Comments Add Comment

दुई किताब : देवकोटाको जीवनशैली, सिकाइ र सहयोग

देवकोटाको जीवनशैली

पछिल्लो एक महिनामा पढेका थुप्रै किताबमध्ये दुईवटा किताबले मलाई विशेष प्रभावित गराए । पहिलो किताब नरेन्द्र प्रसाईंद्वारा लक्ष्मीप्रसाद देवकोटाबारे लेखिएको छ । मैले लक्ष्मीप्रसादबारे जति जानेको छु, त्योभन्दा उनको जीवनमा धेरै थाहा नपाइएका पाटाहरू रहेछन् ।

यो किताब पढ्दा देवकोटा ‘गरीब’ थिएनन् तर विभिन्न कारणले गरीब हुन पुगेछन् भन्ने थाहा पाएँ । अत्यन्त मेधावी लक्ष्मीप्रसादको ‘मेधावी’पनबाट विभिन्न देशका विद्वानहरू प्रभावित थिए भन्ने कुरा त थाहा थियो । यद्यपि, यो किताबले कुन देशमा, कसरी उनको विद्वताको प्रशंसा भयो भन्ने पढ्दा यस्तो विद्वान मान्छेलाई हामीले चिन्न सकेनौं भन्ने लागिरहृयो ।

भारतका प्रसिद्ध लेखक मुन्सी प्रेमचन्द्रले पनि मेधावी भइकन दरिद्र जीवन बिताउनुपरेको ‘कथा’ पढ्थ्यौं हामी । नेपालमा लक्ष्मीप्रसादले पनि विभिन्न कारणले कहिलेकाहीँ खान नै नभएको अवस्थामा भोग्नुपरेको कथा पढ्दा मनमा लाग्यो, ‘मेधावी’हरूको नियती नै यही हो कि !

लक्ष्मीप्रसाद अति मेधावी भएर पनि परिस्थतिले उनलाई बनारस भाग्नेसमेत बनाएको कुरा पढ्दा हुरुक्क मन भयो । नेपालबाट भारतमा कांग्रेससँग काम गर्न उनलाई लगियो । त्यहाँ उनले ‘युगवाणी’ निकाल्न अति मेहनत गरे । तर, उनको मेहनतलाई त्यहाँका नेपाली कांग्रेसका साथीहरूले वास्ता नगरेको र खानसमेत पैसा नभएको देखिन्छ । कृष्णप्रसाद भट्टराईजस्ता सन्त व्यक्तिले उनलाई वास्ता गरेनन् भन्ने पढ्दा, के साँच्चीकै यस्तो भयो होला र भन्ने मनमा प्रश्न आइहाल्यो । धेरै मेहनत गरेको, धेरै चुरोट खाएको र राम्ररी खान नपाउँदा देवकोटा बिरामी परेको कुरा थाहा भयो ।

देवकोटाको बनारस अवस्थाबारे उनको भाञ्जा केशवचन्द्र गौतमले भनेका रहेछन्, ‘मेरो साहिँला मामाले दूधविनायकको पेटीमा मैलौ कछाड लगाएर बसेको दृश्य कहिले भुल्न सक्दिन । उहाँ त्यस समयमा बाटोमा हिँड्ने चिनेजानेकासँग एउटा बिँडी दिनुहोस् न हजुर भन्दै माग्नुहुन्थ्यो (पृष्ठ २९०) ।

यसरी एक प्रमुख राजनीतिक दलका नेताले देवकोटाको अपमान गरे । विद्वान् लक्ष्मीप्रसादको घरको आर्थिक व्यवस्थाचाहिँ त्यति राम्रो रहेनछ भन्ने पनि बुझिन्छ । श्रीमति धार्मिक भएर एक गुरुका पछि लागेर घरको पैसा गुरुलाई चढाउँदा, घरको वास्ता नगर्दा बिस्तारै घरचाहिँ ‘पाटी’जस्तै बन्न गएको देखिन्छ । श्रीमतिले धार्मिक गुरुलाई पैसा दिन थालेपछि घर अस्तव्यस्त भएको पढ्दा कसरी यस्तो हुनगयो भने अचम्म लाग्छ । छोरा बिरामी हुँदा उपचार गर्न नपाएको दुःख, धेरै पढेर पनि जागिर नपाउँदाको दुःख, ट्युसन पढाउँदै १६-१८ घण्टा काम गरेर परिवार चलाएको दुःख हुँदा पनि लक्ष्मीप्रसादले कसरी त्यति धेरै रचना गर्न सके अचम्म लाग्छ !

यसरी हेर्दा उनी मानसिक तनावबाट पीडित भएर सायद ‘डिप्रेसन’को रोगी भए होलान् । देवकोटालाई मानसिक तनावले घेर्न थालेपछि उनी चिच्याउने, कराउने गर्दथे । उनको मानसिक स्थिति निकै बिगि्रएपछि सुरविहीन भएर हिँड्न थाले । चूडामणि बन्धुले लेखेका छन्, ‘घरका मान्छेले उनलाई बौलाहा भनेको र त्यस्तै व्यवहार गरेको महाकविले धेरै पटक अनुभव गरेका थिए (पृष्ठ २५४) ।

श्यामदास वैष्णवका अनुसार त्यतिबेला (अर्थात होश नभएको बेला) देवकोटाको मुख पनि कालोनीलो देखिन्थ्यो । अनि थु-थु गर्दै ‘यो समस्त ब्रम्हाण्डलाई नै क्वारामक्वाराम चपाउँजस्तो लाग्छ’ भन्नुहुन्थ्यो (२५५) । देवकोटा ‘पागल’ भए भनेर उनलाई भारतको राँची पुर्‍याइयो ।

सन् १९५५ मा १ सय ५५ दिन राँची नर्सिङ होममा देवकोटाको उपचार भयो । मानसिक रोग विशेषज्ञ डा. वर्कले देवकोटालाई सम्मान गरेर भनेका थिए- ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी त्यहाँ जन्मेर नै पागलको गन्तीमा आए । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो (२५९) ।

देवकोटालाई मानसिक समस्या थियो भन्ने कुरा बुझिन्छ तर अपशोच त्यो बेलामा उपचार गर्न अहिलेजस्तो राम्रो औषधिमूलो थिएन । यो नेपालीहरूको दुर्भाग्यजस्तो लाग्छ मलाई । देवकोटाको बारेमा, उनको व्यक्तिगत जीवन, पारिवारिक जीवन, उनलाई ठूला भनेका व्यक्तिहरूले गरेको अपमान, उनको अन्तिम अवस्थामा क्यान्सरले गर्दा भएको पीडाबारे बुझ्न यो किताबले धेरै मद्दत गर्न सक्छ ।

उनी १४ भाषा बुझ्थे भने कविता लेख्न र सुनाउन जहिले पनि तयार रहने बानीबारे कीर्तिनीधि विष्टले भनेका रहेछन्, ‘उहाँ एक व्यक्तिलाई कविता सुनाउँदा पनि एक विशाल जनसमूह भनिठानेर उत्सुकतापूर्वक र जोशिलो पारामा सुनाउने गर्नुहुन्थ्यो (पृष्ठ २८१) ।

देवकोटाका कृतिको बारेमा पनि यस किताबमा चर्चा गरिएको छ । थुप्रै सन्दर्भस्रोतहरू प्रयोग गरेर लेखिएको यो किताबले एक महान् कवि, एक असल व्यक्ति तर देशले चिन्न नसकेको व्यक्तित्वबारे धेरै कुरा थाहा हुन्छ । यो किताब पढेपछि देवकोटाका कविता फेरि पढ्ने जमर्को गर्दैछु म ।

सिकाइ र सहयोग

उच्च पदमा पुगिसकेपछि प्रायः मानिसले सानातिना, अरुले ‘झिनामसिना’भन्ने कुरा गर्न रुचाउँदैनन् । त्यस्ता सानातिना कुराबारे आफ्नो अनुभव लेख्न त आँट नै गर्दैनन् । तर सचिव पदमा पुगेर खगराज बरालले आफू काम गर्दा देश विदेशका अनुभव संगालेर लेखेको ‘सिकाइ र सहयोग’ किताब मलाई निकै रोचक लाग्यो । यो किताब पढेपछि मैले लेखकलाई लेखें-

‘राम्रो किताबका लागि धन्यवाद । जीवनउपयोगी सीप सिक्ने र सिकाउने यो एक राम्रो प्रतीक हो । प्रत्येक स्कूलको पुस्तकालयमा यो किताब हुनुपर्छ । विद्यार्थीले पढेर यसबाट धेरै कुरा सिक्न सक्छन् । सामाजिक शिक्षा पढाउने शिक्षकका लागि यो एक गतिलो स्रोत-पुस्तक बन्न सक्छ ।’

किताबको सुुरुमा नै लेखकले जीवनमा सिक्ने काम भइरहन्छ भन्ने जनाउ दिइरहन्छन् । नेपालमा प्रायः सरकारी कर्मचारी एकचोटी जागिर खान थालेपछि पढ्ने-पढाउने, सिक्ने-सिकाउने कुरा त अब सिद्धिहाल्यो भनेर आफ्नो ज्ञान अगाडि बढाउँदैनन् । तर, बराल सरचाहिँ हरेक क्षणमा सिकिरहन्छन् । उनले सुरुमै ‘बालअधिकार’ भनेर चिप्लो घस्ने तर व्यवहारिक काम नगर्नेहरूलाई घोच्छन् ।

लेखकले आफ्नो कार्यकालको दौरान विभिन्न देशमा गरेका यात्रा-अनुभव र सिकाइ पनि लेखेका छन् । विदेश घुम्दाको अनुभवमा नेपाल र ती ठाउँको तुलना गर्दै, नेपालले ती देशबाट के सिक्न सक्छ भनेर प्रष्ट लेखिएको छ । यो सिकाइमा कुनै ठूलो ‘वैज्ञानिक’ सिकाइ होइनन्, केवल हाम्रो दैनिक जीवनलाई सहज बनाउने, सामान्यजस्ता लाग्ने तर निकै महत्त्वपूर्ण कुरा समेटिएका छन् ।

नेपालीहरूलाई कसरी ‘परामर्श दाता’ले हेप्छन् र किन हेप्छन् अनि किन विदेशीले सरकारी कर्मचारीको ज्ञानलाई बेवास्ता गर्छन् भनेर बरालले लेखेका छन्- ‘सरकारी मानिसहरू यथार्थ कुरा नभनी परिस्थितिअनुसार मिलाएर बोलिदिन्छन् भन्ने छ । त्यसैले तपाईंले उल्था गर्दा यहाँको वास्तविक कुरा झल्किँदैन भनी तपाईंलाई नबोल्न भनेको रहेछ । बरू मै उल्था गरिदिउँला ।’ यो सुनेर लेखकले दुखेसो पोख्छन् नेपाली कर्मचारीप्रति दातृ निकाय र अन्तरराष्ट्रिय परामर्शदाता नामक लेखमा ।

यात्रामा जाँदा साना-साना कुराहरू पनि विचार गर्ने लेखकका बानीले यात्रा गर्दा सहज बनाएको कुरा रमाइलो तरिकाले वर्णन गरेका छन् । तर यसको साथै लोग्ने मानिसले लुगा सिउन जान्दैनन्, काम गर्दैनन्, उनीहरूको लुगा च्यातिए घरका महिलाले नै सिलाइदिनुपर्छ भन्ने कुरालाई पनि उनले व्यंग्य गरेका छन् । एकचोटि यात्रा गर्दाको उनीसँगै घुमेको एक विदेशीको लुगा च्यातिएछ । ‘धागो र सियो’ यात्रामा जाँदा लिएर हिँड्ने लेखकले सिलाइदिएपछि विदेशी साथी छक्क परेछन् ।

त्यसैगरी सामाजिक जीवनमा झारा टार्न धेरै मानिसलाई खान बोलाउने र खाना नपुगेपछि अतिथिहरू अपमान भोग्नुपर्ने कुराको बारेमा लामो वर्णन गरेका छन् । यो पढेपछि व्यर्थको धाक लगाउने हाम्रो सामाजिक प्रवृत्ति प्रष्ट देखिन्छ । ‘खानपान र हाम्रो चलन’ लेखमा उनले हाम्रा परम्परागत ज्ञानले स्वास्थ्य कसरी राम्रो हुँदोरहेछ भन्ने बुझाएका छन् ।

अहिले कोरोना महामारी भएको बेलामा यसको झन् बढी महत्त्व छ भन्ने लाग्यो मलाई (पृष्ठ ८५) । बासीभात खाँदा तताएर खान दिने चलन राम्रो रहेछ भनेर लेखेका छन् बरालले । अहिले कतिजनाले ‘बासीभात’ खान हुँदैन भनेर फ्यालिदिने गर्छन्, तर बासीभातमा पानी राखेर १२ घण्टा छोपेर खाएपछि त्यसमा भिटामीन बी-१२ को उपस्थिति हुन्छ भनेर मैले त धेरैलाई सल्लाह दिन्छु ।

‘हाम्रा चाडपर्व’अनुसारको खाना परम्परा लेखमा विदेशको होटेलमा खाँदा बढी भयो भने घर लैजाने चलन इजिप्ट जाँदा उनले देखेछन् । यस लेखमा उनले इजिप्टका मानिसहरूले बढी खाने बारेमा पनि लेखेका छन् । इजिप्ट र विदेशका कुरालाई लिएर एउटा भिन्दै लेख बनाउन सकिन्थ्यो । दुईवटा लेख एउटैमा गाभ्दा ‘नेपाली भोजन र परम्पराको’ कुरा कतै ओझेलमा पर्‍यो कि ?

यो किताबको भाषा सरल छ । आफ्ना अनुभवहरू टिपोट गरेर राखेपछि कतिकाम लाग्छ भनेर पनि उनले देखाएका छन् । यो किताबले जीवनका व्यवहारिक पक्ष र समाजिक जीवनबारे पनि धेरै सिकाउँछ । एउटा असल शिक्षकले समाजलाई दिएको योगदान हो यो किताब ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment