Comments Add Comment

मन्त्री र मेयरले गरे रानीपोखरी पुनर्निर्माणको अवलोकन

पोखरीको काम सकियो, मन्दिर र सौदर्यीकरणको १५ प्रतिशत काम बाँकी

१२ भदौं, काठमाडौ । रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थलगत अवलोकनका लागि पुगेका सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको टोलिलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले अधिकांश काम सम्पन्न भएको जानकारी गराएको हो ।

समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुर्ननिर्माणको काम शत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे जानकारी दिए ।

उनले अहिले पनि काम नरोकिएको भन्दै जतिसक्दो चाडो सक्पन्न गर्नका लागि लागि परेको बताए । उनले भने ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’

उनले काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै धन्यवाद पनि दिए । राज्यमन्त्री मानन्धरले राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए ।

‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उनले भने, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । यो पोखरीको पुर्ननिर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’

उनले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुर्ननिर्माण सम्पन्न हुनु गौरवको कुरा भएको बताए । महानगरपालिकाका मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै त्यही अनुरुप काम अघि बढेको र अहिले सम्पन्न हुने चरणमा रहेको बताए ।

‘कामलाई विवाद रहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौँ,’ उनले भने, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ ।’

उनले पहिला गुम्बज शैलीको मन्दिर रहेको तर्क गरे । गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय महानगरपालिकाले गरेको भन्दै उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो , सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment