
३२ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आइतबारदेखि पुन: सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले १० दिनलाई स्थगित गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै डा.केसीले नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरिएको जानकारी गराएका हुन् ।
डा. केसीले आफूले दिएको ३ हप्ताको अल्टिमेटममा सरकारले माग पूरा नगरेको भन्दै अब १० दिन समय दिने र पूरा नभए सत्याग्रह सुरु गर्ने बताएका छन् ।
‘…हाल सबै नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै हामीले आजदेखि घोषणा गरेको सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरेका छौं । सरकारले माग पूरा नगरेको खण्डमा यही भाद्र ११ गतेदेखि सत्याग्रह शुरु गर्ने जानकारी पनि दिन चाहन्छौं,’ हाल जुम्लामा रहेका डा. केसीले भनेका छन् ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न र तत्काल स्नातकोत्तर तहको अनुमति प्रदान गर्न माग गरेका छन् ।
गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्न, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि केसीले माग गरेका छन् ।
उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न र विश्वविद्यालय, मेडिकल काउन्सिल र स्वास्थ्य विज्ञान प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन्। केसीले बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया 4