Comments Add Comment

अफ्रिकामा कोरोना संक्रमण कम हुनु रहस्यमय !

१९ भदौ, काठमाडौं । गरिबी, बाक्लो बसोबास र कमजोर स्वास्थ्य प्रणाली भएको अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्य क्षेत्रमा भन्दा बढी फैलिने अनुमान थियो ।

ब्राजिल तथा अरु दक्षिण अमेरिकी मुलुकमा फैलिएको कोरोना संक्रमणले गरिबी र बाक्लो बसोबास भएको मुलुकमा कोरोना भाइरसको संक्रमण बढी देखिने पुष्टि गरिसकेको थियो ।

अत्याधिक भिडभाडयुक्त बस्ती, सरसफाइको कमी मात्र नभई एउटै कोठामा धेरै मानिस बस्ने भएकाले भौतिक दुरी असम्भव हुनेजस्ता समस्या अफ्रिकामा सामान्य हो ।

त्यसैले विगत केही समयदेखि नै स्वास्थ्य विशेषज्ञहरुले अफ्रिकाको गरिबी भेग र सहरी समुदायमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने चेतावनी दिँदै आएका थिए । ‘त्यहाँको जनघनत्व सबैभन्दा महत्वपूर्ण पक्ष हो । र, भौतिक दुरी कायम गर्नसक्ने अवस्था छैन भने संक्रमण फैलिन्छ’, दक्षिण अफ्रिकाको कोभिड–१९ बारे परामर्शदाता टोलीका प्रमुख सलिम अब्दूल करिम बताउँछन् ।

तर, अहिले विश्वका अन्य स्थानको तुलनामा अफ्रिका कोरोना महामारीबाट कम प्रभावित देखिएको छ ।

अफ्रिकामा पछिल्लो एक सातामा दैनिक नयाँ संक्रमितको संख्या औसतमा ३० हजार भन्दा कम छ । दैनिक संक्रमितको संख्या पनि अगष्टमा उच्च विन्दुमा पुगेसँगै अहिले घट्दो क्रममा छ । जबकी मध्यपूर्वबाहेक अन्य क्षेत्रमा पछिल्लो एक सातामा दैनिक नयाँ संक्रमितको संख्या ३० हजारभन्दा बढी छ ।

अफ्रिकामा अहिलेसम्म १२ लाख ७५ हजारभन्दा धेरै व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । उनीहरुमध्ये ३० हजार ६१७ जनाको मृत्यु भएको छ भने १० लाख १४ हजार कोरोनामुक्त भएका छन् । यसमध्ये आधा संक्रमित र मृतक दक्षिण अफ्रिकामा मात्र छन् ।

त्यसो भए भिडभाडयुक्त बसोबासमा कोरोना संक्रमण कसरी नियन्त्रित रह्यो ? मृत्युदर कसरी कम रह्यो ? यो खोजीको विषय बनेको छ ।

‘यो रहस्य हो’

कोरोना भाइरसको महामारीको सुरुवातमा सबै विशेषज्ञहरुले महामारीको सबैभन्दा बढी जोखिम अफ्रिकालाई रहेको बताएका थिए । दक्षिण अफ्रिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ सबिर माधी भन्छन्, ‘मलाई लाग्थ्यो कि हामीहरु ठूलो संकटमा गइरहेको छौँ ।’

त्यतिबेलाको सबैभन्दा आशावादी आकलन नै अफ्रिकाको राष्ट्रिय अस्पताल र महादेशको सबैभन्दा विकसित स्वास्थ्य प्रणाली नै छिटै बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्छन् भन्ने थियो ।

यद्यपि अहिलेसम्मको अवस्थामा दक्षिण अफ्रिकामा देखिएको संक्रमणको पहिलो लहरमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बेलायतको तुलनामा सात गुणा कम देखिएको छ ।

दक्षिण अफ्रिकाको आधिकारिक तथ्यांकमा सबै संक्रमित र मृतक समावेश छैनन् भनेर मान्ने हो भने पनि यहाँको अवस्था अन्य स्थानको तुलनामा राम्रो छ । अफ्रिकाका धेरैजसो भागमा अस्पतालका बेडहरु खाली नै छन् । साथै यी क्षेत्रमा यसअघि आकलन गरिएअनुसार कोरोना भाइरसको संक्रमण फैलिएको छैन भने विश्वका अन्य क्षेत्रको तुलनामा यहाँको कोरोना भाइरसको संक्रमण दर पनि निकै कम छ ।

‘अधिकांश अफ्रिकी मुलुकमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छैन । किन भन्ने मैले बुझ्न सकेको छैन’, प्राध्यापक डा. करिम भन्छन् । उनको यो भनाइमा माधी पनि सहमत छन्, ‘यो एक रहस्य हो । यो पूर्णरुपमा अविश्वसनीय छ ।’

विशेषज्ञहरुले अफ्रिकामा संक्रमणदर निकै कम हुनुको कारण युवा जनसंख्या बढी भएकाले हुन सक्ने बताएका छन् । अफ्रिकाको जनसंख्याको औसत उमेर युरोपको भन्दा झण्डै आधा छ । अफ्रिकामा ८० वर्षभन्दा बढी उमेरका मानिसको संख्या निकै कम छ । त्यसैले पनि कोरोना भाइरसको असर कम देखिएको हुनसक्छ ।

टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जका क्षेत्रीय निर्देशक टिम ब्रुमफिल्ड भन्छन्, ‘उमेर सबैभन्दा जोखिम हुने महत्वपूर्ण पक्ष हो । युवा जनसंख्याले अफ्रिकालाई बचाइरहेको छ ।’

यद्यपि जसरी महामारी बढ्दै गएको छ र संक्रमितको संख्या थपिँदै गएका छन्, यी सबैलाई विश्लेषण गर्दा यो महादेशले कोरोना भाइरसविरुद्ध पाएको सफलतामा जनसंख्यालाई मात्र कारण मान्न नहुने जानकारहरु बताउँछन् । ‘उमेर त्यति ठूलो कारक पनि होइन’, प्राध्यापक करिम भन्छन् ।

सुरुवातमा दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकमा लगाइएको कडा लकडाउनले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्यो । साथै मास्क र अक्सिजनको व्यवस्था गर्नुपर्ने स्पष्ट सन्देशले पनि यसमा सहयोग गर्‍यो ।

साथै अफ्रिकालाई उचाइ र न्यानो तापक्रमको पनि फाइदा पुगेको केहीले बताएका छन् । केही विशेषज्ञहरुले भने अझै अफ्रिकामा कोरोना भाइरसको संक्रमण फैलिन बाँकी रहेको बताएका छन् ।

अन्य कारण

हालै मात्र दक्षिण अफ्रिकाको एक प्रयोगशालामा चेस्ट फ्रिजरमा गरिएको परीक्षणको क्रममा अफ्रिकाका मानिसहरुले यसअघि लिएको अन्य खोपहरुबाट विकास भएको रोग प्रतिरोधी क्षमताले कोरोना भाइरसविरुद्ध लड्न पनि सहयोग गरेको हुन सक्ने पाइएको छ ।

यसअघि इन्फ्लुएन्जाजस्ता भाइरसविरुद्धको खोपले मानिसहरुमा रुघाखोकीलगायतका समस्यासँग जुध्न प्रतिरोधी क्षमता विकास भइसकेको कारण कोरोना भाइरसको लक्षण पनि केही मात्रामा मिल्दोजुल्दो भएकाले केही हदसम्म कोभिड–१९ विरुद्धको प्रतिरोधी क्षमता पनि उनीहरुमा विकास भएको हुन सक्ने वैज्ञानिकहरुको तर्क छ ।

यस्तै सिद्धान्त भारतजस्ता विश्वका अन्य क्षेत्रहरुमा पनि लागू हुन्छ । जहाँ अफ्रिकाकै जस्तो समस्या छ । प्रतिरोधी क्षमता केही हदसम्म विकास भएको कारण यहाँ भेटिएका संक्रमितहरुमध्ये पनि अधिकांशमा सामान्य लक्षण वा कुनै लक्षण नै नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment