सेवाहरू सुरु गर्‍यो ।

पश्चिम नेपालकै रिर्फरल सेन्टर र लेभल ३ अस्पताल भएर पनि होला यहाँका सबै कन्सल्टेन्टहरूलाई प्रदेश नं. ५, ६, ७ मा दैनिक रुपमा वृद्धि भइरहेका केसहरूको बारेमा अलि बढी चासो हुन्थ्यो ।

अकस्मात् महिनौंपछि जेठ २६ गते अस्पताललाई दुई–तीन फन्को मार्दै आकाशबाट हेलिकप्टर अस्पतालमा ल्याण्ड भयो । अघिपछि अस्पताल प्रशासनलाई जानकारी हुँदै हेलिकप्टरबाट आउने केसको पूर्व सूचनासँगै इमरजेन्सी, लेभररुमसम्म पूर्व तयारी गराइन्थ्यो । तर त्यो केशमा त्यति बेला भने त्यसो भएन सायद, कम्युनिकेशन ग्याप भएर हुनुपर्छ ।

हेलिकप्टरबाट अछाममा लकडाउनसँगै जागिर निकाला गरिएका एक कर्मचारी शरीरको ७५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा छट्पटाउँदै इमरजेन्सी कक्षको रेड जोनमा छिराइन्छ । शरीर पूरै जलेकाले उनको शरीरमा भाइटल लिने अवस्था पनि थिएन । बिरामी भने असह्य पीडामाझ छट्पटाइरहेका थिए । यता, इमरजेन्सीका ड्युटी अफिसरसहित सर्जरी विभागका एसोसिएट प्रोफेसर डा. अनुप शर्मासहितको टिमले बिरामीलाई हेर्न पुग्छन् र यहाँ उनको उपचार सम्भव नभएकाले काठमाडौं रिफर गर्नुहुन्छ तर दुर्भाग्य बिरामीको यहीँ मृत्यु हुन्छ ।

तर उनीसँगै अर्को ५ महिने गर्भवती महिला जसको आन्द्रा बटारिएर सोही हेलिकप्टरमा ल्याइएको हुन्छ उनको बारेमा कसैलाई थाहा हुँदैन र सिधै अरू सामान्य बिरामी राख्ने ठाउँमा राखिन्छ । पछि कागज हेर्दा भारतको मुम्बईबाट आएको र अछामकै क्वारेन्टिनमा बसेको पुष्टि हुन्छ र पी.सी.आर जाँचको रिपोर्ट पनि पोजेटिभ आउँछ । अब, साँच्चै यो एउटा निजी संस्थाको लागि लेभल ३ को पहिलो चुनौती थियो । वरिष्ठ सर्जन दाजु डा. प्रदीप थापाको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भयो । अब, त्यसपछि क्रमशः बाहिरबाट लेभल ३ को लागि केसहरू आउन थाल्यो र बिस्तारै सबै कुरा सामान्य अवस्थामा हुँदै गयो ।

यस लगतै केही दिनपश्चात २ वटा इमरजेन्सी हुँदै आ.ई.सी.यू गएको केसको मृत्युपश्चात स्याम्पल पठाउँदा पोजेटिभ देखियो र केही दिन अस्पताल नै सिल गर्नुपर्‍यो । यो बीचमा धमाधम केसहरू क्रमशः बढ्दै गइरहेको छ । अस्पताल प्रशासनले अब शंकास्पद बिरामीलाई अलग्गै राख्ने उद्देश्यले अस्पतालमा आइसोलेसन कक्षको व्यवस्था गरेर मेडिसिन विभागका डाक्टरहरूलाई त्यहीअनुसार डयुटी लगायो । तर पनि हामी इमरजेन्सीका डाक्टरहरूले साउन महिना सकिन लाग्दा पनि वैशाखको तलब कुर्नुपर्दा पनि कसैलाई केही गुनासो नराखी डयुटी गरिरह्यौं । यस बीचमा न कहिले सरकारलाई गुहार्‍यौं न कहिले अस्पताल प्रशासनलाई नै ।

सायद, पश्चिम नेपालकै सबैभन्दा ठूलो रिफरल सेन्टर भएर होला अस्पतालमा बिरामीको चाप बहुत नै बढेको छ । यहाँ लक्षणविनाका केसहरू भएर होला कसलाई कहाँनिर पोजेटिभ छ भन्न सकिने अवस्था छैन ।

दैनिक एक सिफ्ट इमरजेन्सी ड्युटी कम्तीमा ५० जना बिरामी हेरिन्छ । ३७–४० डिग्री गर्मीमा ६ घण्टा ड्युटीमा पीपीई लगाएर खुल्ला वातावरणमा बस्न सकिने अवस्था पनि छैन । जिल्लाको सरकारी अस्पतालभन्दा ४–५ गुणा बिरामीको चाप बढी हुन्छ र हरेक दिन इमरजेन्सीमा नै आइसोलेसन जाने बिरामीहरू हेर्नुपर्छ ।

तर पनि सरकारले कहिले पनि म जस्ता प्राइभेट संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको नाममा दुई शब्द पनि सम्बोधन गरेन र गर्न पनि चाहेन । बरु यो युगमा रामको जन्मभूमि नेपाल बन्यो तर स्वास्थकर्मीको सर्टिफिकेट कहिलै पनि सरकारी हुन सकेन । जसको फलस्वरूप हरेक दिन प्राइभेट संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरू माथि सरकारले नै विभेद गर्‍यो ।

कोरोनाको बिरामी सबै निजी अस्पतालले अनिवार्य लिने भनेर परिपत्र जारी गर्ने, बिरामी रिफर गर्‍यो सञ्चारमाध्यमले पेल्ने अनि हामी निजी संस्थामा कार्यरत चिकित्सकहरूचाहिँ सरकारी परिपत्र पढ्दै कतिन्जेल बस्ने ? हरेक पटक सरकारको यस्ता कदमले म जस्तै कयौं स्वास्थकर्मी, चिकित्सकहरूको मनोबल गिराइदिएको छ ।

तर अब स्थिति त्यो रहेन पर्सा जिल्लामा भयावह भएर कोरोना समुदायमा फैलिरहँदा बाँके जिल्लामा पनि वडा प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक मित्र हरि रोकायासहित माननीय प्रदेश ५ सदस्य कृष्णा के.सी नमुनासँगै यसै अस्पतालका १०–१२ स्टाफ गर्दै बढ्दो क्रममा पोजिटिभ देखिएर समुदायमा फैलिसकेको छ ।

यो कठिन परिस्थितिमा अब म भने चुप लाग्न सकिनँ । मैले इमरेजेन्सीमा जाँचेर भर्ना गरी आइसोलेसन कक्षमा सारिएका कोहलपुर–०२ बाँके र अछामका ५० वर्षीय पुरुषलाई कोरोना पुष्टि भएर निधन भइरहँदा म भने अब कुन नैतिकताले जेष्ठ महिनाको तलब कुरेर भर्खरै बाबा भनेर चिन्न थालेको मेरो ६ महिने बालक र दमको रोगले थलिएका मेरा बुबा र सुगरले थलिएकी मेरी आमालाई डाक्टर भएकोमा गौरव प्रदर्शन गरुँ ।

अहँ ! मन मान्दैन र प्राकृतिक स्वभाव पनि यस्तो भयो कि कति पटक दाइहरूसँग सापटी झिकेर मरेको लासलाई पनि उसको गन्तव्यसम्म पुर्‍याएको छु । आमाले अस्ति पनि ड्युटी निस्कनुभन्दा पहिले –“छोरा भइहाल्यो अब जागिर छाडिदे, बुबाले भैसी पाल्नु भएकै छ दूध बेचेर भएर नि जीवन चलाउँला तर तँ आफैं संक्रमित भएर दम रोगले थलिएका बुबालाई र भर्खरै अन्न पासनी गराएको छोरालाई सारिस् भने ?’ भन्नुभयो ।

म नाजवाफ मोटरसाइकल स्टार्ट गरे र ड्युटीमा आएँ । अनि पर पुगेर टोलकै सबैभन्दा पुरानो र भद्दा देखिने एकतले पक्की घरतिर हेरेँ अनि छोरीले भनेको एउटै वचनले मनमा सिरेटो हानिरह्यो– ‘बाबा हजुर डाक्टर भएपछि त हामी पनि मोटो सरियाको नयाँ घर बनाउने है !’

(डा. आचार्य नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment