Comments Add Comment

कोरोना अनुभव : जब मान्छेलाई मान्छेजस्तो व्यवहार हुँदैन !

गत चैतको पहिलो साता वीरगञ्ज आदर्शनगरका एक व्यापारीमा कोरोना संक्रमणको हल्ला चल्यो । हुनत उनी त्यतिखेर वीरगञ्जमा थिएनन् ।

भारतमै उपचारका क्रममा थिए । तर, वीरगञ्ज त्रसित थियो । कोरोनाले विश्वका अन्य मुलुकसहित भारतलाई आक्रान्त पार्दै थियो । भारतसँग खुल्ला सीमा जोडिएको नेपाल त्यसमाथि मुख्य प्रवेशद्वार वीरगञ्ज जोखिममा नै थियो ।

सञ्चार माध्यममा दैनिक हजारौं मानिस संक्रमण भएको र मृत्यु पनि भइरहेको समाचार आइरहन्थे । नयाँ महामारीका बारेमा सञ्चार माध्यमबाट मात्रै सुन्दा र हेर्दा डर लाग्नु स्वाभाविक पनि थियो ।

वीरगञ्जमा पहिलोपटक चैत ३० गते तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरु छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए । कोरोना भाइरसका विरुद्ध कुनै खोप थिएन र अहिलेसम्म प्रभावकारी खोप बन्न सकेको छैन । संक्रमण रोकथाम र नियन्त्रणको उपाय लकडाउन भनियो । लकडाउनमा मानिसहरु घरमै बस्ने हुँदा मानिस मानिसबीच भेट नहुने र एकबाट अर्कोमा नसर्ने रहेछ । नेपाल सरकारले पनि चैत ११ गतेदेखि १ सय २० दिन लकडाउन गर्‍यो ।

प्रभाकर गुप्ता

लकडाउनमा म घरमै बसे । छिटपुट आइपर्ने अतिआवश्यक काममा मात्रै बाहिर निस्के । त्यसमा पनि सुरक्षा सतर्कताका उपाय अवलम्बन गर्थे नै । वीरगञ्जमा बैशाखको अन्त्यतिर कोरोना संक्रमणले उचाई छोयो । असारको अन्त्यतिर संक्रमण खासै थिएन, गण्डक कोभिड अस्पताल खाली हुने तरखरमा रहेको कुरा बाहिर आइरहेको थियो । साउन लागेसँगै क्रमशः संक्रमण बढी देखिन थाल्यो । साउन ६ गते वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु भएको खबर आयो । संक्रमणले मान्छे मर्न थाले पनि सर्वसाधारणमा डर थिएन । तर म सावधान नै थिँए ।

साउन १० गते वीरगञ्जमा पुनः निषेधाज्ञा लाग्यो । त्यही दिन हामी ५ जना साथीभाइ कामविशेषले काठमाडांै निस्किसकेका थियौं । स्वास्थ्य सम्बधी सतर्कतामा कुनै कमी राखिएको थिएन । साउन १५ गते काठमाडांैबाट फर्कियौं । बाटोमा २१ घण्टाको लामो जाममा फसियो । पानीलाई छिचोल्दै १६ गते मात्रै वीरगञ्ज आइपुग्यौं । गाडीको लामो यात्राले पनि होला जिउ दुखेको थियो । थकान महशुस भइरहेको थियो । पछि केही दिनमा त्यो आफैं ठीक भयो ।

यसरी सरेको हुन सक्छ संक्रमण

वीरगञ्जकै नेकपाका युवा नेता अरविन्द सिंहलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखियो । अस्थायी गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराए । पीसीआर परीक्षण पनि गराए । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आयो । उनी वीरगञ्जकै प्रभु अस्पतालमा भर्ना भए । कोरोना नगेटिभ आएको सुनेपछि साउन २१ गते हामी साथी भाइ भेट्न गयौ । छातीकै समस्या भएका कारण उनी लगातार खोकी रहन्थे । हामी उनी भएकै कोठामा बसेर गफगाफ ग¥यौं । मैले उनको मोबाईल पनि चलाएँ । त्यस लगतै तल गएर पानी खाएँ । साबुन पानीले हात धुनुपर्ने कुरा होसमा आएन ।

सोही दिन उनलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डु पठायौं । घर आएपछी तातो पानी र डिटोल साबुनले नुहाँए । त्यो दिन रातमा छोरीसँग सुतें । भोलिपल्ट उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको खबर सुने । त्यसपछि म घर परिवारबाट टाढा बसे । अरबिन्द दाईलाई भेट्न गएका सातै जना क्वारेन्टिन भयौं ।

क्वारेन्टिनमा सातै जनासँगै बस्ने लुडो खेल्ने जस्ता क्रियाकलाप भई नै रह्यो । पाँचौ दिनमा साउन २६ गते स्वाब दियौं । साउन २९ गते राति ११ बजे नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले फोन गरे ।

उनले भने ‘प्रभाकरजी डाक्टरहरु कहिल्यै सुखद समाचार सुनाउँदैनन् । जहिल्यै दुःखको समाचार सुनाउँछन् । तपाई लगायत दुईजना साथीलाई पोजेटिभ आएको छ ।’ त्यसपछि हामीलाई तनाव भयो । त्यहि रातिदेखि हामी छुट्टाछुट्टै बस्यौं ।

संक्रमण पछिको पहिलो दिन

विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालमा संक्रमित भएको खबर सार्वजनिक भइसकेको थियो । आफन्त साथी भाइ तथा शुभचिन्तकहरु, नेकपाका नेतागण र म आवद्ध संगठनका पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति सबैजनाले फोनको माध्यमबाट स्वास्थ्य स्थिती बुझ्नुको साथै स्वास्थ्य लाभको कामनासमेत गरे ।

सात दिनको क्वारेन्टिन बसाइपछि संक्रमण भयो । कहाँ जाने कसो गर्ने ? भन्ने भयो । तर, परिवारबाट ‘होम आइसोलेसन’ मा बस्न आउनु भने । घर आउना साथ मेरो आफन्त र छिमेकीहरु भेट्न आए । सहानुभूतिका साथै चाँडै निको हुन हिम्मत दिए । दिनहुँ २ सय ५० सम्म फोन आउन थाल्यो । साथीहरुले सामाजिक सञ्जाललगायत फोनको माध्यमबाट शुभकामना र हौसला दिए । साथी भाइहरुको यति धेरै माया प्रेम र सदभाव देखेर मनमा थप उर्जा पैदा भयो । यसले मलाई म आफू ठिकै रहेको अनुभूति गरे ।

घर परिवारसँग करिब ५०–६० मिटरको दुरीमा आइसोलेसन बनाईएको थियो । पहिलो दिन, श्रीमतीले खाना ल्याएर गेटमा राखिदिइन् । अनुहार मलिनो थियो । ‘बाबा चाँडै निको हुनुस’ भनिन् । श्रीमती र परिवारले दिएको साथले थप उर्जा प्राप्त भयो ।

कोठा बाहिर खाना छोडेर गएपछि दलित समुदायमाथि हुने विभेद सम्झन्थें । ठूला भनाउँदाले दलित समुदायमाथि कति ठूलो अत्याचार गरेका रहेछन् भन्ने बल्ल बुझें । कति पीडा हुन्छ होला, जब मान्छेलाई मान्छेजस्तो व्यवहार हुँदैन । उनीहरुले छोएको पानी र खाना चलाइँदैन । छिछि दुरदुर गरिन्छ । खानेकुरा दिनुपर्दा परैबाट दिइन्छ ।

रुढीबादी चिन्तन र सोच भएको समाजले एउटी महिला रजस्वाला हुँदा त्यस्तै व्यवहार गर्छन् । अझ पश्चिमतिर त छाउगोठमा बस्नुपर्ने कुप्रथा छ । प्राकृतिक रुपमा नै महिलाको शरीरमा आउने शारीरिक परिवर्तन हो रजश्वला । तर धर्म, सँस्कृति र परम्पराको नाउमा महिला माथि ठूलो विभेद भईरहेको छ ।

नियमित खानपिन र शारीरिक व्यायाम

साथीभाइको सल्लाहमा शरीरको रोग प्रतिधात्मक क्षमता बढाउन मैले हरेक प्रयास गरे । दैनिक समय तालिका बनाए । त्यसैअनुसार दैनिकी चलाएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा खानपिन र औषधी दिनहुँ सेवन गरे ।

यसअघि प्रायः ७–८ बजे उठने गर्थे । संक्रमित भएपछि ५ बजे उठेर नित्य कर्म गर्न थाले । कोठामा कुचो लगाउने, ओछ्यान मिलाउने लगायतका सरसफाई गर्ने बानी बसालें । बिहान ६ः०० बजे व्यायाम शुरु गरिहाल्थें । नुहाइसकेपछि कपडा धुन्थें । कोठामै सुकाउने व्यवस्था मिलाएको थिएँ । बेसार हालेर तताएको पानी एक गिलास खाएपछि मात्रै हल्का खाजा खान्थें ।

खाना खाइसकेपछि पात कोठामै जलाउँथे । हल्का आराम गरेर पढने र लेख्ने बानी बसाले । दिउँसोको खाजा खाई सकेपछि फेरि आराम गर्ने र राति खाना खाएर १०ः०० बजेसम्म सुतिहाल्थें ।

आफू संक्रमित भएपछि अन्य संक्रमित साथीभाइहरुसँग जोडने प्रयास गरें । एक अर्काको पीडा र भोगाइ साटासाट ग¥यौं । संक्रमित भए पनि युवाहरु हार मान्नुहुँदैन । कतिपय मानिस कोरोना संक्रमित भइसकेपछि छरछिमेक, साथीभाइ आफन्तले गर्ने दुव्र्यव्यवहारले मानसिकरुपमा तनावमा पर्छन् । कतिपय कोरोनाले मरिन्छ कि भन्ने डरले नै आधा गल्न पुग्छन् । संक्रमित भएपछि बुझियो, पहिला त्यस्ता डरलाई मन मस्तिस्कबाट हटाउनुपर्ने रहेछ ।

नोवेल कोरोना कोभिड–१९ ले सामाजिकस्तरमा निकै नराम्रो प्रभाव पारेको छ । व्यक्ति व्यक्तिबीचको दुरी अर्थात सामाजिक दुरी कायम राखेर नै संक्रमणको चेन ब्रेक हुन्छ । तर, टोल समाजमा कसैलाई संक्रमण भएको छ भन्ने हेला गर्ने छिछि दुरदुर समाजबाट निकाल्ने जस्ता क्रियाकलाप भइरहेको छ ।

संक्रमण फैलिएसँगै संकृति धर्म परम्परामाथि पनि ठूलो आघात पुगेको छ । चाडपर्वहरु परिवारहरुसँग मनाउन न पाउने स्थिति बनेको छ । मठ मन्दिर, चर्च, मस्जिद, गुम्बा आदि सबै बन्द भएका छन् । अर्थतन्त्रमा ठूलो गिरावट तथा मन्दी छाएको छ । उद्योग कलकारखाना लगभग बन्द जस्तै छन् । आयात निर्यातमा कमी आएको छ । सानो मुलुकको अर्थतन्त्र चौपट छ ।

संक्रमणमुक्त भइसकेपछि पनि १४ दिन परिवारबाट टाढै बस्न भनिएको छ । कोरोना महामारीका कारण समाजमा उत्पन्न नकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट चिर्नु आवश्यक छ । प्रहरी प्रशासन र वडा कार्यालयसँग सहकार्य गरी तमाम संक्रमितको घाउमा मल्हम लगाउने अभियानमा जुट्नेछु ।

(गुप्ता, अनेरास्ववियूका नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment