Comments Add Comment

तीनपाते : कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी

एउटा चलनचल्तीको भनाई छ, ‘सफलताको लागि अरुले भन्दा फरक काम गर्नुपर्छ भन्ने छैन, बरु त्यही काम फरक ढंगले गरिदिए हुन्छ ।’

यहाँ सफलता र विफलताको भागबन्डा एवं लेखाजोखा गर्न लागिएको होइन । प्रसंग के मात्र जोड्न खोजिएको हो भने, निर्देशक नविन चौहानले ‘तीनपाते’ मार्फत म्युजिक भिडियो निर्माणको फरक शैली सूत्रपात गर्न खोजेका छन् । अर्थात जुन प्रारुपमा म्युजिक भिडियो निर्माण भइरहेको थियो, त्यो पुरातन ढर्रा बेवास्ता गर्दै यसले कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी गरेको छ ।

मौलिक शब्द–रचना, माधुर्य धुनसँगै यसको कथ्यशिल्प चाखलाग्दो छ ।

‘तीनपाते’ले जम्माजम्मी ९ मिनेटभित्र पुर्वेली जन–जीविका, भौगोलिक विशिष्ठता, निश्छल पिरती, युवा सपना र ग्रामिण उद्यमको उमंगमय खाका पेश गर्छ ।

ससर्ती माया–पिरतीको कलेवरमा यसले युवाको उद्यमशिलता बारे देखाउँछ । तर, यसभित्र त्यस्ता थुप्रै मिहिन कुराहरु समेटिएका छन्, जसले ग्रामिण सौन्दर्य उजागर गर्छ । जस्तो मेलापात, हाटबजार, बस्तुभाउ, घरेलु उद्यम, चालचलन । ग्रामिण समाजको आफ्नोपन झल्काउने नाङ्लो–मान्द्रो, मानो, घरेलु तानदेखि पञ्चेबजा, लाहुरे रवाफ जस्ता रोचक कुराहरु समावेश गरिएका छन् ।  निकै होशियारीपूर्वक गरिएका दृश्य संयोजन र प्रतिकात्मक दृश्यहरुले यसलाई अरु खास बनाएको छ ।

हुन त यो म्युजिक भिडियो कोरोना सन्त्रास छाउनुअघि निर्माण÷छायांकन भएको हो । कोरोना महामारी उत्कर्षमा पुग्दै गर्दा समाजमा भय, निरासा, कुष्ठा जस्ता विकारहरु थेग्रिदै गयो । ठीक यही मेसोमा सार्वजनिक ‘तीनपाते’ भने कतिका निम्ति मन बहलाउने मेलो बन्न सक्छ, कतिका निम्ति उत्प्रेरणा ।

कोरोनाको कारण धेरैको जीवन कष्टकर छ । उद्योग धन्दा ठप्प छ, पेशा–व्यवसाय धरापमा छ, रोजगारी संकटमा छ । अर्कोतिर रोजगारी गुमाएर विदेश एवं शहरबाट युवाहरु गाउँ फर्कदैछन् । यसरी गाउँ फर्किएका युवाहरुले आफ्नै चुल्होमा पाकेको भात खाएर, आफ्नो पसिनाले घर–बारी सिंचित गरेर जीवनलाई अरु उन्नत बनाउन सक्छन् ।

त्यसो त वैदेशिक रोजगारीले गाउँघरमा एक किसिमको सन्नटा छाइरहेकै थियो । उर्बर युवाहरु बाहिरिएपछि घर–आँगन बाँझो रह्यो । मेलापात, अर्मापर्मासँगै गुल्जार हुने गाउँबस्ती उराठलाग्दो भयो । कलकलाउँदो युवाहरुले जति–जति घरको संघारसँग दूरी बढाउँदै गए, उत्तिनै गाउँबस्ती रुखो बन्यो । यस्तो पृष्टभूमीमा ‘तीनपाते’ले एउटा युवाको जाँगर, उत्साह र उद्यमशिलताबाट ग्रामिण जीवनको रहरलाग्दो संभावना पहिल्याउने प्रयास गरेको छ । गजब चाहि के भने, प्रेमिल गीति–कथाको आवरणमा यसले युवा सपना, संघर्ष र सफलताको प्रेरणादायी कथा भन्छ ।

बालवयबाट हुर्कदै गएको एक अव्यक्त प्रेमकै सेरोफेरोमा गीत रचना गरिएको छ । हर्क साउदले पानी जस्तै तरल र सरल शब्द–संयोजन गरेका छन्, ‘देखेर तिमीलाई, हेरेर तिमीलाई ।’ यसले गीत सुन्ने  तिर्सना मेट्दैन, जगाइदिन्छ ।

जसरी वैशालु उन्माद र तडकभडकबाट मुक्त भएर शब्द गठन गरिएको छ, त्यससँग तालमेल मिलाउँदै सुजन चापागाईले उत्तिकै सरल तर मधुर धुन भरेका छन् । गीत सुजन र विद्या तिवारीले गाएका हुन् ।

इलामको ग्रामिण भेगलाई पृष्टभूमीमा राखेर भिडियो निर्माण गरिएको छ । हाटबजारमा भेट हुने दुई बालकको प्रेमिल एवं निश्छल लुकिछिपीसँगै कथाको उठान गरिएको छ । इन्टरनेट, मोबाइल, फेसबुक वा भिडियो गेमले अहिलेका बालबच्चाको बालापन खोसेको छ । तीनपातेका दुई बाल पात्रको कथा चाहि अलि अगाडिको समयको प्रतित हुन्छ, जतिबेला इन्टरनेटको मादकताले छोएको थिएन । हाटबजारमा उनीहरुले विद्यालयको पोशाक लगाएका छन्, गोठ एवं हलोलाई खेलौना बनाएका छन्, बाँसको खबटाको पंख बनाएर उडाएका छन् । यस किसिमको बालापनमा रमाएर हुर्किएकाहरु भिडियोले नोस्टाल्जिक बनाउँछ । भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, नयान नेपाल, आयुष्मा काफ्ले, हर्क साउद, मुना धिताल, कविता थापा, विष्णु कार्की र सुजन खत्रीले अभिनय गरेका छन् ।

यसअघि पनि निर्देशक चौहानले आफ्ना म्युजिक भिडियोमा ति सुक्ष्म तर घतलाग्दा कुराहरुलाई प्राथमिकतासाथ समेट्दै आएका छन्, जो एउटा पुस्ताको अभिन्न जीवन–भोगाईसँग मेल खान्छ । यसअघि उनले ‘के माया लाग्छ’, ‘लुकिछिपी’,  ‘बटौली’ जस्ता म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment