Comments Add Comment

कोरोना संक्रमितको उपचारमा सांसदकै पुग्दैन पहुँच !

७ भदौ, काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई असार १७ देखि एक्कासी ज्वरो आउन थाल्यो, टाउको दुख्ने र पखाला लाग्ने भयो ।

संघीय सांसद प्रदीय यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाण्डे काठमाडौंस्थित आफ्नै घरमा आइसोलेनसमा बसेका थिए । असार २० गते आफैं वीर अस्पताल गएर स्वाब दिए । २२ गते रिपोर्ट आयो र कोरोना संक्रमण पुष्टि भयो ।

पाण्डेलाई लागेको थियो– मेरो सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण गर्न आवश्यक छ, कोही त आउलान । पाण्डेका अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्न र सम्पर्कमा रहेकाहरुको स्वाब लिन एक हप्तासम्म कोही पनि आएन ।

पाण्डे भन्छन्, ‘एक हप्तासम्म कोही नआएपछि आफैंले फोन हान्न थालेँ । वडा कार्यालयमा फोन गरेँ, सम्पर्कमै नआउने । केही सीप लागेन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा फोन गरेँ र बल्ल ११ दिनपछि सम्पर्कमा भएकाहरुको स्वाब संकलन भयो ।’

११ दिनसम्म कन्ट्रयाक्ट ट्रेसिङ नहुँदा धेरै मानसिक तनाव भएको सुनाउँदै उनले सम्बन्धित वडाका प्रतिनिधिले सम्पर्कमा रहेकाहरुको संख्या घटाउन बार्गेनिङ गरेको पनि सुनाए ।

‘वडाका एक जना समन्वय गर्ने दिदी हुनुहुन्छ । बार्गेनिङ गर्नुहुन्थ्यो फोनमा– कन्ट्याकमा आएका मान्छेहरुलाई घटाउनुपर्यो भनेर’, प्रवक्ता पाण्डेले अनलाइनखबरसँग भने, ‘म संग सम्पर्कमा रहेका १२/१५ जना थिए । उहाँ ८ जना, १० जनाको मात्रै परीक्षण गरौं भनेर बार्गेनिङ गर्नुहुन्थ्यो ।’

पहुँच नभएकै कारण समयमै सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण गराउन नसकेको पाण्डेलाई लागेको छ । पाण्डेले आफूलाई लागेको कोरोना भने होम आइसोलसनमै बसेर जिते ।

****

मोरङको विराटनगर महानगरपालिका–१२ सगरमाथा टोल बस्ने देवी गुरुङलाई ६/७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोसँगै पखाला लाग्ने, खोकी लाग्न थालेपछि जँचाउन अस्पताल गए । साउन २४ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भयो ।

कोरोना संक्रमणको लक्षण देखिएकाले उनलाई उपचारका लागि अस्पताल लैजान पहल गरिन् छिमेकी प्रदेश १ कि सांसद यशोदा अधिकारीले । अधिकारीले सुरुमा वडाअध्यक्षलाई फोन गरिन्, तयसपछि नगरप्रमुख, नगर प्रहरी प्रमुख सबैलाई सम्पर्क गरिन् । कोशी अस्पतालका व्यक्तिहरुसँग कुरा गरिन् । प्रदेशको सामाजिक विकासमन्त्रीलाई फोन गरिन् । नेपाल प्रहरीका डीएसपी एसपीसँग कुरा गरिन् । सबैतिरबाट एउटै जवाफ आयो– ‘घरमै बस्नु, अहिले कोभिड अस्पतालमा बेड छैन ।’

सांसद अधिकारीका अनुसार देवी गुरुङ कोभिड संक्रमित भएर घरमै बस्ने अवस्था थिएन । एक त ज्वरोले थलिएकी थिइन । निरन्तर खोकी लाग्ने र पाखाला लाग्ने भइरहेको थियो । त्यसमाथि सुगर र प्रेसरको बिरामी । गुरुङ परिवार डेरामा बस्थ्यो । ट्वाइलेट एउटै थियो ।

‘म एकदम टेन्सनमा परेँ के गर्ने भनेर । जे अपेक्षा गरेर फोन गरिरहेँ, अपेक्षा अनुसारको कतैबाट समाधान आएन । बिरामी घरैमा मर्ने हो कि भन्ने स्थितिमा पुगेँ । अलि निराश भएँ’ सांसद अधिकारीले अनलाइनखबरसँग भनिन् ।

अन्त्यमा सांसद अधिकारीले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई फोन गरेपछि भने उनले अस्पताल पाइन् ।

पहिले सिट छैन भनिएको अस्पतालमा सीडीओले भनेपछि एउटा सिट हुन्छ बिरामी ल्याउनु भन्ने खबर गरेको अधिकारी बताउँछिन् । ‘मैले उहाँलाई अस्पतालमा भर्ना गराउनका लागि त्यो दिन जे पनि गर्नुपर्ने स्थिति थियो । बिहान ११ बजेदेखि राति १० बजेसम्म लगाएर अस्पताल पुर्याएँ । त्यो दिन सम्झँदा दुख्छ । चर्याउँछ । बिरामी अस्पताल पुर्‍याएपछि युद्ध जिते जस्तो महसुस भयो’ सांसद अधिकारीले अनलाइनखबरसँग भनिन् ।

गुरुङको कोरोना संक्रमणको रिपोर्ट भदौ ३ गते नेगेटिभ आएको छ र अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

****

संघीय सांसद यज्ञ बहादुर बोगटी ललितपुर टीकाथलीमा भाडामा बस्छन् । उनको टोलमै बस्ने व्यक्तिलाई कोरोना संक्रमण भएपछि साउन ३० गते उनी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिए । साउन ३२ गते उनलाई कोरोना रिपोर्ट नेगेटिभ भन्ने म्यासेज आयो र त्यसको भोलिपल्ट पोजेटिभ भनियो ।

ललितपुर महागरपालिकाबाट दिउँसो ३ बजेतिर फोन आयो– ‘तपाईंको कोरोना रिपोर्ट ट पोजेटिभ छ ।’ बोगटी झसंग भए र आफुलाई नेगेटिभ आएको म्यासेज छ भन्ने जवाफ फर्काए । महानगरका प्रतिनिधिले ‘कन्फर्म’ गरेर सम्पर्क गर्छु भनेर फोन राखे । तर, फेरि फोन गरेनन् ।

‘महानगरबाट फोन आएन, दोधारमा परेँ, वास्तविकता के हो भनेर भोलिपल्ट भदौ २ गते एक जना भाइलाई यो कुरा सुनाएँ । भाइले प्रयोगशालामा एक जना चिनेका मानिस छन् भनेर फोन गर्यो । ती व्यक्तिले शंकास्पद छ रिर्पोट भन्यो र फोन राख्यो । २०/२५ मिनेट पछि फेरि फोन गरेर रिपोर्ट पोजेटिभ छ भन्यो । केहीबेरमै मोबाइलमा म्यासेज आयो कोरोना पोजेटिभ छ भनेर’ बोगटीले अनलाइनखबरसँग भने ।

बोगटीले सिधै मन्त्रीलाई, राज्यमन्त्रीलाई फोन गरे, म्यासेज नेगेटिभ, रिपोर्ट पोजेटिभ ! राम्रो भएन भनेर हकारे ।

केही समयपछि विभागका प्रतिनिधिले फोन गरेर बोगटीलाई ‘अस्पताल जाने कि घरमै बस्नुहुन्छ भनेर सोधे । बोगटीले अस्पताल बस्छु, घरमा छुट्टै बस्ने अवस्था छैन भने ।
त्यसपछि भदौ २ गतेदेखि नै उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

आफ्नो सम्पर्कमा करिब ६० जना रहेको र उनीहरुको कोरोना परीक्षणका लागि मन्त्री, स्वास्थ्य सेवा विभाग, महानगर सबैतिर भनेको सुनाउँदै सांसद बोगटीले केही दिनमा सबैको स्वाब लिइने वातावरण बनाउने बताएका छन् ।

पहुँचको आधारमा विभेद गरिएको छैन : सरकार

सरकारी अधिकारी भने कोरोना संक्रमितको उपचारमा पहुँच हुने र नहुनेबीच विभेद नगरिएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे भन्छन्, ‘कोभिड– अस्पतालमा भर्ना लिन लक्षण देखिएको हुनुपर्ने भनिएको छ । त्यसमा मन्त्रालयको सिफारिस चाहिन्छ । यो सबैका लागि हो, विभेद होइन ।’

राजधानीको हकमा आइसोलेसनहरु अपुग नरहेको पनि पाण्डेले बताए ।

थप आइसोलेन बनिरहेको उल्लेख गर्दै उनले सरकारको निर्णय अनुसार लक्षण देखिएका कोरोना संक्रमित सबैलाई आइसोलेसनमा राख्ने वा कोभिड अस्पतालमा राखेर उपचार गर्ने भन्नेमा सरकारलाई अहिले.नै समस्या नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment