+
+

पोखरामा कोरोनासँग मिल्दो लक्षण भएकी महिलाको मृत्यु

अमृत सुवेदी अमृत सुवेदी
२०७७ भदौ २ गते १७:३०

२ भदौ, पोखरा । कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएकी २६ वर्षीया एक महिलाको पोखराको बुद्धचोकस्थित ग्यालेक्सी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । श्वाप्रश्वासमा समस्या देखिएपछि तनहुँको बन्दीपुरबाट उनलाई उपचारका लागि पोखराको ग्यालेक्सी हस्पिटलमा भर्ना गरिएको थियो ।

साउन २० गते बन्दीपुर हस्पिटलमा उपचारका लागि उनी भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई मंगलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा जाँचका लागि  पुगेकी थिइन् ।

मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर बिरामीलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गरेका थिए ।

‘उनी बन्दीपुर गाउँपालिका वडा नम्बर ६ मा बस्दै आएकी थिइन् । उनी मेरो मेडिकलमा आउँदा अक्सिजन कम भइसकेको थियो,’ थापाले अनलाइनखबरसँग भने, ‘डाक्टरसँग सम्पर्क गरेर पठाएको केही घन्टामै मृत्युको खबर आयो ।’

अस्पताल ल्याइएको ४५ दिनेटभित्रै उनको ज्यान गएको अस्पतालका प्रबन्ध निर्देशक दिपेन्द्र थापाले जानकारी दिए । ‘हस्पिटल ल्याइपुर्‍याउँदा स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको रहेछ,’ निर्देशक थापाले भने, ‘उनको बिहान ११ बजेतिर ज्यान गएको जानकारी प्राप्त भएको छ ।’
उनमा अक्सिजनको मात्रा अत्याधिक कमी भएको अस्पतालले जनाएको छ । कोरोनाको आशंकामा परीक्षणका लागि स्वाब पठाइसकिएको छ । त्यसको मंगलबारै बेलुका नतिजा आउने प्रदेश स्वाथ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मंगलबारै २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो । त्यसअघि पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?