१५ भदौ, काठमाडौं । नेपालको पुरुष भलिबल टिमले सन् १९७६ मा पाकिस्तानमा भएको काइजे आजाम मोहम्मद अली प्रतियोगिताबाट अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गरेको थियो ।
त्यतिबेला देशभित्र पुरुषको तीनवटा राष्ट्रिय प्रतियोगिता भइरहेका थिए । नेपाली खेलाडीलाई प्रशिक्षण गराउन जापानी प्रशिक्षक नेपाल आएका थिए ।
पाकिस्तानमा खेलेको अर्को वर्ष नै नेपालले चीन र रसियाको भ्रमण गर्यो । त्यतिखेर नेपाल भलिबल संघको अध्यक्ष अनुपशमसेर राणा थिए भने उपाध्यक्ष शरदचन्द्र शाह थिए । शाह पछि राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवसमेत बने ।
नेपालले सन् १९७८ मा थाइल्याण्डमा भएको एसियन गेम्स खेल्नुअघि नै पाकिस्तान, रसिया र चीन गरी तीन देशको भ्रमण गरिसकेको थियो । पाकिस्तानमा पहिलो पटक ८ खेलाडीसहित १० जनाको टोली गएका थिए । सबै खेलाडीको लागि त्यो पहिलो विदेश भ्रमण थियो । नेपाल एकदम कम समयको तयारी गरेर पाकिस्तान गएको थियो ।
दोस्रो भ्रमणको रुपमा नेपाली टिम चीन गयो । यो आलेखमा नेपालको चीन भ्रमण, त्यहाँ जानुअघिको तयारी, त्यहाँसम्म जाँदाका रमाइलो क्षणलगायतका विषयमा चर्चा गरिनेछ ।
चिनियाँ फिजिकल कल्चरल एण्ड स्पोर्ट्स संगठनको निमन्त्रणामा १६ सदस्यीय नेपाली टोली जनवादी गणतन्त्र चीन गएको थियो । त्यतिबेलामा नेपाल भलिबल संघका उपाध्यक्ष शरदचन्द शाहले नै नेपाली टोलीको नेतृत्व गरेका थिए । दोस्रो विदेश भ्रमणमा नेपाली टोलीमा खेलाडी संख्या पनि बढेर १२ पुग्यो । टोलीको प्रशिक्षकमा प्रचण्डबहादुर सिंह थिए ।
त्यतिखेर नेपालमा जापानका प्रशिक्षक आएर खेलाडीलाई प्रशिक्षण गराउँथे । तर विदेश जाँदा भने नेपाली प्रशिक्षक नै हुन्थे ।
’मैले पनि जापानी प्रशिक्षकसँग सिकेको हुँ । नेपालमा त्यो बेला अर्को प्रशिक्षक नभएकोले म नै टिमसँग विदेश जान्थेँ’ पाकिस्तान, चीन, रसियाजस्ता देशमा प्रशिक्षक भएर गएका प्रचण्डबहादुर सिंहले अनलाइनखबरसँग भने ।
त्यो बेला विदेश जाँदा अनौठो नै लाग्ने उनले बताए । ‘हामी एक–दुई वटामाप्रशिक्षण गर्थ्यौं । चीनमा ५० बल ल्याएर दिन्थे । त्यसलाई कसरी सदुपयोग गरेर प्रशिक्षण गर्ने भन्ने नै थाहा हुन्थेन,’ उनले भने ।
तर त्यो बेला नेपाली टिममा धेरै फेरबदल भएको थियो । संघले हरिहर श्रेष्ठलाई कप्तान बनाएर पठाए पनि उता चीन पुगेपछि नेपालले रेशम गुरुङको कप्तानीमा सबै खेल खेलेको थियो । स्वयं रेशम गुरुङले आफ्नै कप्तानीमा खेलेको अनुभव सुनाए ।
‘यताबाट जाँदा हरिहरलाई नै कप्तान बनाउने कुरा थियो । तर कुमनिङ पुगेपछि मलाई कप्तान बनाइयो र मैले सबै खेलको कप्तानी गरेँ,’ रेशमले भने ।
चार दशकअघिको कुरा भएकोले त्यो बेला खेल्ने अधिकांश खेलाडीको अहिले उमेर ६ दशक पार गर्ने अवस्थामा छन् । त्यसैले पनि धेरै खेलाडीको लागि चीनमा भलिबल खेलेको धमिलो सम्झना मात्र छ । कति खेल खेलियो, त्यसको नतिजा र स्कोरहरु के थिए भन्नेसम्झन गाह्रो पर्छ । त्यसमा खेलेका केही खेलाडी भने अहिले विदेशमा छन् ।
पाकिस्तानमै खेलेका रेशम गुरुङ, कपिल किशोर श्रेष्ठ र महेन्द्र लाल श्रेष्ठले चीनमा निरन्तरता पाए । अरु नयाँ ९ खेलाडी टिममा परेका थिए । जसमा दीपक सापकोटा, राकेश श्रीवास्तव, मिलन गुरुङ, अकलबहादुर चन्द, हरिहर श्रेष्ठ, विजय खड्का, जयनारायण चौधरी, मानबहादुर कुँवर डम्बरबहादुर थिए ।
चीन जानुअघि बन्द प्रशिक्षण
पहिलोपटक पाकिस्तान जाँदा नेपालले काठमाडौंमा भएका अधिकांश खेलाडी जम्मा पारेर टिम बनाइएको थियो । तर चीन जानुअघि भने नेपालले विशेष प्रशिक्षण नै गरेको थियो । एक महिना भन्दा बढी प्रशिक्षण गरेको नेपालले २१ दिन बन्द प्रशिक्षण नै गरेको थियो ।
त्यतिबेलाको ऐतिहासिक एउटा पत्रअनुसार नेपाली टिमले चीन भ्रमणमा जानुअघि ३६ दिनको विशेष प्रशिक्षण गरेको थियो । यो निकै उपयोगी भएको थियो ।
धनगढीमा भएको चौथो राष्ट्रिय भलिबल प्रतियोगितापछि नेपाली टिमका लागि प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको थियो । त्यतिखेर रेशम गुरुङको कप्तानीमा रहेको भेरी अञ्चल प्रथम भएको थियो ।
‘धनगढीमा भएको राष्ट्रिय प्रतियोगिताबाट राम्रा खेलाडीहरुलाई छनोट गरेर क्लोज क्याम्प गरियो । बाहिरका खेलाडीले पनि अवसर पाए । चीन जाने दुई महिनाअघि नै थाहा भएपछि तयारी गर्न समय भएको थियो,’ रेशमले भने ।
खेलाडी छनोटको मापदण्ड रहेको र बन्द प्रशिक्षणसमेत भएकाले त्यतिखेर पहिलोपटक विदेश जाँदाभन्दा उत्कृष्ट खेलाडीहरु छनोट भएका थिए र नेपालले पनि पर्याप्त तयारी गर्न पाएको थियो ।
कोलकत्ता, बर्मा हुदै चीन
नेपाली टोली दोस्रोपटक विदेश जाँदा पनि भारत हुँदै जानुपर्यो । पहिलोपटक पाकिस्तान जाँदा नेपाली टिम भारतको अमृतसर हुँदै गएको थियो । चीन जाँदा पनि नेपाल शुरुमा भारतको कोलकत्ता पुग्यो । त्यहाँबाट बर्मा हुँदै नेपाल चीनको कुनमिङ पुगेको थियो ।
‘कलकत्ताबाट बर्मा हुँदै कुनमिङ पुग्यौँ । बर्मामा पनि हामीले लोकल टिमसँग मैत्रीपूर्ण खेल खेलेका थियौँ,’ रेशम सम्झन्छन् ।
त्यतिखेर चीनसम्म सीधा उडान नभएकोले नेपाली टिम भारत र बर्मा हुँदै चीन पुगेको थियो । बर्माबाट चीन जाँदा नेपाल चाइनिज एअरलाइन्समा गएको रेशमले बताए ।
९ खेल, ७ हार, २ जित
चीनमा कति खेल खेलियो भन्ने अभिलेख त भेटिएको छैन तर नेपालले केही खेल जितेको उतिबेलै लेखिएको थियो । चीन जाने टिममा रहेका सदस्य जयनारायण चौधरी र कपिल श्रेष्ठका अनुसार नेपालले चीन भ्रमणमा कूल ९ खेल खेलेको थियो ।
चार प्रान्तमा नेपालले २–२ खेल खेलेको हो । पेकिङमा एक खेल मात्र खेलेको थियो । कूल ९ खेल खेल्दा नेपालले ७ खेलमा हार बेहोर्यो भने २ खेल मात्र जित्यो । सियान र थाचुङ प्रान्तमा नेपालले १–१ खेल जितेको थियो ।
‘हामीले जितेको खेलमा प्रतिस्पर्धा भएको थियो,’ रेमशले भने, ‘हामीले खेल जित्दा शरदचन्द्र शाहलगायत अफिसियलहरुले एकदमै धेरै खुशीयाली मनाउनुभएको थियो ।’
प्रशिक्षण हेर्न चिनियाँ आए
नेपाली टोली सुरुमा कुनमिङमा खेलेपछि, सियान र थाइयान हुँदै ताचुङमा खेल्न पुगेको थियो । त्यहाँ टोली रेलमा गएको रेशमले बताए । अन्य प्रान्तभन्दा त्यहाँको माहोल निकै फरक रह्यो । ताचुङमा जाने पहिलो विदेशी टिम नै नेपाली रहेछ । त्यसैले त्यहाँ नेपाली खेलाडीको प्रशिक्षण हेर्नलाई मात्र पनि ठूलो भिड जम्मा भएको रेशमले बताए ।
‘ताचुङमा पहिला विदेशीहरु गएको गएका थिएनन् रे । चीन त्यतिखेर खासै खुल्ला पनि थिएन । जब हामी त्यहाँको इन्डोर भलिबल ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्न गयौँ, त्यहाँ टन्नै मानिसहरु जम्मा भए । हामीलाई आश्चर्य लाग्यो र चिनिया अफिसियललाई सोध्यौँ । हाम्रा जनता तपाईंहरुलाई हेर्न आएको भन्नुभयो । दर्शक भरिभराउ थिए । त्यो बेला माओत्सेतुङ पालाका ह्याट र ज्याकेट लगाएर दर्शक हेर्न आएका थिए’ उनले सम्झिए ।
कुनमिङमा तातोपानीले स्वागत
विदेशमा खेल्नु जाँदा छुट्टै उत्साह हुन्छ । त्यसमा पनि सुरु–सुरुमा खेल्न जान पाउनुको अर्कै महत्व छ । जुन इतिहासमा लेखिन्छ । बर्माबाट कुनमिङ पुगेपछि चिनियाँहरुले नेपाली टोलीलाई न्यानो स्वागत गरेका थिए ।
रेशम सम्झन्छन्, ‘कुनमिङ ओर्लिएपछि माला लगाएर नेपाली खेलाडीको स्वागत भयो । अनि सबै जनालाई त्यहाँ चिनियाँ चियाले स्वागत गरियो । हाम्रो अगाडि ठूलो ढकन भएको कप ल्याएर राखिदिएका थिए । शरद राजाहरुले उठाए । हामीले पनि खोलेर हेर्यौं । सेतो पानी मात्र रहेछ । हामी सबै एक–अर्कालाई पल्याक पुलुक हेर्यौँ । पछि थाहा भयो त्यो याम्चा नामको चिनियाँ चिया रहेछ । हामीलाई अनौठो लागेको थियो,’ रेशमले सम्झिए ।
फर्कने बेला नाचगान
नेपालले चीनमा सबै खेल खेलिसकेपछि पेकिङस्थित नेपाली राजदुताबासले नेपाली खेलाडीको लागि कार्यक्रम आयोजना गरेको थियो । जसमा टोलीसहित करिब २०० जना उपस्थित रहेको रेशमले बताए ।
‘डिनर भयो । त्यसपछि नाचगान गर्ने माहोल बन्यो । मादल ल्याइयो । मिलन गुरुङलाई खुब नाच्न पर्ने । शरद राजा पनि उठीबसी मज्जाले नाच्नुहुने रैछ । निकै रमाइलो भयो,’ रेशमले त्यो क्षण सम्झिए, ‘राजदूतले पनि तपाईंहरुले लोक संस्कृति देखाउनुभयो भनेर धन्यवाद दिनुभयो । एकदमै रमाइलो भएको थियो ।’
समग्रमा चीन भ्रमण एकदमै रमाइलो भएको रेशमले बताए । ‘हाम्रो लागि त्यो विशेष भ्रमण थियो, जिन्दगीमा बिर्सन नसकिने’ उनले भने ।
चीनबाट फर्केपछि शरद बने सदस्य सचिव
चीन भ्रमण जाँदा शरदचन्द्र शाह नेपाली टोलीको लिडर थिए । साथै उनी भलिबल संघको उपाध्यक्ष थिए । एक महिनाको चीन भ्रमण सकाएर नेपाल फर्केपछि उनी नेपाली खेलकुद हाँक्ने राखेपको सदस्य सचिव नै बने ।
शरद अक्सफोर्ड पढेर आएका जल्दाबल्दा युवा थिए । खेलकुदमा रुचि राख्थे । खेलाडीलाई धेरै माया गर्ने स्वभाव थियो ।
भलिबल संघका अध्यक्ष अनुप शमसेर राणा पनि उस्तै खेललाई माया गर्थे । नेपाल फर्केपछि शरदचन्द शाह राखेपको सदस्य सचिव नै बने । विष्णुगोपाल श्रेष्ठ कोषाध्यक्ष बने । कमल थापा, द्वारिका श्रेष्ठलगायत सदस्य बने ।
प्रतिक्रिया 4